सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

औलो, यसबारे तपाईंले थाह पाउनुपर्ने कुरा

औलो, यसबारे तपाईंले थाह पाउनुपर्ने कुरा

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन्‌ २०१३ मा १९ करोड ८० लाखभन्दा धेरै मानिस औलोबाट (मलेरिया) सङ्क्रमित भए र लगभग ५ लाख ८४ हजार जनाले ज्यान गुमाए। पाँच जना रोगीमध्ये झन्डै चार जना पाँच वर्षमुनिका बालबालिका थिए। संसारभरका लगभग १०० देश र इलाकामा औलो डरलाग्दो समस्या बनेको छ। यस रोगले झन्डै ३ अरब २० करोड मानिसलाई खतरामा पारेको छ।

१ औलो के हो?

औलो परजीवीबाट सर्ने रोग हो। यो रोग लाग्दा ज्वरो आउने, काम्ने, पसिना आउने, टाउको दुख्ने, जीउ दुख्ने, वाकवाक लाग्ने र बान्ता हुनेजस्ता लक्षणहरू देखिन्छ। यी लक्षणहरू परजीवीको किसिम र सङ्क्रमण भएको समयावधिअनुसार हरेक ४८ देखि ७२ घण्टामा फेरि देखा पर्छ।

२ औलो कसरी फैलिन्छ?

  1. १. पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि प्लाज्मोडिया भनिने औलो परजीवी मानिसको रगतमा प्रवेश गर्छ।

  2. २. सङ्क्रमित व्यक्तिको कलेजोको कोषहरूमा परजीवी पुग्छ र त्यहाँ परजीवीको सङ्ख्या बढ्दै जान्छ।

  3. ३. कलेजोका कोषहरू फुट्छन्‌ अनि परजीवीले सङ्क्रमित व्यक्तिको रातो रक्तकोषलाई आक्रमण गर्छ। रातो रक्तकोषमा यी परजीवीहरूको सङ्ख्या अझ बढ्दै जान्छ।

  4. ४. रातो रक्तकोष पनि फुट्छ जसले गर्दा परजीवीहरूले अरू रातो रक्तकोषलाई आक्रमण गर्छ।

  5. ५. यसरी रातो रक्तकोषलाई आक्रमण गर्ने अनि रक्तकोष फुट्ने चक्र चलिरहन्छ। हरेक पटक रातो रक्तकोष फुट्दा सङ्क्रमित व्यक्तिमा औलोका लक्षणहरू देखा पर्छ।

३ तपाईं कसरी जोगिन सक्नुहुन्छ?

औलोको प्रकोप भएको ठाउँमा बस्दै हुनुहुन्छ भने . . .

  • झुल प्रयोग गर्नुहोस्।

    • झुल कीटनाशकयुक्त हुनुपर्छ।

    • झुल प्वाल परेको वा च्यातिएको हुनुहुँदैन।

    • झुललाई डस्नाले राम्ररी च्याप्नुपर्छ।

  • घरमा डी डी टी (लामखुट्टेनाशक रासायनिक पदार्थ) छर्कनुहोस्।

  • सम्भव छ भने झ्याल-ढोकामा जाली राख्नुहोस्। लामखुट्टे भगाउन एसी वा पङ्खा प्रयोग गर्नुहोस्।

  • शरीर पूरै ढाक्ने फिक्का रङ्गको लुगा लगाउनुहोस्।

  • सम्भव छ भने लामखुट्टे स्याउँस्याउँती हुने झाडीतिर नजानुहोस्। पानी जम्मा हुने ठाउँमा लामखुट्टेको प्रजनन हुने भएकोले त्यस्ता ठाउँतिर नजानुहोस्।

  • औलो सङ्क्रमित हुनुहुन्छ भने तुरुन्तै उपचार गराउनुहोस्।

औलोको प्रकोप भएको ठाउँमा जाँदै हुनुहुन्छ भने . . .

  • भ्रमण गर्नुअघि नै त्यस ठाउँको वर्तमान अवस्थाबारे जानकारी लिनुहोस्। ठाउँअनुसार औलो परजीवी फरक-फरक हुन्छ। त्यसैले कुन औषधी सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा परजीवीको किसिममा भर पर्छ। डाक्टरलाई आफ्नो स्वास्थ्य अवस्थाबारे बताएर सावधान हुनुपर्ने क्षेत्रहरूबारे जानकारी लिनु बुद्धिमानी हुन्छ।

  • भ्रमणको दौडान, यस लेखमा दिइएको निर्देशन पालन गर्नुहोस्।

  • औलो सङ्क्रमित भएमा तुरुन्तै उपचार गराउनुहोस्। सङ्क्रमित भएको एकदेखि चार हप्ताभित्र लक्षणहरू देखा पर्न सक्छ भन्ने कुरा याद गर्नुहोस्।