सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल वास्तवमै परमेश्‍वरबाट प्रेरित वचन हो

बाइबल वास्तवमै परमेश्‍वरबाट प्रेरित वचन हो

बाइबल वास्तवमै परमेश्‍वरबाट प्रेरित वचन हो

बाइबल “परमेश्‍वरबाट प्रेरणा भएको” हो भन्दा प्रेरित पावल वास्तवमा के भन्‍न खोज्दै थिए? (२ तिमोथी ३:१६) तिनले युनानी भाषामा प्रयोग गरेको शब्दको शाब्दिक अर्थ हो: “परमेश्‍वरले सास हालिदिनुभयो।” उक्‍त शब्द प्रयोग गरेर पावलले परमेश्‍वरले बाइबल लेखकहरूलाई जे लेखाउन चाहनुहुन्थ्यो त्यो मात्र लेखाउन आफ्नो पवित्र आत्मा प्रयोग गर्नुभयो भन्‍न खोज्दै थिए।

यी बाइबल लेखकहरू “पवित्र आत्माबाट उत्तेजित भएर . . .  परमेश्‍वरका तर्फबाट बोल्दथिए” भनेर प्रेरित पत्रुसले बताए। (२ पत्रुस १:२१) त्यसैले त प्रेरित पावलले पनि बाइबलका पुस्तकहरूलाई “पवित्र लेखोटहरू . . . जसले ख्रीष्ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउनसक्‍तछ” भन्‍न सके।—२ तिमोथी ३:१५.

बाइबलका ग्रन्थकार परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा धेरै मानिस चर्को विवाद गर्छन्‌। आलोचकहरूले बाइबलको सत्यतामाथि घातक आक्रमण गरेका छन्‌ र अक्सर यो “बाइबल विवरणमाथिको घोर अनादर” हो भनेर पुरातत्त्वविद्‌ सर चार्ल्स मार्स्टनले बताए। कोही-कोही भने बाइबललाई “पुराना मिथ्या र परिकथाहरूको संग्रह” भनेर लत्याउँछन्‌।

प्रमाण जाँचेर निर्णय गर्नुहोस्‌

त्यसोभए बाइबललाई विश्‍वास गर्न सकिन्छ त? तपाईंले यस सम्बन्धमा सही निर्णय गर्नु महत्त्वपूर्ण छ। किन? बाइबलमा परमेश्‍वरले नै भनेका वाणीहरू छन्‌ भने बाइबललाई इन्कार गर्नु घातकै नभए तापनि मूर्खताचाहिं पक्कै हो। तपाईंले बाइबललाई परमेश्‍वरको वचन नभई मानिसको वचन ठान्‍नुभयो भने बाइबलबाट आफ्नो जीवनमा साँच्चै प्रभाव पार्न र विश्‍वास बलियो बनाउन सक्नुहुन्‍न।—१ थिस्सलोनिकी २:१३.

बाइबलमा भरोसा गर्ने कि नगर्ने, तपाईं कसरी निधो गर्न सक्नुहुन्छ? मानिसलाई भरोसा गर्ने कि नगर्ने भनेर तपाईं कसरी पक्का गर्नुहुन्छ? एउटा कुरा भने पक्का छ। तपाईंलाई जसको बारेमा एकदमै थोरै थाह छ तिनलाई साँच्चै भरोसा गर्नु एकदमै गाह्रो हुन्छ। मानिसहरू साँच्चै इमानदार र भरोसायोग्य छन्‌ भनेर समय बित्दै गएपछि मात्र थाह पाउनुहुन्छ। बाइबलको सन्दर्भमा पनि त्यसै भन्‍न सकिन्छ। बाइबलप्रतिको विश्‍वासलाई भित्रभित्रै खोक्रो पार्ने अनुमानित तथा द्वेषपूर्ण सिद्धान्तहरूमाथि खुरुखुरु विश्‍वास नगर्नुहोस्‌। बाइबल “परमेश्‍वरबाट प्रेरणा भएको” हो भन्‍ने यसको दाबीलाई समर्थन गर्ने प्रमाणहरू जाँच्न समय निकाल्नुहोस्‌।

