सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख

के विरोध नै समस्याको समाधान हो?

के विरोध नै समस्याको समाधान हो?

यस पत्रिकाका प्रकाशक यहोवाका साक्षीहरू राजनैतिक तवरमा तटस्थ छन्‌। (यूहन्‍ना १७:१६; १८:३६) यस लेखमा विभिन्‍न आन्दोलनका घटनाहरू उल्लेख गरिएको भए तापनि यस पत्रिकाले कुनै राष्ट्रको पक्ष लिंदैन वा राजनैतिक विवादलाई समर्थन गर्दैन।

सन्‌ २०१० डिसेम्बर १७ मा मोहम्मद बोआजिजीको धैर्यताको बाँध फुट्यो। ट्युनिसियाका यी २६ वर्षीय युवक फुटपाथ व्यापारी थिए। राम्रो जागिर नपाएकोले तिनी दिकदार थिए। भ्रष्ट अधिकृतहरू कतिसम्म घुस्याहा छन्‌ भनेर पनि तिनलाई राम्ररी थाह थियो। त्यस बिहान प्रहरीहरूले तिनले बेच्न राखेका नासपाती, केरा, स्याउ खोसे। तराजु खोस्दाचाहिं तिनले प्रतिकार गरे। अनि तिनलाई एक महिला प्रहरीले थप्पड पनि हानिन्‌ भनी केही प्रत्यक्षदर्शीहरू बताउँछन्‌।

क्रोधित भएका र बेइज्जत महसुस गरेका मोहम्मद नजिकैको सरकारी कार्यालयमा आफूमाथि भएको अन्यायको उजुरी गर्न गए। तर तिनको सुनुवाइ भएन। भनिन्छ तिनी त्यस भवनअगाडि यसो भन्दै कराए, “मैले कसरी जीविका चलाएको तिमीहरू चाहन्छौ?” त्यसपछि तिनले आफूमाथि पेट्रोल खन्याए र सलाई कोरे। तीन हप्ता पनि नबित्दै यसको कारण तिनको मृत्यु भयो।

मोहम्मदको यस कहालीलाग्दो कार्यले ट्युनिसिया र त्यस छेउछाउका मानिसहरूलाई गहिरो असर पाऱ्‍यो। उनको यस कार्यले गर्दा नै त्यस देशमा विद्रोहको आगो सल्कियो र त्यहाँको सरकार ढल्यो भनी मानिसहरू बताउने गर्छन्‌। त्यसपछि ट्युनिसियाका छिमेकी मुलुकहरूमा पनि विद्रोहको लहर हावासरि फैलियो। युरोपेली संसद्‌ले बोआजिजी र अरू चार जनालाई वाक्‌ स्वतन्त्रताको लागि सन्‌ २०११ को शाखारोभ पुरस्कार प्रदान गऱ्‍यो अनि लन्डनको टाइम्स अखबारले बोआजिजीलाई सन्‌ २०११ को वर्ष व्यक्‍ति घोषणा गऱ्‍यो।

यस उदाहरणले देखाएझैं विरोध एउटा शक्‍तिशाली हतियार हो। अहिले विरोधको लहर चलेको छ। यसको कारण के हो? के अरू कुनै विकल्प छैन?

किन यति धेरै विरोध?

थुप्रै विरोधहरू तल दिइएका कारणले गर्दा सल्किएका हुन सक्छन्‌:

  • सामाजिक व्यवस्थाप्रति असन्तुष्टि। मानिसहरूलाई सरकार र अर्थतन्त्रले आफ्नो आवश्‍यकता पूरा गरिरहेको छ जस्तो लाग्दा तिनीहरू विद्रोहमा उत्रने सम्भावना कम हुन्छ। मानिसहरू नियमको दायरा भित्रै रहेर आफ्नो समस्या समाधान गर्न खोज्छन्‌। अर्कोतर्फ मानिसहरूलाई सामाजिक व्यवस्था भ्रष्ट, अन्यायपूर्ण अनि कसैलाई काखा कसैलाई पाखा गर्ने खालको छ जस्तो लाग्दा तिनीहरू विद्रोहमा उत्रन पछि पर्दैनन्‌।

