सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?

यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?

 बाइबलमा जस्तो निर्देशन दिइएको छ, हामी त्यस्तै तरिकामा प्रभुको साँझको भोज मनाउँछौं। यसलाई “प्रभु-भोज,” अन्तिम रात्रि-भोज र येशूको मृत्युको स्मरणार्थ पनि भनिन्छ। (१ कोरिन्थी ११:२०; पवित्र बाइबल) तर चर्चहरूले यस उत्सवलाई मनाउने तरिका बाइबलमा आधारित छैन।

किन मनाइन्छ?

 येशूले हाम्रो लागि आफ्नो जीवन बलिदान दिनुभयो। यसप्रति धन्यवादी भएको देखाउन हामी प्रभुको साँझको भोज मनाउँछौं। (मत्ती २०:२८; १ कोरिन्थी ११:२४) यो उत्सव परमेश्‍वरबाट कृपा पाउने अथवा पापको क्षमा पाउन गरिने धार्मिक विधि (साक्रामेन्ट) होइन। a कुनै धार्मिक विधि पूरा गरेर पापको क्षमा पाउन सकिंदैन। बरु येशूमा विश्‍वास गरेर मात्र सकिन्छ भनेर बाइबल बताउँछ।—रोमी ३:२५; १ यूहन्‍ना २:१, २.

कति चोटि मनाउनुपर्छ?

 येशूले आफ्ना चेलाहरूलाई प्रभुको साँझको भोज मनाउन आज्ञा दिनुभयो तर कति चोटि मनाउनुपर्छ भनेर चाहिं बताउनुभएन। (लूका २२:१९) कसै-कसैलाई यो उत्सव महिनैपिच्छे मनाउनुपर्छ भन्‍ने लाग्छ। अनि कसैलाई हप्तैपिच्छे, कसैलाई दिनदिनै, कसैलाई भने दिनकै पटक-पटक मनाउनुपर्छ जस्तो लाग्छ। अरू कोही-कोहीचाहिं आफूलाई जतिचोटि मनाउनु उचित लाग्छ, त्यति नै पटक मनाउँछन्‌। b तर यसबारे हामीले केही कुरा विचार गर्नुपर्छ।

 यहूदीहरूले निस्तार चाड मनाउने दिनमै येशूले स्मरणार्थ उत्सव स्थापना गर्नुभयो। अनि उहाँको मृत्यु भएको दिन पनि त्यही थियो। (मत्ती २६:१, २) यी दुइटै घटना एकै दिनमा हुनु कुनै संयोगको कुरा होइन। किनभने बाइबलमा येशूको बलिदानलाई निस्तार चाडको थुमासित तुलना गरिएको छ। (१ कोरिन्थी ५:७, ८) निस्तार चाड वर्षको एक चोटि मनाइन्थ्यो। (प्रस्थान १२:१-६; लेवी २३:५) त्यस्तैगरि सुरु-सुरुका ख्रीष्टियनहरू पनि येशूको मृत्युको स्मरणार्थ वर्षको एक चोटि मनाउँथे। c आज यहोवाका साक्षीहरू पनि यो उत्सव वर्षको एक चोटि मनाउँछन्‌।

कहिले मनाउनुपर्छ?

 येशूले स्मरणार्थ उत्सव मनाउनुभएको विवरणबाट यो कहिले मनाउनुपर्छ भनेर पनि थाह पाउन सक्छौं। उहाँले इस्वी संवत्‌ ३३, नीसान १४ सूर्यास्तपछि यो उत्सव स्थापना गर्नुभयो। (मत्ती २६:१८-२०, २६) सुरु-सुरुका ख्रीष्टियनहरूजस्तै हामी पनि यही मितिमा स्मरणार्थ उत्सव मनाउने गर्छौं। d

 हुन त इस्वी संवत्‌ ३३ मा नीसान १४ शुक्रबारको दिन परेको थियो। तर नीसान १४ हरेक वर्ष त्यही दिन पर्छ भन्‍ने छैन। नीसान १४ कहिले पर्छ भनेर पत्ता लगाउन हामी यहूदीहरूको आधुनिक क्यालेन्डर प्रयोग गर्दैनौं। बरु येशूको समयमा जसरी पत्ता लगाइन्थ्यो, आज पनि त्यही तरिकामा पत्ता लगाउँछौं। e

रोटी र दाखमद्य कस्तो हुनुपर्छ?

