सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

श्रीमान्‌ वा श्रीमतीको विशेष हेरविचार गर्नुपर्दा

श्रीमान्‌ वा श्रीमतीको विशेष हेरविचार गर्नुपर्दा

परिवार आनन्दमय बनाउने तरिकाहरू

श्रीमान्‌ वा श्रीमतीको विशेष हेरविचार गर्नुपर्दा

मलाई क्रोनिक फटिग सिन्ड्रोम रोग लागेको पत्ता लाग्यो र मेरो श्रीमान्‌ले मात्र जागिर खानुपऱ्‍यो। तर घर-खर्चबारे उहाँ मलाई केही बताउनुहुन्‍न। यसबारे उहाँ मलाई किन केही पनि भन्‍नुहुन्‍न? पक्कै पनि हाम्रो आर्थिक अवस्था एकदमै नाजुक हुनुपर्छ। यो कुरा थाह पाएँ भने म आत्तिन्छु भनेर उहाँलाई थाह छ।–सजिता। a

वैवाहिक जीवन चुनौतीपूर्ण हुन सक्छ। त्यसमा पनि दम्पतीमध्ये एक जनालाई दीर्घकालीन रोग लाग्यो भने समस्या झनै चर्कन सक्छ। b के तपाईं बिरामी श्रीमान्‌ वा श्रीमतीको हेरचाह गर्दै हुनुहुन्छ? हुनुहुन्छ भने, यस्तो चिन्ताले तपाईंलाई सताउँदैछ कि: ‘मेरो श्रीमान्‌ वा श्रीमतीको स्वास्थ्य झनै बिग्रंदै गएमा के गर्ने होला? बिरामीको हेरविचार गर्ने अनि पकाउने, सफा गर्ने र जागिर, यी सब कतिन्जेल गर्न सकूँला र? बरु, मै बिरामी भए हुन्थ्यो नि!

अर्कोतर्फ, यदि तपाईं बिरामी श्रीमान्‌ वा श्रीमती हुनुहुन्छ भने यस्तो सोच्नुहोला: ‘आफ्नो जिम्मेवारी बहन गर्न नसक्दा म आफ्नै नजरमा गिरिसकें। म बिरामी भएकोमा के मेरो श्रीमान्‌ वा श्रीमती रुष्ट हुन्छन्‌? के हाम्रो सुखमय दाम्पत्य जीवन यतिमै टुङ्‌गिन्छ?’

दुःखको कुरा दीर्घकालीन रोगले गर्दा कतिपयको वैवाहिक जीवन टुटेको छ। त्यसो भन्दैमा तपाईंको वैवाहिक जीवन पनि असफल हुन्छ भन्‍ने छैन।

दीर्घकालीन रोग लागे तापनि थुप्रैको दाम्पत्य जीवन सफल र बलियोसमेत हुन्छ। योशिआकी र काजूकोलाई विचार गर्नुहोस्‌। मेरुदण्डमा चोट लागेको योशिआकी अरूको मदतबिना अलिकति पनि चलहल गर्न सक्दैनन्‌। काजूको बताउँछिन्‌: “उहाँलाई जे गर्न पनि मदत चाहिन्छ। उहाँको हेरचाह गर्दागर्दा मेरो गर्दन, काँध र हात कटकटी दुख्छ। यसबाहेक हाडजोर्नीको समस्याले गर्दा अर्थोपेडिक हस्पिटल गइरहनुपर्छ। बिरामी स्याहार्नु अक्सर अत्यासलाग्दो हुन थालिसक्यो।” यस्ता कठिनाइ भए पनि काजूको भन्छिन्‌: “हाम्रो दाम्पत्य जीवन बलियो भएको छ।”