“मित्र भनौदाहरूबाटै” आक्रमण

बाइबलका “मित्र” हौं भन्‍नेहरूले समेत बाइबलको सत्यता र विश्‍वासनीयतामा आक्रमण गरेको देखेर निराश नहुनुहोस्‌। धर्मसम्बन्धी एउटा शब्दकोशअनुसार ( New Dictionary of Theology) ख्रीष्टियान भनेर दाबी गरे तापनि आज बाइबलका प्रायः टिप्पणीकारले “बाइबल मानिसको उपजसिवाय अरू केही होइन भन्छन्‌।”

बाइबलको ग्रन्थकार वास्तवमा को हो भन्‍नेबारे थुप्रै धर्मविद्‌ वादविवाद गर्छन्‌। उदाहरणको लागि यशैयाको पुस्तक यशैया अगमवक्‍ता आफैले लेखेका थिएनन्‌ भनेर कसै-कसैले भन्‍ने गर्छन्‌। तिनीहरूको भनाइअनुसार यशैया मरेको धेरैपछि उक्‍त पुस्तक लेखिएको थियो। एउटा पुस्तकले ( Concise Bible Commentary by Lowther Clarke) यस्तो दाबी गरेको छ:- “धेरै पुस्ताका थुप्रै मानिसले यो पुस्तक लेखेका हुन्‌।” त्यसो हो भने येशू र उहाँका चेलाहरूले बारम्बार यशैयालाई उक्‍त पुस्तकको लेखकको श्रेय दिनुलाई यस्तो दाबीले बेवास्ता गरेको छ।—मत्ती ३:३; १५:७; लूका ४:१७; यूहन्‍ना १२:३८-४१; रोमी ९:२७, २९.

योभन्दा पनि नराम्रो कुरा त, टिप्पणीकार जे. आर. डमेलोजस्ता बाइबलका आलोचकहरूको भनाइअनुसार दानियलको पुस्तकमा पाइने भविष्यवाणीहरू “वास्तवमा भविष्यवाणी नभई इतिहासमा भइसकेका त्यस्ता घटनाहरू हुन्‌ जसलाई लेखकले भविष्यवाणीजस्तै गरी प्रस्तुत गरे।” त्यसो भनेर फेरि पनि तिनीहरूले येशू ख्रीष्ट आफैले दिएको प्रमाणलाई बेवास्ता गर्छन्‌। येशूले “दानियल अगमवक्‍ताबाट बोलिएको उजाड गर्ने घृणित कुरा पवित्र स्थानमा खडा भएको” देख्नेछौं भनेर चेतावनी दिनुभएको थियो। (मत्ती २४:१५) येशू ख्रीष्टले पनि इतिहासलाई भविष्यवाणीसरह प्रस्तुत गर्नेहरूसित मिलेमतो गर्दै मानिसहरूलाई झुक्याउनुभयो भनेर ख्रीष्टियानहरूले विश्‍वास गर्नु के उचित हो? कदापि होइन।

कुनै फरक पार्छ?

तपाईं सोध्नुहोला, “तर बाइबलका पुस्तकहरू जसले लेखे पनि के यसले साँच्चै कुनै फरक पार्छ र?” पार्छ, ठूलै फरक पार्छ। साथीको अन्तिम इच्छापत्र भन्ठानिएको कागजात वास्तवमा साथीले बनाएकै होइन रहेछ भनेर थाह पाउनुभयो भने त्यो कागजातमा तपाईं कत्तिको विश्‍वास गर्नुहुन्छ? मानिलिनुहोस्‌ विशेषज्ञहरूले तपाईंलाई भने, ‘त्यो कागजात किर्ते हो; तपाईंको साथीको अन्तिम इच्छा त्यस्तै हो भन्ठानेर शुभचिन्तकहरूले लेखिदिएका हुन्‌।’ अब उक्‍त कागजात केही कामको भयो त? अनि त्यो कागजातमा साथीका इच्छाहरू साँच्चै लेखिएका छन्‌ भनेर के तपाईं निर्धक्क हुनुहुन्छ?

