सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

टेलिभिजन अनि रेडियोमार्फत अधिवेशनको कार्यक्रम प्रसारण

टेलिभिजन अनि रेडियोमार्फत अधिवेशनको कार्यक्रम प्रसारण

अगस्त १, २०२१

 सन्‌ २०२० को अधिवेशन ऐतिहासिक थियो किनभने पहिलो पटक संसारभरि नै अधिवेशनको कार्यक्रम रेकर्ड गरेर इन्टरनेटमार्फत उपलब्ध गराइएको थियो। तर मलावी र मोजाम्बिकका हाम्रा भाइबहिनीहरूले इन्टरनेटविना नै अधिवेशनको कार्यक्रम हेर्न सक्नुभयो। कसरी?

 परिचालक निकायको संयोजन समिति र शिक्षण समितिले मलावी र मोजाम्बिकमा रेडियो अनि टेलिभिजनमार्फत अधिवेशनको कार्यक्रम प्रसारण गर्ने अनुमति दियो। यसो गर्नु किन आवश्‍यक थियो? मलावीमा इन्टरनेट एकदमै महँगो छ त्यसैले त्यहाँ केही साक्षीहरूसित मात्र इन्टरनेटको सुविधा छ। मलावीको शाखा समितिका सदस्य भाइ विलियम चुम्बि यसो भन्‍नुहुन्छ: “यो आध्यात्मिक भोजन भाइबहिनीहरूसम्म पुऱ्‍याउने एक मात्र तरिका भनेको रेडियो र टेलिभिजन नै थियो।” मलावीको शाखा समितिमा सेवा गर्ने अर्को भाइ लुका सिबेको यसो भन्‍नुहुन्छ: “हामीले रेडियो अनि टिभीमार्फत यी कार्यक्रमहरू हेर्न नसकेको भए हाम्रो इलाकाका थोरै भाइबहिनीले मात्र यो अधिवेशनबाट लाभ उठाउनु हुने थियो।” मोजाम्बिकमा पनि केही भाइबहिनीले मात्र अधिवेशन कार्यक्रम हेर्न सकिने डिभाइस किन्‍न सक्नुहुन्थ्यो।

उहाँहरूको लागि कस्तो प्रबन्ध मिलाइयो?

 कोभिड-१९ महामारीको कारण केही ठाउँमा पहिल्यैदेखि टेलिभिजन अनि रेडियो स्टेसनहरूमार्फत मण्डलीका सभाहरू प्रसारण गरिँदै थियो। * हाम्रा भाइहरूले अधिवेशन पनि प्रसारण गर्न स्टेसनमा सम्पर्क गरे अनि प्रसारण गर्ने समय लम्ब्याउन अनुमति मागे।

 तर मलावीमा हाम्रा भाइहरूले एउटा चुनौतीको सामना गरे। प्रायः प्रसारण गर्ने स्टेसनहरूले आफ्ना ग्राहकहरूलाई एक घण्टासम्मको लागि मात्र प्रसारण गर्न दिन्छन्‌ किनभने कार्यक्रम लामो हुँदा श्रोताको ध्यान खिचिरहन सकिँदैन भनेर तिनीहरू चिन्ता गर्छन्‌। तर भाइहरूले हाम्रो कामले समाजमा फाइदा पुऱ्‍याउँछ, लकडाउनको बेला पनि हामीले मानिसहरूलाई बाइबलबाट सान्त्वनादायी सुसमाचार सुनाउँदै छौँ अनि यसले उनीहरूलाई असल नागरिक बन्‍न र सुखी पारिवारिक जीवन बिताउन मदत गर्छ भनेर बुझाए। यो कुरा सुनेपछि ती स्टेसनहरूले प्रसारणको समय लम्ब्याउने भाइहरूको आग्रह स्विकारे।

 मलावीमा अधिवेशनको कार्यक्रम एउटा टेलिभिजन स्टेसन र एउटा रेडियो स्टेसनमार्फत देशभरि प्रसारण गरियो। त्यसैले लाखौँ मानिसहरूले ती कार्यक्रमहरू हेर्न अनि सुन्‍न सक्थे। अनि मोजाम्बिकमा एउटा टेलिभिजन स्टेसन र ८५ वटा रेडियो स्टेसनमार्फत अधिवेशन प्रसारण गरियो।

 दुवै देशमा प्रसारण गर्न लागेको कुल खर्च हिसाब गर्दा टेलिभिजनबाट प्रसारण गर्न कुल २८,२२७ अमेरिकी डलर (करिब ३३ लाख ९२ हजार नेपाली रुपैयाँ) अनि रेडियोबाट प्रसारण गर्न लगभग २०,००० अमेरिकी डलर (करिब २४ लाख नेपाली रुपैयाँ) लाग्यो। रेडियोबाट प्रसारण गर्दा स-साना स्टेसनको लागि लगभग १५ अमेरिकी डलरदेखि (करिब १८ सय नेपाली रुपैयाँ) देशभरि प्रसारण गर्न सकिने खालको स्टेसनको लागि लगभग २,७७७ अमेरिकी डलरसम्म (करिब ३ लाख ३३ हजार नेपाली रुपैयाँ) खर्च भयो।