 येशूले स्मरणार्थ उत्सव मनाउन निस्तार चाडमा उब्रेको अखमिरे रोटी र रातो दाखमद्य प्रयोग गर्नुभयो। (मत्ती २६:२६-२८) त्यसैले यस उत्सवमा प्रयोग गरिने रोटी खमिर वा कुनै मसला मिसाइएको हुनु हुँदैन। दाखमद्यको सट्टा अङ्‌गुरको शुद्ध रस प्रयोग गर्नु हुँदैन। साथै दाखमद्य गुलियो बनाइएको, कडा बनाइएको अथवा मसला मिसाइएको हुनु हुँदैन।

 कुनै-कुनै चर्चले भने खमिर मिसाइएको रोटी प्रयोग गर्छन्‌। तर बाइबलमा खमिरलाई प्रायजसो पाप र भ्रष्टताको प्रतीकको रूपमा प्रयोग गरेको छ। (लूका १२:१; १ कोरिन्थी ५:६-८; गलाती ५:७-९) त्यसैले ख्रीष्टको पापरहित शरीरलाई बुझाउन कुनै मसला अथवा खमिर मिसाइएको रोटी प्रयोग गर्नु हुँदैन। (१ पत्रुस २:२२) दाखमद्यको सट्टा अङ्‌गुरको रस प्रयोग गरेको विवरण बाइबलमा कतै पाइँदैन। कुनै-कुनै चर्च यस्तो रस प्रयोग गर्छन्‌ किनभने तिनीहरूको विचारमा दाखमद्य खानु भनेको बाइबलको सल्लाहविपरीत चल्नु हो।—१ तिमोथी ५:२३.

स्मरणार्थ उत्सवका प्रतीकहरू साँच्चैको शरीर र रगत किन होइन?

 स्मरणार्थ उत्सवमा प्रयोग गरिने अखमिरे रोटी र रातो दाखमद्य ख्रीष्टको शरीर र रगतको प्रतीक अथवा चिन्ह हो। कसै-कसैको विचारमा रोटी र दाखमद्य येशूको शरीर र रगतको रूपमा परिणत हुन्छ अथवा उहाँको शरीरमा मिसिन्छ। तर यो शिक्षा बाइबलसित मेल खाँदैन। किन? बाइबलबाट केही कुरा विचार गरौं।

  •   यदि येशूले चेलाहरूलाई आफ्नो रगत पिउनू भनेर आज्ञा दिनुभएको भए के उहाँले रगतसम्बन्धी परमेश्‍वरले दिनुभएको आज्ञा उल्लङ्‌घन गर्नू भनिरहनुभएको हुने थिएन र? (उत्पत्ति ९:४; प्रेषित १५:२८, २९) येशूले रगतको पवित्रतासम्बन्धी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्ने निर्देशन कहिल्यै दिनुहुने थिएन।—यूहन्‍ना ८:२८, २९.

  •   यदि चेलाहरूले येशूको रगत पिएका भए उहाँले आफ्नो रगत “बगाइनेछ” भनेर भन्‍नुहुने थिएन। किनभने उहाँले आफ्नो रगत बलिदानको रूपमा बगाउने समय आएको थिएन।—मत्ती २६:२८.

  •   येशूले “सदाका लागि” आफूलाई बलिको रूपमा चढाउनुभयो। (हिब्रू ९:२५, २६) त्यसकारण यो बलि घरीघरी चढाउनुपर्दैन। प्रभुको साँझको भोजमा रोटी र दाखमद्य उहाँको शरीर र रगतमा परिणत हुने हो भने त्यो खानेहरूले येशूलाई हरेक पटक बलि चढाइरहेका हुन्छन्‌।

  •   येशूले “मेरो सम्झनामा यो गर्नेगर” भन्‍नुभयो, “मलाई बलिदानको रूपमा चढाउने गर” भन्‍नुभएन।​—१ कोरिन्थी ११:२४.

 रोटी र दाखमद्य येशूको शरीर र रगतमा परिणत हुन्छ भनेर विश्‍वास गर्नेहरूले बाइबलको कुनै-कुनै शब्दलाई गलत अर्थ लगाएका छन्‌। जस्तै, येशूले दाखमद्यबारे भन्‍नुभएको कुरालाई थुप्रै बाइबल अनुवादमा यसरी अनुवाद गरिएको छ, “यो नयाँ करारको मेरो रगत हो।” (मत्ती २६:२८) तर यस पदलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “यसले मेरो रगतलाई बुझाउँछ,” “यो मेरो रगतको प्रतीक हो” अथवा “यसले मेरो रगतलाई चित्रण गर्छ।” f येशूले प्रायजसो तुलना गरेर सिकाउनुहुन्थ्यो। यहाँ पनि उहाँले दाखमद्यलाई रगतसित तुलना गरेर सिकाउँदै हुनुहुन्थ्यो।—मत्ती १३:३४, ३५.

क-कसले प्रतीकहरू खान्छन्‌?