बाइबलबारे पनि यसै भन्‍न सकिन्छ। ख्रीष्टियान हुँ भनेर दाबी गर्नेहरूलगायत थुप्रै मानिसले इमानदारी, यौन-सम्बन्धमा हुनुपर्ने नैतिकता र यस्तै अन्य कुराबारे बाइबलको धारणा निस्सङ्‌कोच इन्कार गर्नु कुनै अचम्मलाग्दो कुरा होइन। यसको मोल नै छैन जस्तोगरि मानिसहरूले नाक चेप्राउँदै “त्यो त पुरानो नियममा पो छ” भनेको तपाईंले अक्सर सुन्‍नुभएकै होला। प्रेरित पावलले पुरानो नियमलाई “परमेश्‍वरबाट प्रेरणा भएको” “पवित्र लेखोट” भने तापनि तिनीहरू त्यसो भन्छन्‌।

तपाईं प्रतिरोध गर्नुहोला: “वास्तवमा त्यत्तिका विशेषज्ञ र विद्वान्‌हरूले पेस गरेका प्रमाणलाई त्यसै पन्छाउनु भएन नि।” हो, पटक्कै हुँदैन! जस्तै:- बाइबलको मूल लेखोट पत्ता लगाउन हामीलाई मदत गर्ने इमानदार विद्वान्‌हरूप्रति हामी ऋणी छौं। हो, शताब्दिऔंसम्म बाइबलका प्रतिहरू उतार्दा सानातिना गल्तीहरू नभएका होइनन्‌। तर नबिर्सनुहोस्‌ बाइबलका प्रतिहरू उतार्दा स-साना गल्ती भए भनेर स्वीकार्नु र बाइबल जालसाजीको उपज हो भनेर त्यसलाई नकार्नुमा ठूलो भिन्‍नता छ।

“पवित्र लेखोट”-प्रति विश्‍वास कायम राख्नुहोस्‌

बाइबल परमेश्‍वरबाट प्रेरणा भएको हो भन्‍नुअघि यस्तो प्रेरणा भएको लेखोट अत्यावश्‍यक हुनुको कारण पावलले तिमोथीलाई बताए। पावलले भने: “आखिरी दिनमा . . . खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌-झन्‌ खराब हुँदै जानेछन्‌।” (२ तिमोथी ३:१, १३) पावलको समयमा नै ‘ज्ञानी र बुद्धिमान्‌’ देखिनेहरूले मानिसहरूलाई छलेर येशूप्रतिको विश्‍वास कमजोर पार्न “फकाइफुस्लाइको बात” प्रयोग गरिरहेका थिए। (१ कोरिन्थी १:१८, १९; कलस्सी २:४, ८) तिनीहरूको प्रभावबाट सुरक्षित रहन परमेश्‍वरले दिएको “पवित्र लेखोटहरू”-बाट ‘बाल्यकालदेखि जानेका’ कुराहरूमा लागिरहन प्रेरित पावलले तिमोथीलाई जोडदार आग्रह गरे।—२ तिमोथी ३:१४, १५.

यो “आखिरी दिनमा” तपाईंले पनि तिमोथीले जस्तै गर्नु त्यत्तिकै महत्त्वपूर्ण छ। एकदमै धूर्त मानिसहरूको “फकाइफुस्लाइको बातले” बहकाउन सक्ने खतरालाई हल्कासित नलिनुहोस्‌। बरु, प्रथम शताब्दीका ख्रीष्टियानहरूले जस्तै परमेश्‍वरबाटै प्रेरणा भएको वचन बाइबलबाट तपाईंले जे सिक्नुभएको छ त्यसमा पूरा भरोसा गरेर आफैलाई सुरक्षित पार्नुहोस्‌।

बाइबलमा तपाईंको विश्‍वास बढाउन यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न तयार छन्‌। जस्तै:- इतिहासको जुनसुकै पाटोमा बाइबल सिद्धान्तहरू भरोसायोग्य भएको; विज्ञानको क्षेत्रमा कुरा गर्दा बाइबल विज्ञानसित सहमत भएको; बाइबल सुरुदेखि अन्तसम्म पूर्णरूपले मेल खाएको; बाइबलका भविष्यवाणीहरू दुरुस्तै पूरा भएको र त्यस्तै अरू थुप्रै कुरा तिनीहरूले तपाईंलाई देखाउन सक्छन्‌। बाइबल साँच्चै परमेश्‍वरको वचन हो भनेर बुझ्न लाखौं नम्र मानिसलाई मदत गरेको जानकारी पाउन चाहनुहुन्छ भने यस पत्रिकाका प्रकाशकलाई अप्ठ्यारो नमानी पत्र लेख्नुहोस्‌। ( w10-E 03/01)

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

मानिसहरूलाई भरोसा गर्ने कि नगर्ने भनेर तपाईं कसरी पक्का गर्नुहुन्छ?

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

बाइबलको मूल लेखोट पत्ता लगाउन हामीलाई मदत गर्ने इमानदार विद्वान्‌हरूप्रति हामी ऋणी छौं