  • आगोको झिल्का। प्रायजसो कुनै घटनापछि मानिसहरू अब आँखा चिम्लेर बस्ने समय होइन, केही गर्नुपर्छ भन्‍ने अठोटका साथ सडकमा ओर्लन्छन्‌। मोहम्मद बोआजिजीको कुरा गर्ने हो भने पनि तिनकै काण्डले गर्दा ट्युनिसियामा जनविद्रोहको ज्वाला दन्कियो। भ्रष्टाचारको विरोध गर्दै भारतका सामाजिक कार्यकर्ता अन्‍ना हजारे अनशन बसे र यसकै परिणामस्वरूप ४५० सहर तथा गाउँमा तिनका समर्थकहरू विद्रोहमा ओर्लिए।

धेरै अघि बाइबलमा बताइएझैं अहिले संसारमा “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय” छ। (उपदेशक ८:९) पहिलाको तुलनामा अहिले भ्रष्टाचार र अन्याय व्याप्त छ। साथै राजनैतिक असफलता र आर्थिक डामाडोलबारे मानिसहरू आज एकदमै सचेत छन्‌। आजभोलि स्मार्टफोन, इन्टरनेटको सुविधा अनि २४ सै घण्टा प्रसारण हुने समाचारले गर्दा सानो ठाउँमा भएका घटनाको विरोध अरू ठाउँहरूमा पनि फैलिन्छ।

विरोधले गर्दा कस्ता कुरा हासिल भएका छन्‌?

विरोधीहरूले यस्ता कुराहरू हासिल भएका छन्‌ भनी बताउलान्‌:

  • गरिबहरूले राहत पाएका छन्‌। सन्‌ १९३० को दशकमा महामन्दीको बेला अमेरिकाको सिकागो सहरमा भाडा तिरेर बसेकाहरूलाई जबरजस्ती निकालियो। यसको विरोधमा भएको हुलदङ्‌गाको कारण सहरका अधिकारीहरू यो योजना रद्द गर्न बाध्य भए। अनि दङ्‌गा मच्चाउनेहरूमध्ये कतिपयलाई कामको व्यवस्था मिलाइदिए। न्यु योर्क सहरमा पनि भएको यस्तै विरोधले गर्दा जबरजस्ती उठीबास गराइएका ७७,००० परिवारले आफ्नो बस्ने ठाउँ फिर्ता पाए।

  • अन्यायको जवाफ। सन्‌ १९५५/१९५६ तिर अमेरिकाको अलाबामा सहरमा सर्वसाधारणले सार्वजनिक बसको बहिष्कार गरेपछि त्यहाँका सरकारी अधिकृतहरू काला र गोरा जातिहरूलाई बसमा सिट छुट्टाउने नियम खारेज गर्न बाध्य भए।

  • निर्माणकार्य रोकियो। सन्‌ २०११ डिसेम्बरमा हङकङ नजिकै विद्युत्‌ उत्पादन गर्न कोइलाबाट चल्ने पावर प्लान्टको निर्माण सुरु गर्दा हजारौं मानिसहरूले वातावरणमा पर्ने नकारात्मक असरबारे चिन्ता व्यक्‍त गर्दै विरोध गरे। त्यसैले निर्माणकार्य रद्द गरियो।

केही प्रदर्शनकारीहरू आफ्नो माग पूरा गराउन सफल भए तापनि परमेश्‍वरको राज्यले सर्वोत्तम उपाय प्रदान गर्छ