 अनुदानको राम्ररी प्रयोग गर्न भाइहरूले धेरै मेहनत गर्नुभयो। उदाहरणको लागि, मलावीमा भाइहरूले कम खर्चमा प्रसारण गर्न कुरा मिलाउनुभयो। त्यसैले एक ठाउँमा त उहाँहरूले ३० प्रतिशत छुट पनि पाउनुभयो। यस्ता छुटहरूले गर्दा कुल १,७११ अमेरिकी डलरको (करिब २ लाख नेपाली रुपैयाँ) बचत भयो। मोजाम्बिकमा हामीले इमानदारी अनि ठीक समयमा पैसा तिर्ने सन्दर्भमा राम्रो नाम कमाएकोले केही स्टेसनले कम पैसामा प्रसारण गर्न छुट दिए।

कृतज्ञताका शब्दहरू

 हाम्रा भाइबहिनीहरू स्थानीय स्टेसनहरूमार्फत अधिवेशनको कार्यक्रम सुन्‍न वा हेर्न पाएकोमा निकै कृतज्ञ हुनुहुन्छ। मलावीका एक जना एल्डर प्याट्रिक यसो भन्‍नुहुन्छ: “महामारीको दौडान हाम्रो लागि विशेष प्रबन्ध मिलाउनुभएकोमा हामी परिचालक निकायका भाइहरूलाई कृतज्ञता व्यक्‍त गर्न चाहन्छौँ।” मलावीका अर्का एक भाइ आइज्याक यसो भन्‍नुहुन्छ: “हामीसँग अरू कुनै साधन छैन त्यसैले रेडियोमा अधिवेशनको कार्यक्रम सुनाउन यहोवाको सङ्‌गठनले गरेको विशेष प्रबन्धको लागि हामी निकै आभारी छौँ। यो प्रबन्धले गर्दा मेरो पूरै परिवारले अधिवेशनबाट लाभ उठाउन सक्यो। यसबाट हामीले यहोवा आफ्ना जनहरूलाई कत्ति प्रेम गर्नुहुन्छ भनेर देख्न सक्यौँ।”

 मोजाम्बिकका एक प्रकाशक भाइको लागि सन्‌ २०२० को अधिवेशन पहिलो अधिवेशन थियो। उहाँ यसो भन्‍नुहुन्छ: “टिभीमा अधिवेशनको कार्यक्रम हेर्न मिलाइएको प्रबन्धबाट मैले यहोवा साँच्चै सर्वशक्‍तिमान्‌ हुनुहुन्छ भनेर बुझ्न सकेँ। हामीलाई आध्यात्मिक भोजन खुवाउन अनि घरको कोठामै त्यो पुऱ्‍याउन महामारीले समेत उहाँलाई रोक्न सकेन। मैले यहोवाका जनहरूबीचको प्रेम पनि देखेँ। यो नै साँचो धर्म हो भन्‍ने कुरामा म विश्‍वस्त छु।”

 वेशन नाम गरेका एक जना एल्डर यसो भन्‍नुहुन्छ: “यस महामारीको दौडान बुद्धिमान्‌ दासले हाम्रो ख्याल राख्न चालेको कदमको लागि म कृतज्ञता व्यक्‍त गर्न चाहन्छु। रेडियो अनि टेलिभिजनमार्फत अधिवेशन प्रसारण गरिएकोले हामी आर्थिक कठिनाइको सामना गरिरहेकाहरूलाई निकै सजिलो भयो। यस प्रबन्धबाट हामीले पनि लाभ उठाउन सक्यौँ।”

 संयोजन समिति र शिक्षण समितिले सन्‌ २०२१ को अधिवेशन फेरि पनि केही ठाउँमा टेलिभिजन अनि रेडियोमार्फत प्रसारण गर्ने अनुमति दियो। अधिवेशनका यस्ता कार्यक्रमहरू प्रसारण गर्ने खर्च कसरी बेहोरिन्छ? विश्‍वव्यापी कार्यको लागि दिइएको अनुदानबाट, जुन donate.mt711.com मा उल्लेख गरिएका विभिन्‍न तरिकाहरूमार्फत पनि दिइने गरिन्छ। तपाईँहरूले उदार भई दिनुभएको अनुदानको लागि धन्यवाद।

^ अनु. 3 सन्‌ २०२० को सुरु तिर कोभिड-१९ महामारीको दौडान संयोजन समितिले केही ठाउँमा टेलिभिजन अनि रेडियोमार्फत मण्डलीका सभाहरू प्रसारण गर्ने अनुमति दियो। इन्टरनेट अनि फोनको सुविधा राम्रो नभएका वा एकदमै महँगो भएका ठाउँहरूमा भाइबहिनीहरूलाई स्थानीय मण्डलीले आयोजना गर्ने सभाहरूमा उपस्थित हुन वा JW स्ट्रिम हेर्न गाह्रो छ। यस प्रबन्धले उनीहरूलाई निकै मदत गरेको छ। तर यो प्रबन्ध स्थानीय मण्डलीले आयोजना गर्ने सभाहरूमा जोडिन सकिने ठाउँहरूको लागि होइन।