 प्रभुको साँझको भोजमा उपस्थित हुनेहरूमध्ये थोरैले मात्र रोटी र दाखमद्य खान्छन्‌। किन?

 यहोवा परमेश्‍वरले पुरातन इस्राएल राष्ट्रसित करार बाँध्नुभएको थियो। येशूले आफ्नो जीवन बलिदान दिएर त्यस करारको ठाउँमा “नयाँ करार” स्थापना गर्नुभयो। (हिब्रू ८:१०-१३) नयाँ करारमा बाँधिएकाहरूले स्मरणार्थका प्रतीकहरू खान्छन्‌। सबै ख्रीष्टियन यस करारमा बाँधिएका छैनन्‌ बरु परमेश्‍वरद्वारा “बोलावट पाएकाहरू” मात्र बाँधिएका छन्‌। (हिब्रू ९:१५; लूका २२:२०) तिनीहरूले ख्रीष्टसित राजाको रूपमा शासन गर्नेछन्‌। यस्तो सुअवसर पाउनेहरू १,४४,००० मात्र छन्‌ भनेर बाइबलमा बताइएको छ।—लूका २२:२८-३०; प्रकाश ५:९, १०; १४:१,.

 ख्रीष्टसित शासन गर्नेहरूलाई बाइबलमा “सानो बगाल” भनिएको छ। तिनीहरूको तुलनामा पृथ्वीमा अनन्त जीवन पाउनेहरू धेरै हुनेछन्‌। उनीहरूलाई “ठूलो भीड” भनिएको छ। (लूका १२:३२; प्रकाश ७:९, १०) पृथ्वीमा बाँच्ने आशा भएकाहरूले स्मरणार्थका प्रतीकहरू खाँदैनन्‌। तर येशूले हाम्रो लागि दिनुभएको बलिदानप्रति धन्यवादी भएको देखाउन त्यस उत्सवमा उपस्थित हुन्छन्‌।—१ यूहन्‍ना २:२.

a म्याक्लिन्टक एण्ड स्ट्रङस साइक्लोपीडिया, खण्ड ९, पृष्ठ २१२ यसो भन्छ, “साक्रामेन्ट [ग्रीकमा मिस्टेरिअन, μυστήριον] भन्‍ने शब्द नयाँ करारमा पाइँदैन। यो शब्द बप्तिस्मा, प्रभु-भोज अथवा कुनै उत्सवलाई बुझाउन प्रयोग गरिएको छैन।”

b केही बाइबल अनुवादमा प्रभुको साँझको भोज मनाउने सन्दर्भमा “पटक-पटक” भन्‍ने शब्द प्रयोग गरिएको छ। यो भोज कति पटक मनाउनुपर्छ भन्‍ने छनक दिन यो शब्द प्रयोग गरिएको हो। तर मौलिक भाषाको बाइबलमा १ कोरिन्थी ११:२५, २६ मा प्रयोग गरिएको शब्दले “जहिले जहिले” अथवा “जब-जब” भन्‍ने अर्थ दिन्छ।—पवित्र बाइबल; गुड न्युज ट्रान्सलेसन।

c द न्यु शाफ-हर्जोग इन्साइक्लोपीडिया अफ रिलिजियस नलेज, खण्ड ४, पृष्ठ ४३-४४ र म्याक्लिन्टक एण्ड स्ट्रङस साइक्लोपीडिया, खण्ड ८, पृष्ठ ८३६ हेर्नुहोस्‌।

d द क्यामब्रिज हिस्ट्री अफ द बाइबल, खण्ड १, पृष्ठ ८४१।

e प्रथम शताब्दीका ख्रीष्टियनहरू नीसान महिना कहिले सुरु हुन्छ भनेर कसरी पत्ता लगाउँथे? सुरुमा औंसीको दिन पत्ता लगाउँथे र त्यसपछि यरूशलेमबाट पहिलो पटक जहिले चन्द्रमा देखिन्थ्यो, सोही दिनदेखि नीसान महिना सुरु भएको मानिन्थ्यो। तर अहिलेका यहूदीहरू भने तिथिको आधारमा नीसान महिना कहिले सुरु हुन्छ भनेर तय गर्छन्‌। त्यसकारण यहोवाका साक्षीहरूले स्मरणार्थ उत्सव मनाउने मिति र अहिलेका यहूदीहरूले निस्तार चाड मनाउने मितिमा एक-दुई दिनको फरक हुन सक्छ।

f जेम्स मोफेटको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द बाइबल; चार्ल्स बि. विलियम्सको द न्यु टेस्टामेन्ट—अ ट्रान्सलेसन इन द ल्याङ्‌गवेज अफ द पिपल र ह्‍यु जे. सोनफिल्डको दी ओरिजिनल न्यु टेस्टामेन्ट हेर्नुहोस्‌।