तर प्रदर्शनकारीहरू सधैं सफल हुन्छन्‌ भन्‍ने छैन। उदाहरणको लागि शासकहरूले प्रदर्शनकारीहरूको माग पूरा गर्नुको सट्टा उल्टै तिनीहरूलाई दबाउन पनि सक्छन्‌। मध्यपूर्वमा रहेको एउटा देशका राष्ट्रपतिले त्यहाँ भइरहेको विरोधबारे यसो भने, “तिनीहरूलाई फलामले डामेपछि चेत आउँछ।” त्यस आन्दोलनमा हजारौंले ज्यान गुमाइसकेका छन्‌।

प्रदर्शनकारीहरू आफ्नो माग पूरा गराउन सफल त होलान्‌ तर यस सँगसँगै थप समस्याहरू आइपर्छ। एउटा अफ्रिकी मुलुकको शासकलाई अपदस्थ गर्न सहयोग गरेका एक व्यक्‍तिले टाइम पत्रिकालाई नयाँ सरकारबारे यसो भने, “खै, हामीलाई त हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं भयो।”

सर्वोत्तम उपाय

थुप्रै प्रख्यात व्यक्‍तिहरूले दमनकारी शासन प्रणालीको विरोध गर्नु मानव दायित्व हो भनी बताएका छन्‌। उदाहरणका लागि मानव अधिकारको खातिर वर्षौं जेलमा बिताएका चेक गणतन्त्रका पूर्व राष्ट्रपति भास्लाभ हाबेलले (तिनको मृत्यु भइसकेको छ) सन्‌ १९८५ मा यस्तो लेखे, “एक जना विरोधीले आफ्नो कुरा सही हो भनेर प्रमाणित गर्न आफ्नो ज्यान दिने बाहेक अरू के नै गर्न सक्छ र।”

मोहम्मद बोआजिजी र अरू व्यक्‍तिहरूको कार्यको सन्दर्भमा हाबेलका शब्दहरू सत्य साबित भएको पाउँछौं। एसियाको एउटा मुलुकमा धार्मिक र राजनैतिक दमनको विरोधमा दर्जनौंले आफैलाई आगो लगाइसकेका छन्‌। मानिसहरूलाई यस्तो भयावह कार्य गर्न जुरमुराउने भावनाबारे एक व्यक्‍तिले न्युजवीक पत्रिकालाई यसो भने, “हामीसित बन्दुक छैन। हामी अरूलाई हानि पुऱ्‍याउन चाहँदैनौं। त्यसैले हामीसित अरू के विकल्प बाँकी रहन्छ र?”

बाइबलमा अन्याय, भ्रष्टाचार अनि दमनको उपायबारे बताइएको छ। परमेश्‍वरले स्वर्गमा एउटा राज्य स्थापना गर्नुभएको छ भनेर पनि बताइएको छ। यस राज्यले मानिसहरूलाई विरोध गर्न बाध्य पार्ने असफल राजनैतिक र अर्थ व्यवस्थालाई हटाउनेछ। यस सरकारको शासकबारे यस्तो भविष्यवाणी गरिएको छ, “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दु:खीहरूलाई उसले छुटकारा दिनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ।”—भजन ७२:१२, १४.

यहोवाका साक्षीहरू परमेश्‍वरको राज्यले मात्रै मानिसजातिको लागि शान्तिमय संसारको साँचो आशा दिन्छ भनेर विश्‍वास गर्छन्‌। (मत्ती ६:९, १०) त्यसैले यहोवाका साक्षीहरू विरोधहरूमा भाग लिंदैनन्‌। तर के परमेश्‍वरको राज्यले विरोधका कारणहरू हटाउन सक्छ भनेर मानिलिनु व्यावहारिक छ? कसै-कसैलाई व्यावहारिक छैन जस्तो लाग्न सक्छ। तर थुप्रैले परमेश्‍वरको शासनमाथि भरोसा राख्न सकेका छन्‌। यसरी भरोसा राख्न सक्नुको कारण तपाईं आफैले जाँचेर हेर्नुभए कसो होला? (g13-E 07)