त्यसोभए यस्ता परिस्थितिमा परिवार आनन्दित बनाउने तरिका के हो? एउटा कुरा, वैवाहिक जीवनमा सन्तुष्टि र आनन्द सन्तुलित बनाउने दम्पतिले दुईमध्ये एक जना बिरामी हुँदा बिरामी एक्लै होइन, दुवै जना एकसाथ समस्यामा परेको ठान्छन्‌। आखिर एक जना बिरामी हुँदा भिन्‍ना-भिन्‍नै तरिकामा भए तापनि दुवैलाई गहिरो असर पर्छ। पति-पत्नीबीचको यस्तो आपसी निर्भरताबारे उत्पत्ति २:२४ मा बताइएको छ: “मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” त्यसैले दम्पतीमध्ये एक जना जतिखेर पनि बिरामी भइरहँदा दुवैले मिलेर त्यो चुनौती सामना गर्नु अत्यावश्‍यक छ।

साथै, अनुसन्धानले के देखाउँछ भने दीर्घकालीन रोग लाग्दा असल सम्बन्ध कायम राख्ने दम्पतीहरू आफ्नो परिस्थिति स्वीकार्छन्‌ र त्यसैअनुरूप जीवनमा छाँटकाँट गर्ने प्रभावकारी तरिकाहरू सिक्छन्‌। परिस्थितिको सामना गर्न तिनीहरूले सिकेका सीपहरूले बाइबलमा पाइने चिरकालीन सल्लाह व्यक्‍त गर्छन्‌। यी तीन सल्लाह विचार गर्नुहोस्‌।

एक-अर्काप्रति विचार पुऱ्‍याउनुहोस्‌

उपदेशक ४:९ बताउँछ: “एकभन्दा दुई असल हो।” किन? पद १० यसो भन्छ: “किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्‌न सहायता गर्छ।” के तपाईं कृतज्ञता व्यक्‍त गर्दै आफ्नो ‘जोडीलाई उठाउनुहुन्छ?’

के तपाईंहरू आपसमा व्यावहारिक मदत दिने तरिका खोज्न सक्नुहुन्छ? योङकी पत्नीलाई आंशिक पक्षघात भएको छ। योङ भन्छन्‌: “म हरेक कुरामा श्रीमतीप्रति विचारशील हुने प्रयास गर्छु। मलाई तिर्खा लाग्दा उनलाई पनि तिर्खा लागेको हुनुपर्छ भन्‍ने लाग्छ। कतै गएर सुन्दर दृश्‍य हेर्ने इच्छा हुँदा उनलाई पनि सँगै जाने कि भनेर सोध्छु। हामी दुःख-सुख बाँड्‌छौं र सँगै परिस्थितिसित जुध्छौं।”

अर्कोतर्फ, यदि तपाईंले आफ्नो श्रीमान्‌ वा श्रीमतीबाट हेरचाह पाइरहनुभएको छ भने आफ्नो स्वास्थ्यमा हानी नहुनेगरि तपाईंले गर्न सक्ने केही छ कि? छ भने त्यो काम गर्दा तपाईंको आत्म-सम्मान बढ्‌न सक्छ र उनलाई तपाईंको हेरचाह गरिरहन मदत पुग्न सक्छ।

आफ्नो श्रीमान्‌ वा श्रीमतीप्रति विचार पुऱ्‍याउने सर्वोत्तम तरिका मलाई थाह छ भन्‍नुभन्दा के गरेको एकदमै मनपर्छ त्यसबारे उनैलाई सोधे कसो होला? सुरुमा उल्लेख गरिएकी सजिताले घरको आर्थिक स्थितिबारे थाह नपाउँदा कस्तो लाग्यो त्यो अन्ततः श्रीमान्‌लाई बताइन्‌। अहिले उनका श्रीमान्‌ यसबारे सकभर धेरै बताउने प्रयास गर्छन्‌।

यसो गरे कसो होला? हालको परिस्थिति अलि सजिलो बनाउन तपाईंको श्रीमान्‌ वा श्रीमतीले तपाईंको लागि के गर्न सक्छन्‌, त्यसबारे तपाईंले सोचेका तरिकाहरूको सूची बनाउनुहोस्‌। उनलाई पनि त्यस्तै सूची बनाउन लगाउनुहोस्‌। अनि सूची साटासाट गर्नुहोस्‌। व्यावहारिक तरिकामा लागू गर्न सकिने एउटा वा दुइटा सल्लाह तपाईंहरू दुवैले छनौट गर्नुपर्छ।

सन्तुलित तालिका बनाउनुहोस्‌

बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “सबै कुराको लागि समय छ।” (उपदेशक ३:१) दीर्घकालीन रोगले गर्दा परिवार अस्तव्यस्त हुने कुरा विचार गऱ्‍यो भने सन्तुलित तालिका कायम गर्नु असम्भव देखिन सक्छ। केही हदसम्म भए पनि सन्तुलित हुन तपाईं के गर्न सक्नुहुन्छ?

