सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू रगत लिंदैनन्‌ पनि, दिंदैनन्‌ पनि, किन?

यहोवाका साक्षीहरू रगत लिंदैनन्‌ पनि, दिंदैनन्‌ पनि, किन?

प्रचलित गलत धारणाहरू

 गलत धारणा: यहोवाका साक्षीहरू औषधी-उपचार स्वीकार्दै स्वीकार्दैनन्‌।

 वास्तविकता: हामी आफ्नो लागि अनि आफ्नो परिवारको लागि सक्दो राम्रो औषधी-उपचार गर्ने प्रयास गर्छौं। स्वास्थ्य समस्या भयो भने हामी रगत नदिईकन उपचार गर्न सक्ने वा शल्यक्रिया गर्न सक्ने अनुभवी डाक्टरकहाँ जान्छौं। चिकित्सा क्षेत्रमा भइरहेको नयाँ-नयाँ उपलब्धिको हामी कदर गर्छौं। यहोवाका साक्षीका लागि भनेर तयार पारिएको रक्‍तविहीन उपचार पद्धतिहरूले अहिले सबै मानिसहरूलाई फाइदा पुऱ्‍याइरहेको छ। थुप्रै मुलुकहरूमा अहिले जो कोही बिरामीले पनि रगत लिने या नलिने भनेर निर्णय गर्न सक्छन्‌। यस्तो निर्णयले गर्दा तिनीहरू रगत लिंदा आइपर्ने खतराहरू; जस्तै: रगतबाट सर्ने रोगहरू, रोग प्रतिरोधात्मक प्रणालीमा गडबडी वा अरू मानव त्रुटि इत्यादिबाट बच्न सकेका छन्‌।

 गलत धारणा: विश्‍वासले नै मानिसलाई निको पार्न सक्छ भनेर यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌।

 वास्तविकता: हामी विश्‍वासले रोग निको पार्छ भनेर विश्‍वास गर्दैनौं।

 गलत धारणा: रगत नलिई उपचार गर्दा धेरै खर्च हुन्छ।

 वास्तविकता: रगत नलिई गरिने वैकल्पिक उपचारहरू तुलनात्मक रूपमा सस्तो पर्न आउँछ। a

 गलत धारणा: हरेक वर्ष थुप्रै साक्षीहरू, बच्चाहरूसमेत उपचारको क्रममा रगत लिन नमानेको कारण मर्ने गर्छन्‌।

 वास्तविकता: यो कुराको कुनै आधार छैन। डाक्टरहरूले अघिपछि पनि विभिन्‍न शल्यक्रिया गर्दा; जस्तै: मुटुको शल्यक्रिया गर्दा, हाडजोर्नीको शल्यक्रिया गर्दा अनि अङ्‌ग प्रत्यारोपण गर्दा रगत नदिईकनै उपचार गर्न सफल भएका छन्‌। b रगत नलिने बिरामीहरू, यहाँसम्म कि बच्चाहरूसमेत रगत लिने बिरामीहरू बराबर नै वा रगत लिने बिरामीहरूभन्दा पनि स्वस्थ पाइएको छ। c रगत लिन इन्कार गर्दा बिरामीको मृत्यु हुन्छ वा रगत लिएपछि बिरामी बाँच्न सक्छ भनेर कसैले पनि ग्यारेन्टी दिन सक्दैन।

यहोवाका साक्षीहरू रगत लिंदा पनि लिंदैनन्‌, दिंदा पनि दिंदैनन्‌, किन?

 यो चिकित्सासित सम्बन्धित कुराभन्दा पनि धार्मिक विश्‍वाससित सम्बन्धित कुरा हो। बाइबलको पुरानो करार र नयाँ करार दुवैमा नै रगतबाट अलग रहनु भन्‍ने स्पष्ट आज्ञा दिइएको छ। (उत्पत्ति ९:४; लेवी १७:१०; व्यवस्था १२:२३; प्रेषित १५:२८, २९) साथै, परमेश्‍वरको नजरमा रगतले मानिसको जीवनलाई प्रतिनिधित्व गर्छ। (लेवी १७:१४) त्यसैले हामी परमेश्‍वरको आज्ञा पालन गर्ने हिसाबले मात्र रगत इन्कार गर्दैनौं तर उहाँ जीवनको स्रोत हुनुहुन्छ भन्‍ने कुराप्रति कदर देखाउन पनि रगतबाट अलग रहन्छौं।

बदलिंदो दृष्टिकोण

रगत नदिईकन पनि सफलतासाथ जटिल शल्यक्रिया गर्न सकिन्छ।

 कुनै समय रगत लिन इन्कार गर्नुलाई चिकित्सकहरू कट्टरपन्थी भएको वा आत्महत्या गर्न खोजेको समेत भन्थे। तर हालका वर्षहरूमा यो धारणा बदलिएको छ। उदाहरणका लागि सन्‌ २००४ को कुरालाई विचार गर्नुहोस्‌। त्यतिबेला चिकित्सासित सम्बन्धित एउटा पत्रिकामा यस्तो लेखिएको थियो: “हामीले बिरामी साक्षीहरूका लागि भनेर जति पनि पद्‌घतिहरू विकास गऱ्‍यौं त्यो अब हामी आगामी वर्षहरूमा सबैका लागि प्रयोग गर्नेछौं।” d सन्‌ २०१० मा मुटु, फोक्सो र सञ्चार नामक पत्रिकाको एउटा लेखमा यस्तो लेखिएको थियो, “‘रगत नदिई गरिने शल्यक्रिया’ अब यहोवाका साक्षीहरूमा मात्र सीमित गर्नु हुँदैन, बरु शल्यक्रिया गर्दा जहिले पनि यही तरिका अपनाउने बानी बसाल्नुपर्छ।”

 संसारभरका हजारौं डाक्टरहरूले अहिले रगत खेर जान नदिने तरिका अपनाएर रगतविना नै जटिल शल्यक्रिया गर्न सकेका छन्‌। यस्तो पद्‌घति विकासोन्मुख देशहरूमा समेत अपनाइएको छ अनि यहोवाका साक्षीबाहेक थुप्रै बिरामीहरूले पनि यो पद्‌घतिको माग गरेका छन्‌।

a Transfusion and Apheresis Science, Volume 33, No. 3, p. 349.

b The Journal of Thoracic and Cardiovascular Surgery, Volume 134, No. 2, pp. 287-288; Texas Heart Institute Journal, Volume 38, No. 5, p. 563; Basics of Blood Management, p. 2; and Continuing Education in Anaesthesia, Critical Care & Pain, Volume 4, No. 2, p. 39.

c The Journal of Thoracic and Cardiovascular Surgery, Volume 89, No. 6, p. 918; and Heart, Lung and Circulation, Volume 19, p. 658.

d Continuing Education in Anaesthesia, Critical Care & Pain, Volume 4, No. 2, page 39.