सीधै सामग्रीमा जाने

के मैले सन्तहरूलाई प्रार्थना गर्नुपर्छ?

के मैले सन्तहरूलाई प्रार्थना गर्नुपर्छ?

बाइबलको जवाफ

 अहँ, पर्दैन। हामीले येसुको नाममा परमेश्‍वरलाई मात्रै प्रार्थना गर्नुपर्छ भनेर बाइबलमा बताइएको छ। येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्‌।’” (मत्ति ६:९, नयाँ संशोधित संस्करण, NRV) उहाँले आफ्ना चेलाहरूलाई परमेश्‍वरलाई बाहेक अरू कसैलाई प्रार्थना गर्न कहिल्यै आज्ञा दिनुभएन, चाहे तिनीहरू सन्त वा स्वर्गदूत नै किन नहोऊन्‌।

 येसुले आफ्ना अनुयायीहरूलाई यसो पनि भन्‍नुभयो: “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।” (युहन्‍ना १४:६, NRV) परमेश्‍वरले येसुलाई मात्र हाम्रो निम्ति बिन्ती गर्ने अधिकार दिनुभएको छ।—हिब्रू ७:२५.

के मैले परमेश्‍वरलाई अनि सन्तहरूलाई पनि प्रार्थना गर्नु हुँदैन र?

 परमेश्‍वरले दिनुभएको १० आज्ञामध्ये एउटा आज्ञा यो थियो: “म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ।” (प्रस्थान २०:५, NRV) परमेश्‍वर कुन अर्थमा “डाह गर्ने परमेश्‍वर” हुनुहुन्छ? नयाँ संसार अनुवाद-मा यो अभिव्यक्‍तिलाई “मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ” भनेर अनुवाद गरिएको छ। परमेश्‍वर आफ्नो मात्र उपासना गरिएको चाहनुहुन्छ, जसमा प्रार्थना पनि पर्छ।—यसैया ४८:११.

 सन्तहरूलाई होस्‌ वा पवित्र स्वर्गदूतहरूलाई, हामीले परमेश्‍वरलाई बाहेक अरूलाई प्रार्थना गऱ्‍यौँ भने उहाँको अनादर गरिरहेका हुन्छौँ। प्रेषित युहन्‍नाले एक जना स्वर्गदूतको उपासना गर्न खोज्दा ती स्वर्गदूतले तिनलाई यसो भनेर रोके: “तिमीले मलाई यसो गर्नु हुँदैन। म येशूको गवाही कायम राख्ने तिम्रा भाइहरूको र तिम्रो सङ्‌गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्डवत्‌ गर!”—प्रकाश १९:१०, NRV.