गम्भीर रोगको कुरालाई एकछिन पन्छाएर दुवैले गर्न सक्ने काममा ध्यान दिनुहोस्‌। बिरामी हुनुअघि सँगै गर्ने गरेका केही कामकुरा अझै गर्न सक्नुहुन्छ कि? सक्नुहुन्‍न भने, सँगै गर्न सक्ने कुनै नयाँ क्रियाकलाप छ कि? सायद यो क्रियाकलाप एकअर्काको लागि पढिदिनुजस्तो सजिलो वा नयाँ भाषा सिक्नुजस्तो चुनौतीपूर्ण पनि हुन सक्छ। रोगलाई बिर्सेर सँगै जीवनको आनन्द उठाउँदा तपाईंहरूको “एउटै जीउ”-को बन्धन बलियो हुनेछ र आनन्द बढ्‌नेछ।

सन्तुलन कायम गर्ने अर्को तरिका अरूसित सर-संगत गर्नु हो। बाइबलको हितोपदेश १८:१ मा यस्तो लेखिइएको छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।” अलग्गै बस्दा मनमा नकारात्मक प्रभाव पर्छ भनेर के तपाईंले यस पदमा याद गर्नुभयो? त्यसको विपरीत, समय-समयमा अरूसित संगत गर्दाचाहिं मनोबल बढ्‌न सक्छ र दृष्टिकोण ताजा बनाउन मदत मिल्न सक्छ। त्यसोभए, कसैलाई निम्त्याए कसो होला?

हेरचाह गर्ने श्रीमान्‌ वा श्रीमतीलाई सन्तुलित हुन कहिलेकाहीं गाह्रो हुन सक्छ। कतिपय अचाक्ली खट्‌छन्‌ र बिस्तारै शिथिल हुँदै जान्छन्‌ अनि आफ्नै स्वास्थ्य बिगार्छन्‌। अन्ततः तिनीहरू आफ्नो प्यारो श्रीमान्‌ वा श्रीमतीको हेरचाह गरिरहन नसक्नेसमेत हुन पुग्छन्‌। त्यसैकारण यदि तपाईं दीर्घकालीन रोग लागेको श्रीमान्‌ वा श्रीमतीको हेरचाह गर्दै हुनुहुन्छ भने आफ्नो व्यक्‍तिगत आवश्‍यकतालाई पनि बेवास्ता नगर्नुहोस्‌। स्फूर्ति पाउन नियमित तवरले एकान्तमा बस्न समय निकाल्नुहोस्‌। c महिलाले भरपर्दो महिला र पुरुषले भरपर्दो पुरुष साथीसितै समय-समयमा आफ्नो चिन्ता र फिक्रीबारे कुरा गर्नाले घाउमा मलहम लगाए जत्तिकै भएको कतिपयले पाएका छन्‌।

यसो गरे कसो होला? आफ्नो श्रीमान्‌ वा श्रीमतीको हेरचाह गर्दा सामना गर्नुपर्ने अवरोधहरूको सूची बनाउनुहोस्‌। त्यसपछि ती अवरोधहरू हटाउन वा अझ प्रभावकारी ढंगमा त्यसको सामना गर्न चाल्न सक्ने कदमहरूको सूची बनाउनुहोस्‌। बढ्‌तै खोजीनिती गर्नुको साटो आफूलाई सोध्नुहोस्‌: ‘परिस्थिति सुधार्ने सबैभन्दा सरल र प्रस्ट तरिका के हो?’

