सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू किन जन्मदिन मनाउँदैनन्‌?

यहोवाका साक्षीहरू किन जन्मदिन मनाउँदैनन्‌?

 यहोवाका साक्षीहरू जन्मदिन मनाउँदैनन्‌ किनकि यस्ता प्रचलनहरूले परमेश्‍वरलाई खुसी बनाउँदैन। बाइबलमा जन्मदिन मनाउनै हुँदैन भनेर तोकेरै लेखिएको छैन। तर नमाउनुको कारण र त्यसबारे परमेश्‍वरको दृष्टिकोण बुझ्न भने बाइबलले मदत गर्छ। यहोवाका साक्षीहरूले जन्मदिन नमनाउनुको चारवटा कारण र यससित सम्बन्धित बाइबलका सिद्धान्तहरू विचार गरौं।

  1.  १. जन्मोत्सव मनाउने चलन मूर्तिपूजासित सम्बन्धित छ। फंक एण्ड वग्नल्स्‌ स्ट्यान्डर्ड डिक्सनरी अफ फोल्कलोर, मिथलोजी एण्ड लिजेन्ड्‌ (अङ्‌ग्रेजी) भन्‍ने किताबअनुसार “कुनै व्यक्‍तिको जन्मदिनमा दुष्ट-आत्माहरूले तिनलाई सताउने गर्छ, तर साथीहरूको जमघट र शुभकामनाले तिनलाई सुरक्षा दिन्छ” भन्‍ने विश्‍वासको आधारमा जन्मदिन मनाउने चलन सुरु भयो। द लोर अफ बर्थडेज्‌ (अङ्‌ग्रेजी) भन्‍ने किताबले पुरातन समयमा जन्मदिनका रेकर्डहरू “राशिफल पत्ता लगाउन” राख्ने गरिन्थ्यो भनी बताउँछ। त्यही किताबले यसो पनि भन्छ: “जन्मदिनमा राखिने मैनबत्तीहरूमा इच्छा पूरा गर्ने तान्त्रिक शक्‍ति हुन्छ।”

     तर बाइबलमा जादुगरी गर्ने, भावी बताउने, जोखना हेर्ने वा ‘यस्तै अरू कुरा गर्न’ निषेध गरेको छ। (व्यवस्था १८:१४; गलाती ५:१९-२१) पुरातन सहर बेबिलोनका बासिन्दाहरू ज्योतिष विद्यामा लागेकोले नै परमेश्‍वरले तिनीहरूको विनाश गर्नुभएको थियो। (यशैया ४७:११-१५) यहोवाका साक्षीहरू कुन चलन कसरी सुरु भयो भनेर त्यसको नालीबेली खोज्ने त गर्दैनन्‌ तर धर्मशास्त्रले त्यसबारे स्पष्ट निर्देशन दिंदा भने त्यसलाई पालन गर्छन्‌।

  2.  २. प्रथम शताब्दीका ख्रीष्टियनहरू जन्मदिन मनाउँदैनथे। द वर्ल्ड बूक इन्साइक्लोपीडिया (अङ्‌ग्रेजी) यसो भन्छ, “तिनीहरू कसैको जन्मदिन मनाउनुलाई गैर-ख्रीष्टियन चलन ठान्थे।” येशूबाट सिक्ने अवसर पाएका चेलाहरू ख्रीष्टियनहरूका लागि नमुना भएकोले हामीले पनि तिनीहरूको अनुकरण गर्नुपर्छ।—२ थिस्सलोनिकी ३:६.

  3.  ३. ख्रीष्टियनहरूले मनाउनु पर्ने एक मात्र उत्सव येशूको मृत्युको दिन हो, जन्मदिन होइन। (लूका २२:१७-२०) यसमा हामी छक्क मान्‍नुपर्ने कुनै कारण छैन किनकि बाइबलले “मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो” भनी बताउँछ। (उपदेशक ७:१) येशूले आफ्नो जीवनको अन्तिम घडी सम्ममा परमेश्‍वरसित असल नाम कमाइसक्नुभएको थियो। हो, उहाँले आफ्नो मृत्युको दिन जन्मेको दिन भन्दा महत्त्वपूर्ण बनाइसक्नुभएको थियो।—हिब्रू १:४.

  4.  ४. परमेश्‍वरको सेवकले जन्मदिन मनाएको कुरा बाइबलमा कतै पनि उल्लेख गरिएको छैन। यसको मतलब जन्मदिनको विवरण लेख्न छुटेको होइन। बाइबलमा दुईवटा जन्मदिनबारे उल्लेख गरिएको छ। तर तिनीहरू परमेश्‍वरको सेवक भने थिएनन्‌। ती दुवै जन्मदिन मनाइँदा दुःखद घटनाहरू घटेका थिए।—उत्पत्ति ४०:२०-२२; मर्कूस ६:२१-२९.

के यहोवाका साक्षीका छोराछोरीले जन्मदिन नमनाउँदा न्यास्रो महसुस गर्छन्‌?

 अरू असल आमाबाबुजस्तै साक्षीहरू पनि आफ्ना छोराछोरीलाई माया गर्छन्‌, तिनीहरूलाई उपहारहरू दिन्छन्‌ र रमाइला जमघटहरू गर्ने गर्छन्‌। साक्षी आमाबाबुले परमेश्‍वरको उत्कृष्ट नमुना अनुकरण गर्ने प्रयास गर्छन्‌। परमेश्‍वरले मानिसजातिलाई सधैं असल कुराहरू दिइरहनुहुन्छ। यसो गर्नको लागि उहाँलाई कुनै विशेष दिनको आवश्‍यकता पर्दैन। (मत्ती ७:११) यहोवाका साक्षीका छोराछोरीले न्यास्रो महसुस नगरेको कुरा तिनीहरूको भनाइबाट स्पष्ट हुन्छ:

  •   “आशै नगरेको बेला उपहार पाउँदा निकै रमाइलो लाग्छ।”—ट्यामी, १२ वर्ष।

  •   “मेरो ममी ड्याडीले जन्मदिनको उपहार दिनुहुन्‍न तर उहाँहरूले अरू नै बेला उपहार दिनुहुन्छ। त्यसरी उपहार दिएको मलाई एकदम मनपर्छ किनभने उपहार पाउँदै छु भनेर सोचेकै हुँदिन।”—ग्रेगरी, ११ वर्ष।

  •   “दश मिनेटमा एक दुइटा सानो केक खाएर एउटा गीत गाउँदैमा रमाइलो हुन्छ र? रमाइलो वास्तवमा कस्तो हुन्छ, मेरो घरमा आएर हेर्नुहोस्‌ न!”—एरिक, ६ वर्ष।