मत्तिका अनुसार १:१-२५

  • येसु ख्रिष्टको वंशावली (१-१७)

  • येसुको जन्म (१८-२५)

 अब्राहामका छोरा,+ दाउदका छोरा+ येसु ख्रिष्टको* वंशावली:  २  अब्राहामबाट इसहाक जन्मिए;+इसहाकबाट याकुब जन्मिए;+याकुबबाट यहुदा+ र तिनका दाजुभाइ जन्मिए;  ३  यहुदाबाट तामारले पेरेज र जेरहलाई जन्माइन्‌;+पेरेजबाट हेस्रोन जन्मिए;+हेस्रोनबाट राम जन्मिए;+  ४  रामबाट अम्मिनादाब जन्मिए;अम्मिनादाबबाट नहसोन जन्मिए;+नहसोनबाट साल्मोन जन्मिए;  ५  साल्मोनबाट राहाबले बोअजलाई जन्माइन्‌;+बोअजबाट रुथले ओबेदलाई जन्माइन्‌;+ओबेदबाट यिसै जन्मिए;+  ६  यिसैबाट राजा दाउद जन्मिए।+दाउदबाट उरियाहकी पत्नीले सुलेमानलाई जन्माइन्‌;+  ७  सुलेमानबाट रहबाम जन्मिए;+रहबामबाट अबियाह जन्मिए;अबियाहबाट आसा जन्मिए;+  ८  आसाबाट यहोसापात जन्मिए;+यहोसापातबाट यहोराम जन्मिए;+यहोरामबाट उज्जियाह जन्मिए;  ९  उज्जियाहबाट योताम जन्मिए;+योतामबाट आहाज जन्मिए;+आहाजबाट हिजकियाह जन्मिए;+ १०  हिजकियाहबाट मनस्से जन्मिए;+मनस्सेबाट अमोन जन्मिए;+अमोनबाट योसियाह जन्मिए;+ ११  यहुदीहरूलाई बन्दी बनाएर बेबिलोन लगिएको बेला+ योसियाहबाट+ येकोनिया+ र तिनका दाजुभाइ जन्मिए। १२  बेबिलोनमा येकोनियाबाट सालतिएल जन्मिए;सालतिएलबाट यरुबाबेल जन्मिए;+ १३  यरुबाबेलबाट अबिउद जन्मिए;अबिउदबाट एलियाकिम जन्मिए;एलियाकिमबाट आजोर जन्मिए; १४  आजोरबाट सादोक जन्मिए;सादोकबाट आखिम जन्मिए;आखिमबाट एलिउद जन्मिए; १५  एलिउदबाट एलियाजार जन्मिए;एलियाजारबाट मत्थान जन्मिए;मत्थानबाट याकुब जन्मिए; १६  याकुबबाट युसुफ जन्मिए, जो मरियमका पति थिए। यिनै मरियमले येसुलाई जन्माइन्‌,+ जो ख्रिष्ट कहलाइनुभयो।+ १७  यसरी सबै गरेर अब्राहामदेखि दाउदसम्म १४ पुस्ता, दाउददेखि यहुदीहरूलाई बन्दी बनाएर बेबिलोन लगिएको समयसम्म १४ पुस्ता र यहुदीहरूलाई बेबिलोन लगिएको समयदेखि ख्रिष्टसम्म १४ पुस्ता भयो। १८  येसु ख्रिष्टको जन्म यसरी भयो। उहाँकी आमा मरियमको युसुफसित मगनी भएको थियो तर तिनीहरूको विवाह हुनुअघि नै पवित्र शक्‍तिद्वारा* तिनी गर्भवती भइन्‌।+ १९  तर तिनका पति युसुफ धर्मी मानिस भएकोले तिनको बेइज्जत गर्न चाहँदैनथे। त्यसैले उनले गुप्तमै तिनीसित सम्बन्धविच्छेद गर्ने निधो गरे।+ २०  यी कुराहरू विचार गरिसकेपछि उनी निदाए र हेर! यहोवा* परमेश्‍वरका स्वर्गदूत सपनामा उनीकहाँ आएर यसो भने: “हे दाउदको छोरा युसुफ, मरियमसित विवाह गर्न* नडराऊ! किनभने तिनी पवित्र शक्‍तिद्वारा गर्भवती भएकी हुन्‌।+ २१  तिनले एउटा छोरा जन्माउनेछिन्‌ र तिमीले उहाँको नाम येसु* राख्नू+ किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”+ २२  वास्तवमा यी सबै कुरा यहोवा* परमेश्‍वरले आफ्नो भविष्यवक्‍ताद्वारा भन्‍नुभएको यो वचन पूरा हुनलाई भएको थियो: २३  “हेर! कन्या गर्भवती हुनेछिन्‌ र एउटा छोरा जन्माउनेछिन्‌ र तिनीहरूले उहाँको नाम इम्मानुएल राख्नेछन्‌,”+ जसको अर्थ हो, “परमेश्‍वर हामीसित हुनुहुन्छ।”+ २४  तब युसुफ निद्राबाट ब्युँझे र उनले यहोवा* परमेश्‍वरको स्वर्गदूतले भनेझैँ आफ्नी पत्नीलाई घरमा ल्याए। २५  तर छोरा नजन्मेसम्म युसुफले आफ्नी पत्नीसित यौनसम्बन्ध राखेनन्‌+ र युसुफले बालकको नाम येसु राखे।+

फुटनोटहरू

वा “मसीहको; अभिषिक्‍त जनको।”
वा “सक्रिय शक्‍तिद्वारा।”
यस अनुवादको ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्‍वरको नाम ‘यहोवा’ २३७ ठाउँमा उल्लेख गरिएको छ र यो पहिलो ठाउँ हो। अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शा., “तिम्री पत्नी मरियमलाई घर ल्याउन।”
यो हिब्रू नाम यसुआ वा यहोसुसित मिल्दोजुल्दो छ, जसको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।