एफिसी ४:१-३२

  • ख्रिष्टको शरीरमा एकता (१-१६)

    • वरदानको रूपमा पुरुषहरू ()

  • पुरानो र नयाँ व्यक्‍तित्व (१७-३२)

 त्यसकारण म, जो प्रभुको खातिर कैदमा छु,+ तिमीहरूलाई बिन्ती गर्छु कि तिमीहरू आफूले पाएको बोलावटको योग्य जीवन बिताओ।+ २  सधैँ नम्र+ र कोमल भएर, धीरज धरेर,+ प्रेम देखाउँदै+ एकअर्कालाई सहेर ३  अनि शान्तिको बन्धनमा बाँधिएर+ पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास गरिरहो। ४  शरीर एउटै छ,+ पवित्र शक्‍ति पनि एउटै छ,+ जसरी तिमीहरू जुन आशाको निम्ति+ बोलाइएका थियौ, त्यो पनि एउटै छ। ५  एकै जना प्रभु,+ एउटै विश्‍वास, एउटै बप्तिस्मा ६  अनि सबै जनाका परमेश्‍वर र बुबा पनि एकै जना, जो सबैभन्दा माथि हुनुहुन्छ अनि जसले सबैद्वारा र सबैमा काम गर्नुहुन्छ। ७  ख्रिष्टले हरेकलाई जुन नापअनुसार सित्तैँमा वरदान दिनुभएको छ,+ त्यसैअनुसार हामी हरेकलाई असीम अनुग्रह देखाइएको छ। ८  त्यसैले धर्मशास्त्र यसो भन्छ: “उहाँ जब माथि उक्लनुभयो, तब कैदीहरूलाई आफूसित लैजानुभयो। उहाँले वरदानको रूपमा पुरुषहरू+ दिनुभयो।” ९  “उहाँ माथि उक्लनुभयो” भन्‍नुको अर्थ के हो? यही कि उहाँ तल अर्थात्‌ पृथ्वीमा ओर्लनुभएको थियो। १०  जो तल ओर्लनुभयो, उहाँ नै सबथोकलाई परिपूर्ण बनाउन सारा स्वर्गभन्दा धेरै माथि+ उक्लनुभयो।+ ११  उहाँले कसैलाई प्रेषित,+ कसैलाई भविष्यवक्‍ता,+ कसैलाई प्रचारक,*+ कसैलाई गोठालो र शिक्षक+ नियुक्‍त गर्नुभयो १२  ताकि पवित्र जनहरूलाई सच्याउन* सकियोस्‌, तिनीहरूले सेवाको काम गरून्‌ र ख्रिष्टको शरीर तबसम्म बढ्‌दै जाओस्‌,+ १३  जबसम्म हामी सबैले विश्‍वासमा र परमेश्‍वरको छोराको सही ज्ञानको विषयमा एकरूपता* हासिल गरिसक्दैनौँ र पूरै हुर्किसकेको* मानिस+ भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग्दैनौँ। १४  फलस्वरूप अब उप्रान्त हामी यस्ता बालकहरू नहोऔँ, जसलाई हरकिसिमका शिक्षा,+ मानिसहरूको छल र धूर्ततापूर्वक रचिएका षड्‌यन्त्रहरूको छालले उछालपछार गरेर यताउता हुर्ऱ्याउँछ। १५  तर सत्य बोल्दै शिर अर्थात्‌ ख्रिष्टको+ अधीनमा बसेर हामी प्रेमद्वारा सबै कुरामा बढ्‌दै जाऔँ। १६  उहाँद्वारा नै शरीरको हरेक अङ्‌ग+ आपसमा राम्ररी गाँसिएको छ र हरेक जोर्नीले आपसी तालमेल मिलाएर आ-आफ्नो महत्त्वपूर्ण भूमिका पूरा गर्छ। जब शरीरको हरेक अङ्‌गले राम्ररी काम गर्छ, तब सम्पूर्ण शरीर प्रेममा एकसाथ बढ्‌दै जान्छ।