सकारात्मक दृष्टिकोण कायम राख्ने प्रयास गर्नुहोस्‌

बाइबल चेतावनी दिन्छ: “उहिले-उहिलेका दिन अहिलेका भन्दा किन असल थिए भनी नसोध।” (उपदेशक ७:१०) त्यसैले रोग नलागेको भए जीवन कस्तो हुने थियो भनी सोचिरहने नगर्नुहोस्‌। नबिर्सनुहोस्‌ यस संसारमा सबै खुसी कुनै न कुनै तरिकामा सीमित छ। आफ्नो परिस्थिति स्वीकार्नु र त्यसबाट सक्दो लाभ उठाउनु प्रमुख कुरा हो।

यस सन्दर्भमा तपाईं र तपाईंको श्रीमान्‌ वा श्रीमतीलाई केले मदत दिन सक्छ? पाएका आशिषहरू सँगै छलफल गर्नुहोस्‌। आफ्नो स्वास्थ्य अलिकता सुध्रिएकोमा समेत आनन्दित हुनुहोस्‌। आशा गर्न सकिने कुरा भेट्टाउनुहोस्‌ र हासिल गर्न सकिने लक्ष्य सँगै बनाउनुहोस्‌।

शोजी र आकिकोले माथिको सल्लाह लागू गरेर राम्रो परिणाम पाएका छन्‌। आकिकोलाई फ्राइबोमायालजिया (एक प्रकारको बाथरोग) भएको पत्ता लागेको केही समयपछि तिनीहरूले पूर्ण-समय सेवाको विशेष असाइनमेन्ट त्याग्नुपऱ्‍यो। के तिनीहरू दुःखी भए? दु:खी हुनु स्वभाविकै हो। तैपनि त्यस्तै परिस्थिति भोगिरहेकहरूलाई शोजी सुझाव दिन्छन्‌: “अबउसो गर्न नसकिने कुराबारे सोचेर आफूलाई निराश नबनाउनुहोस्‌। सकारात्मक दृष्टिकोण राख्नुहोस्‌। कुनै दिन जीवनमा पहिलाजस्तै सामान्य परिस्थिति आउला भन्‍ने तपाईंहरू दुवैले आशा गर्नुभएको भए तापनि जीवन अहिले जस्तो छ त्यसैमा ध्यान केन्द्रित गर्नुहोस्‌। मेरो लागि त्यसको अर्थ हो—मेरी श्रीमतीलाई ध्यान दिनु र उनलाई मदत गर्नु।” तपाईंको श्रीमान्‌ वा श्रीमतीलाई विशेष हेरविचारको खाँचो छ भने यस्तो व्यावहारिक सल्लाहले तपाईंलाई पनि मदत दिन सक्छ। ( w 09 11/01)

[फुटनोट]

a केही नाउँ परिवर्तन गरिएका छन्‌।

b यस लेखमा दम्पतीमध्ये एक जना जतिखेर पनि बिरामी भइरहने परिस्थितिबारे छलफल गरिएको छ। तथापि, दुर्घटनाको कारण भएको शारीरिक समस्या वा डिप्रेसनजस्ता भावनात्मक कठिनाइहरूको सामना गरिरहेका दम्पतीले पनि यस लेखमा छलफल गरिएका कुरा लागू गरेर मदत पाउन सक्छन्‌।

c तपाईंको परिस्थितिअनुसार स्वास्थ्यकर्मी वा उपलब्ध भएमा सामुदायिक स्वास्थ्य केन्द्रबाट केही मदत लिनु उचित हुन सक्छ।

आफैलाई सोध्नुहोस्‌ . . .

उनले र मैले अहिले गर्नुपर्ने कुरा के हो?

▪ रोगबारे धेरै कुरा गर्ने

▪ रोगबारे थोरै कुरा गर्ने

▪ कम चिन्ता गर्ने

▪ एकअर्कालाई अझ धेरै विचार गर्ने

▪ रोगलाई बिर्सेर एकअर्कालाई चासो दिने

▪ अरूसित धेरै सर-संगत गर्ने

▪ दुवै मिलेर लक्ष्यहरू राख्ने

[पृष्ठ १२-मा भएको चित्र]

जीवन सन्तुलित बनाउन के तपाईं सँगै आफ्ना सोख पूरा गर्न सक्नुहुन्छ?