कलस्सी ३:१-२५

  • पुरानो र नयाँ व्यक्‍तित्व (१-१७)

    • शरीरका अङ्‌गहरूलाई मार ()

    • प्रेम—पूर्ण एकतामा गाँस्ने बन्धन (१४)

  • ख्रिष्टियन परिवारको लागि सल्लाह (१८-२५)

 तर यदि तिमीहरू ख्रिष्टसितै ब्युँताइएका थियौ भने+ माथिका कुराहरू खोजिरहो, जहाँ ख्रिष्ट, परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभएको छ।+ २  तिमीहरू माथिका कुराहरूमा ध्यान देओ,+ पृथ्वीका कुराहरूमा होइन।+ ३  किनकि तिमीहरू मरिसक्यौ र परमेश्‍वरको इच्छाअनुसार ख्रिष्टमा तिमीहरूको जीवन लुकाइएको छ। ४  जब हाम्रो जीवनको अर्थात्‌ ख्रिष्टको+ महिमा प्रकट हुनेछ, तब उहाँसँगै तिमीहरूको महिमा पनि प्रकट हुनेछ।+ ५  त्यसकारण पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार,+ जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध,* अशुद्धपन, अनियन्त्रित कामवासना,+ खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो। ६  यी नै कुराहरूले गर्दा परमेश्‍वरले आफ्नो क्रोध पोखाउँदै हुनुहुन्छ। ७  तिमीहरू पनि पहिले यी नै कुराहरू गर्थ्यौ र तिमीहरूको जीवनशैली त्यस्तै थियो।+ ८  तर अब यी सबै कुराबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी,+ दुर्वचन+ अनि मुखबाट निस्कने अश्‍लील बोली।+ ९  एकअर्कालाई नढाँट।+ पुरानो व्यक्‍तित्वलाई* त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ+ १०  अनि परमेश्‍वरले दिनुहुने नयाँ व्यक्‍तित्व धारण गर+ र त्यसलाई सही ज्ञानद्वारा परमेश्‍वरको प्रतिरूपअनुसारको नयाँ बनाउँदै जाओ,+ ११  जसमा न कोही ग्रीक हुन्छ न कोही यहुदी, न खतनावाल न बेखतना, न विदेशी न सिथियन,* न दास न स्वतन्त्र मानिस तर ख्रिष्ट नै सबै थोक हुनुहुन्छ र सबैमा हुनुहुन्छ।+ १२  त्यसैगरि परमेश्‍वरका चुनिएका,+ पवित्र अनि प्यारा जनहरूको रूपमा कोमल करुणा,+ दया, नम्रता,+ कोमलता+ र धीरज धारण गर।+ १३  यदि कसैको विरुद्धमा केही गुनासो छ भने+ पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।+ यहोवा* परमेश्‍वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।+ १४  तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर+ किनकि यो मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।+ १५  साथै ख्रिष्टको शान्तिले तिमीहरूको हृदयमा राज गरोस्‌*+ किनकि तिमीहरू एउटै शरीर बन भनेर यही शान्तिको निम्ति बोलाइएका थियौ। अनि तिमीहरू कृतज्ञ छौ भनी देखाओ। १६  ख्रिष्टको वचनले तिमीहरूमा प्रशस्तगरि बास गरोस्‌ र यसरी तिमीहरू सारा बुद्धिले परिपूर्ण होओ। तिमीहरू भजन,+ परमेश्‍वरको स्तुतिगान र मनैदेखि कृतज्ञ हुँदै आध्यात्मिक गीतहरू* गाएर एकअर्कालाई सिकाइरहो र प्रोत्साहन दिइरहो* अनि मनमनै यहोवा* परमेश्‍वरको निम्ति गाइरहो।+ १७  तिमीहरू जे बोल्छौ वा गर्छौ, सबै कुरा प्रभु येसुको नाममा गर अनि उहाँद्वारा परमेश्‍वर, हाम्रा बुबालाई धन्यवाद चढाइरहो।+ १८  हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस+ किनकि ख्रिष्टका चेलाहरूले यसै गर्नु उचित हो। १९  हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो+ अनि तिनीसित रिसले चूर नहोओ।*+ २०  हे छोराछोरी हो, सबै कुरामा आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ। २१  हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्‌याओ*+ ताकि तिनीहरू हताश* नहोऊन्‌। २२  हे दासहरू हो, सबै कुरामा आफ्ना मानव मालिकहरूप्रति आज्ञाकारी होओ,+ मानिसहरूलाई खुसी पार्न तिनीहरूको आँखाको अगाडि मात्र होइन तर यहोवा* परमेश्‍वरको डर मान्दै निष्कपट हृदयले त्यसो गर। २३  चाहे तिमीहरू जेसुकै गर, मानिसको लागि जस्तैगरि होइन तर यहोवा* परमेश्‍वरको लागि जस्तैगरि तनमनले गर+ २४  किनकि तिमीहरूलाई थाह छ, यहोवा* परमेश्‍वरबाटै तिमीहरूले इनामस्वरूप उत्तराधिकार पाउनेछौ।+ आफ्ना मालिक ख्रिष्टको दास बनेर सेवा गर। २५  जसले गल्ती गर्छ, उसले पक्कै पनि आफ्नो गल्तीको सजाय पाउनेछ।+ कुनै पक्षपात हुनेछैन।+

फुटनोटहरू

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।
शा., “मानिसलाई।”
“सिथियन” शब्दले असभ्य मानिसहरूलाई जनाउँथ्यो।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “तिमीहरूको हृदयलाई नियन्त्रण गरोस्‌।”
वा “उपासनाका गीतहरू।”
वा “सम्झाइरहो।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “तिनलाई कठोर व्यवहार नगर।”
वा “रिस नउठाओ; दिक्क नपार।”
वा “निराश।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।