+ १७  त्यसकारण प्रभुको नाममा म तिमीहरूलाई यो भन्छु र साक्षी दिन्छु कि अबदेखि तिमीहरू अन्यजातिका मानिसहरूजस्तो+ आफ्नो बेकारको* सोचाइअनुसार+ चल्ने नगर। १८  तिनीहरूमा भएको अज्ञानताले अनि तिनीहरूको हृदयको बोधोपनले गर्दा तिनीहरूको दिमाग अन्धकारमा छ अनि परमेश्‍वरले दिनुहुने जीवनबाट तिनीहरू टाढा भएका छन्‌। १९  तिनीहरूले सबै नैतिक चेतना गुमाइसकेका हुनाले आफैलाई निर्लज्ज आचरणमा*+ सुम्पे र हरकिसिमका अशुद्ध कामहरू गरिरहनुका साथै त्यसको लालसा गरे। २०  तर तिमीहरूले ख्रिष्टबारे यस्तो कुरा त सिकेका थिएनौ। २१  येसुले सत्य सिकाउनुभएको थियो। यदि तिमीहरूले साँच्चै उहाँको कुरा सुनेका छौ र उहाँबाट सिकाइएका छौ भने तिमीहरूले यो कुरा राम्ररी बुझेका छौ। २२  तिमीहरूलाई यही सिकाइएको थियो कि तिमीहरूले आफ्नो पुरानो व्यक्‍तित्वलाई फुकाल्नुपर्छ,+ जुन तिमीहरूको पहिलेको आचरणसित मेल खान्छ अनि जुन त्यसको भ्रामक इच्छाले गर्दा+ भ्रष्ट भइरहेको छ। २३  अनि तिमीहरूले आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ*+ २४  र नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ,+ जुन धार्मिकता* अनि वफादारीको मागबमोजिम परमेश्‍वरको इच्छाअनुसार सृष्टि भएको थियो। २५  यसकारण तिमीहरूले छलकपट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल+ किनकि हामी एउटै शरीरका विभिन्‍न अङ्‌ग हौँ।+ २६  क्रोध गर तर पाप नगर;+ घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्‌;+ २७  दियाबललाई मौका नदेओ।+ २८  चोर्नेले फेरि नचोरोस्‌ बरु उसले परिश्रम गरोस्‌ र आफ्नै हातले असल काम गरोस्‌+ ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्‌।+ २९  तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्‌+ बरु आवश्‍यकताअनुसार अरूको उत्थान गर्ने असल वचन निस्कोस्‌ ताकि सुन्‍नेहरूलाई त्यसबाट फाइदा होस्‌।+ ३०  साथै परमेश्‍वरको पवित्र शक्‍तिलाई दुःखी नबनाओ,+ जसद्वारा तिमीहरू त्यस दिनको लागि छाप लगाइएका छौ,+ जुन दिन फिरौतीद्वारा तिमीहरूलाई मुक्‍त गरिनेछ।+ ३१  हरकिसिमको कटुता,+ रिस, क्रोध, चिच्याउने बानी र दुर्वचनका+ साथै हानि गर्ने सबै कुरा+ त्याग। ३२  बरु एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा+ देखाओ। त्यसैगरि परमेश्‍वरले ख्रिष्टमार्फत तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि एकअर्कालाई खुला मनले क्षमा गर।+

फुटनोटहरू

वा “सुसमाचारको उद्‌घोषक।”
वा “तालिम दिन।”
वा “एकता।”
वा “परिपक्व।”
वा “खोक्रो; निरर्थक।”
वा “छाडा आचरणमा।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।
वा “दिमागलाई नयाँ मनोभावद्वारा उत्प्रेरित गरिरहनुपर्छ।”
शब्दावली हेर्नुहोस्‌।