सीधै सामग्रीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरी र स्मार्टफोन—भाग १: के मेरो छोराछोरीलाई स्मार्टफोन चाहिन्छ?

छोराछोरी र स्मार्टफोन—भाग १: के मेरो छोराछोरीलाई स्मार्टफोन चाहिन्छ?

 धेरै केटाकेटीसँग स्मार्टफोन a छ र तिनीहरूमध्ये धेरैले आफ्नो कोठामा एक्लै हुँदा इन्टरनेट चलाउनको लागि त्यसको प्रयोग गर्छन्‌। तपाईँको छोराछोरीलाई स्मार्टफोन दिनुका कस्ता खतराहरू छन्‌? कस्ता फाइदाहरू छन्‌? तपाईँ आफ्नो छोराछोरीलाई हरेक दिन कति समय स्मार्टफोन चलाउन दिन सक्नुहुन्छ?

 तपाईँले के बुझ्नुपर्छ?

 फाइदाहरू

  •   छोराछोरीको लागि सुरक्षा, आमाबुबाको लागि मनोशान्ति। दुई किशोरकिशोरीकी आमा बेथनी यसो भन्छिन्‌, “हामी डरलाग्दो संसारमा बाँचिरहेका छौँ। त्यसैले छोराछोरीले आफ्ना आमाबुबालाई आफू कहाँ छु भनेर थाह दिनु महत्त्वपूर्ण छ।”

     क्याथरिन नाम गरेकी एक आमा पनि यस कुरामा सहमत छिन्‌। तिनी यसो भन्छिन्‌, “कुनै-कुनै एपको मदतले तपाईँ आफ्नो छोराछोरी कहाँ छन्‌ भनेर पत्ता लगाउन सक्नुहुन्छ।”

  •   होमवर्कको लागि मदतकारी। मेरी नाम गरेकी एक आमा यसो भन्छिन्‌, “छोराछोरीले इमेल वा मेसेजबाटै होमवर्क पाउँछन्‌ अनि त्यसबाटै शिक्षकहरूसँग कुराकानी गर्छन्‌।”

 खतराहरू

  •   समयको बरबादी। युवाहरू प्रायः फोनमा घण्टौँ बिताउने गर्छन्‌। साँच्चै भन्‍ने हो भने आमाबुबाहरूले आफ्नो छोराछोरीसित कुराकानी गर्न जति समय बिताउँछन्‌, त्यति नै समय तिनीहरू आफ्नो डिभाइस चलाउन खर्च गर्ने गर्छन्‌। एक जना सल्लाहकारले बताएअनुसार कुनै-कुनै परिवार “आ-आफ्नो फोनमा झुण्डिरहेका अपरिचित व्यक्‍तिहरूको जमघट”-जस्तै भएको छ। b

  •   अश्‍लील सामग्री। एउटा सर्वेक्षणअनुसार हरेक महिना आधाभन्दा बढी किशोरकिशोरी अश्‍लील सामग्री हेर्ने गर्छन्‌। यो अचम्मलाग्दो कुरा होइन। किनभने स्मार्टफोनजस्ता इलेक्ट्रोनिक डिभाइस चलाएर अश्‍लील सामग्री सजिलै हेर्न सकिन्छ। दुई किशोरकिशोरीको बुबा विलियम यसो भन्छन्‌, “छोराछोरीलाई स्मार्टफोन चलाउन दिँदा आमाबुबाहरूले एक अर्थमा तिनीहरूको लागि अश्‍लील सामग्रीहरूको पसल खोल्दिरहेका हुन्छन्‌ र छोराछोरीहरू जहाँ-जहाँ जान्छन्‌, त्यो पसल पनि त्यहीँ-त्यहीँ जान्छ।”

  •   स्मार्टफोनको लत। धेरै मानिसहरूलाई आफ्नो फोनविना जीवन बिताउन गाह्रो लाग्छ। फोन हराउँदा तिनीहरू आत्तिन्छन्‌, निराश हुन्छन्‌ र कोही-कोही त बिरामी पनि हुन्छन्‌। छोराछोरीले आफ्नो डिभाइस चलाइरहेको बेला केही भन्यो भने तिनीहरूले रुखो व्यवहार गर्ने गरेको कुरा केही आमाबुबाहरूले याद गरेका छन्‌। कार्मेन यसो भन्छिन्‌, “कहिलेकाहीँ म आफ्नो छोरासँग कुरा गर्न खोज्दा उसले मलाई घुरेर हेर्छ वा झर्केर बोल्छ। किनभने फोन चलाइरहेको बेला कसैले डिस्टर्ब गरेको उसलाई मन पर्दैन।”

  •   थप खतराहरू। स्मार्टफोन चलाउनेहरू साइबरबुलिङ्‌ cसेक्सटिङको d शिकार हुन सक्ने खतरा हुन्छ। एउटै ठाउँमा बसेर घण्टौँ फोन चलाउँदा र पर्याप्त निद्रा नपुग्दा विभिन्‍न स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन्‌। केही युवाहरू आफूले हेर्ने कुरा आमाबुबाबाट लुकाउन “घोस्ट एप” चलाउने गर्छन्‌, जुन एप बाहिरबाट हेर्दा एउटा साधारण क्याल्कुलेटरजस्तो मात्र देखिन्छ।

     एक किशोरीका बुबा दानियल यसो भन्छन्‌, “स्मार्टफोनले इन्टरनेटमा भएका राम्रा अनि नराम्रा सबै कुराको लागि ढोका खोलिदिने काम गर्छ।”

 तपाईँले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

  •   ‘के मेरो छोराछोरीलाई स्मार्टफोन चाहिन्छ?’

