सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरले किन सबै प्रार्थनाको जवाफ दिनुहुन्‍न?

ईश्‍वरले किन सबै प्रार्थनाको जवाफ दिनुहुन्‍न?

स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा यहोवा हामीले मनैदेखि गरेको प्रार्थना सुन्‍न इच्छुक र खुसी हुनुहुन्छ। तर उहाँ कुनै-कुनै प्रार्थनाको जवाफ दिनुहुन्‍न। किन? साथै प्रार्थना गर्दा हामीले कस्ता कुराहरूमा ध्यान दिनुपर्छ? यस विषयमा बाइबलमा केही निर्देशन दिइएका छन्‌।

“प्रार्थना गर्दा . . . एउटै कुरा दोहोऱ्‍याई नराख।”—मत्ति ६:७.

हामीले कण्ठ पारेर एउटै प्रार्थना दोहोऱ्‍याएको वा किताबबाट प्रार्थना पढेको यहोवा चाहनुहुन्‍न। बरु हामीले मनैदेखि प्रार्थना गरेको उहाँ चाहनुहुन्छ। तपाईँको साथीले सधैँ एउटै कुरा दोहोऱ्‍याउँदा तपाईँलाई झिजो लाग्छ नि, होइन र? घनिष्ठ मित्रहरू एकअर्कासित खुलस्त कुराकानी गर्छन्‌। हामीले आफ्नै शब्दमा मनैदेखि स्वर्गमा बस्नुहुने बुबालाई प्रार्थना गर्दा उहाँलाई आफ्नो घनिष्ठ मित्र ठानेको देखाइरहेका हुन्छौँ।

“माग्दा पनि तिमीहरू पाउँदैनौ किनकि तिमीहरू . . . गलत उद्देश्‍यले माग्छौ।”—याकुब ४:३.

ईश्‍वरको इच्छाविपरीत कुराहरूको लागि प्रार्थना गर्दा उहाँले त्यस्तो प्रार्थनाको जवाफ दिनुहुन्‍न भनेर चिताउन सक्छौँ। जस्तै, कसैले जुवामा जित हासिल गराइदिनुहोस्‌ भनेर प्रार्थना गऱ्‍यो भने के यहोवाले उसको प्रार्थना सुन्‍नुहोला? उहाँले लोभी नहुन अनि भाग्यजस्तो अन्धविश्‍वासमा विश्‍वास नगर्न स्पष्ट आज्ञा दिनुभएको छ। (यसैया ६५:११; लुका १२:१५) यहोवाले त्यस्ता प्रार्थनाको जवाफ दिनुहोला भनेर आशा गर्नु मूर्खता हुनेछ! ईश्‍वरले हाम्रो प्रार्थनाको जवाफ दिनुभएको चाहन्छौँ भने हाम्रो बिन्ती उहाँले बाइबलमा दिनुभएको निर्देशनअनुरूप छ कि छैन भनेर पक्का गर्नुपर्छ।

“जसले नियमकानुन पालन गर्न मान्दैन, उसको प्रार्थनासमेत घिनलाग्दो हुन्छ।”—हितोपदेश २८:९.

बाइबलकालीन समयमा ईश्‍वरले आफ्नो धार्मिक स्तर बेवास्ता गर्ने मानिसहरूको प्रार्थना सुन्‍नुभएन। (यसैया १:१५, १६) उहाँ अहिले पनि परिवर्तन हुनुभएको छैन। (मलाकि ३:६) ईश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौँ भने हामीले उहाँका नियमहरू पालन गर्न सक्दो गर्नुपर्छ। तर हामीले विगतमा गलत कामहरू गरेका थियौँ भने नि? के त्यसको मतलब यहोवाले हाम्रो प्रार्थना कहिल्यै सुन्‍नुहुन्‍न? त्यस्तो त पक्कै होइन! हामीले पश्‍चात्ताप गऱ्‍यौँ र उहाँलाई खुसी बनाउन यथासक्दो गऱ्‍यौँ भने उहाँले हामीलाई मायालुपूर्वक क्षमा दिनुहुनेछ।—प्रेषित ३:१९.