     बाइबल भन्छ: “चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।” (हितोपदेश १४:१५) यो कुरा मनमा राख्दै आफैलाई सोध्नुहोस्‌:

     ‘सुरक्षा वा अन्य कारणहरूले गर्दा मेरो छोराछोरीलाई स्मार्टफोन चलाउन दिनु ठीक होला? यसका फाइदा र खतरा दुवैबारे के मैले राम्रोसँग विचार गरेको छु। स्मार्टफोनको अर्को कुनै विकल्प छ कि?’

     टड नाम गरेका एक बुबा यसो भन्छन्‌, “साधारण फोनहरू बजारमा अझै पाइन्छन्‌। त्यस्ता फोनहरूमार्फत पनि तपाईँ आफ्नो छोराछोरीसित सम्पर्कमा रहिरहन सक्नुहुन्छ। त्यस्ता फोनहरू सस्तो पनि हुन्छ।”

  •   ‘के मेरो छोराछोरी जिम्मेवारीको लागि तयार छन्‌?’

     बाइबल भन्छ: “बुद्धिमान्‌ मानिसको हृदयले उसलाई सही बाटोमा डोऱ्‍याउँछ।” (उपदेशक १०:२) यो कुरा मनमा राख्दै आफैलाई सोध्नुहोस्‌:

     ‘मेरो छोराछोरी भरोसायोग्य छ भनेर म किन विश्‍वस्त छु? के हामीबीच खुलस्त कुराकानी हुन्छ? के मेरो छोराछोरीले आफ्ना साथीहरूको बारेमा मलाई सबै कुरा बताउँछ? के उसले टिभी, ट्याबलेट वा ल्यापटप ठिक्क मात्रामा चलाउने गरेको छ?’ सेरेना नाम गरेकी आमा यसो भन्छिन्‌, “स्मार्टफोन निकै उपयोगी साधन हो तर यो निकै खतरनाक पनि हुन सक्छ। यति कलिलो उमेरमा तपाईँ आफ्नो छोराछोरीलाई कति ठूलो जिम्मेवारी दिँदै हुनुहुन्छ, त्यसबारे सोच्नुहोस्‌ त!”

  •   ‘के जिम्मेवारीको लागि तयार छु?’

     बाइबल भन्छ: “बालकलाई सही बाटोमा लगाऊ।” (हितोपदेश २२:६) यो कुरा मनमा राख्दै आफैलाई सोध्नुहोस्‌:

     ‘मेरो छोराछोरीलाई फोनबाट हुन सक्ने खतराबारे बुझ्न र त्यसबाट जोगिन मदत दिनको लागि के मसँग फोनबारे राम्रो ज्ञान छ? छोराछोरीको सुरक्षाको लागि बनाइएका एपहरू कसरी चलाउने भन्‍नेबारे के मलाई राम्ररी थाह छ? उनीहरूलाई सही तरिकामा स्मार्टफोन चलाउन म कसरी मदत गर्न सक्छु?’ माथि उल्लेख गरिएको दानियल नाम गरेका एक बुबा यसो भन्छन्‌, “धेरै आमाबुबाहरू आफ्ना छोराछोरीलाई स्मार्टफोन दिन्छन्‌ तर तिनीहरूले त्यो कसरी चलाउँदै छन्‌, त्यसको वास्तै गर्दैनन्‌।”

 निष्कर्ष: स्मार्टफोन उचित तरिकामा चलाउन छोराछोरीलाई तालिम चाहिन्छ। “हाम्रा छोराछोरीले इलेक्ट्रोनिक साधन अचाक्ली चलाउने प्रलोभनको प्रतिरोध गर्न सक्छन्‌ भनेर हामी आशा गर्न सक्दैनौँ, विशेषगरि आमाबुबा अगाडि नभएको बेलामा।” e

a यस लेखमा “स्मार्टफोन”-ले इन्टरनेट चलाउन मिल्ने फोनलाई बुझाउँछ।

b थोमस कर्स्टिङद्वारा लिखित डिस्कनेक्टेड भन्‍ने किताबबाट लिइएको।

c साइबरबुलिङ्‌ भनेको इन्टरनेटको माध्यमद्वारा फोटो, भिडियो वा मेसेज पठाएर कसैलाई डर-धम्की देखाउनु हो।

d सेक्सटिङ भनेको मोबाइलमार्फत अश्‍लील सन्देश, फोटो अथवा भिडियो पठाउनु हो।

e इन्डिस्ट्रयाक्टेबल भन्‍ने किताबबाट लिइएको।