सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जलवायु परिवर्तन र हाम्रो भविष्यबारे बाइबल के भन्छ?

जलवायु परिवर्तन र हाम्रो भविष्यबारे बाइबल के भन्छ?

 “मौसममा आएका प्रतिकूल परिवर्तनहरूले थुप्रै विपत्ति निम्त्याएको छ र पृथ्वीमा जीवन धान्‍न असम्भव देखिन्छ।”—द गार्डिएन।

 अहिले मानिसहरूले ठूलो समस्याको सामना गर्दै छन्‌। पृथ्वीको तापक्रम बढ्‌नुको मुख्य कारण मानिसहरूको गतिविधिले गर्दा हो भनेर थुप्रै वैज्ञानिकले मानिलिएका छन्‌। यसले गर्दा मौसममा असाध्यै परिवर्तन आएको छ र थुप्रै विपत्ति पनि निम्तिएको छ। तीमध्ये केही यस प्रकार छन्‌:

  •   मौसममा छिटो-छिटो आउने परिवर्तनहरू जस्तै: गर्मी असाध्यै बढ्‌ने, खडेरी पर्ने अनि आँधीहुरी आउने। यस्ता परिवर्तनहरूले गर्दा बाढी आउने र डढेलो लाग्ने खतरा झनै बढ्‌दै छ।

  •   हिमनदीहरू र उत्तरी ध्रुवको (आर्कटिक) बरफ पग्लिँदै छ।

  •   समुद्री सतह बढ्‌दै छ।

 यस्ता परिवर्तनहरूले पृथ्वीको चारै कुनामा असर गरेको छ। न्यू योर्क टाइम्स-ले १९३ देशको अवस्थाबारे बताएपछि यस्तो रिपोर्ट दियो: “पृथ्वीले मदतको लागि गुहारिरहेको छ।” मौसममा आएको परिवर्तनले गर्दा मानिसहरूले दुःख भोगिरहेका र ज्यान पनि गुमाइरहेकाले विश्‍व स्वास्थ्य सङ्‌गठनले यसलाई “मानिसहरूको सबैभन्दा खतरनाक शत्रु” भनेको छ।

 तर पनि हामी आशावादी हुन सक्ने कारण छ। अहिले भइरहेका घटनाहरूबारे बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो। साथै ईश्‍वरले ती सच्याउनुहुनेछ भनेर हामी किन आशा गर्न सक्छौँ अनि हामीलाई उज्ज्वल भविष्य दिन उहाँले के गर्नुहुनेछ भनेर पनि बताइएको छ।

के जलवायु परिवर्तन बाइबल भविष्यवाणीको पूर्ति हो?

 हो। जलवायु परिवर्तन हाम्रो समयबारे बाइबलमा गरिएको भविष्यवाणीसित ठ्याक्कै मिल्छ।

 भविष्यवाणी: ईश्‍वरले “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ।—प्रकाश ११:१८.

 बाइबलमा मानिसहरूको क्रियाकलापले गर्दा पृथ्वी विनाश हुने अवस्थासम्म पुग्नेछ भनेर पहिल्यै बताइएको थियो। मानिसहरूको कारणले गर्दा पृथ्वीको तापक्रम बढिरहेकोले पृथ्वी विनाश भइरहेको छ, जुन यत्तिको मात्रामा कहिल्यै भएको थिएन।

 यस भविष्यवाणीमा सङ्‌केत गरिएको कुराबाट मानिसहरूले पृथ्वीलाई फेरि राम्रो बनाउने छैनन्‌ भनेर हामी बुझ्न सक्छौँ। किनकि त्यस पदमा ईश्‍वरले कदम चाल्नुहुनेछ र “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ भनिएको छ। पृथ्वीलाई बचाउन चाहने मानिसहरूले जलवायु परिवर्तनलाई रोक्न जति नै प्रयास गरे पनि तिनीहरू सफल हुन सक्नेछैनन्‌।

 भविष्यवाणी: “मानिसहरूले भयानक दृश्‍यहरू देख्नेछन्‌।”—लुका २१:११.

 हाम्रो समयमा “भयानक दृश्‍यहरू” देखिनेछन्‌ अर्थात्‌ डरलाग्दा घटनाहरू घट्‌नेछन्‌ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। जलवायुमा आएको परिवर्तनले गर्दा विश्‍वभरि नै कहालीलाग्दा विपत्तिहरू आइरहेका छन्‌। वातावरण विनाश हुन्छ कि भन्‍ने डरले गर्दा अहिले केही मानिस मानसिक तनावको सिकार भएका छन्‌।

 भविष्यवाणी: “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ। मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, . . . विश्‌वासघाती, . . . कुनै पनि कुरामा सहमत नहुने, . . . धोकेबाज, जिद्दी गर्ने” हुनेछन्‌।—२ तिमोथि ३:१-४.

 बाइबलमा मानिसहरूले देखाउने व्यवहारमा आउने परिवर्तनबारे भविष्यवाणी गरिएको थियो। यस्तो परिवर्तनले गर्दा जलवायुमा नकारात्मक असर पुगेको छ। सरकारहरू र व्यापारीहरूले पछि आउने पुस्ताको फाइदाबारे नभई आफ्नै आर्थिक फाइदाबारे सोच्छन्‌। तिनीहरूले वातावरण संरक्षण गर्न सँगै मिलेर काम गर्ने प्रयास गरे पनि त्यसको लागि आवश्‍यक सबै कदम चाल्न सहमत हुँदैनन्‌।

 यस भविष्यवाणीमा सङ्‌केत गरिएअनुसार मानिसहरूले आफ्नो क्रियाकलापमा छाँटकाँट गरेर पृथ्वीलाई जोगाउनेछन्‌ भनेर आशा गर्न सकिँदैन। बरु बाइबलमा “मानिसहरू झन्‌झन्‌ खराब हुँदै जानेछन्‌” भनेर बताइएको छ।—२ तिमोथि ३:१३.

ईश्‍वरले कदम चाल्नुहुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौँ?

 बाइबलमा यहोवाले a पृथ्वी र यसमा बास गर्नेहरूको ख्याल राख्नुहुन्छ भनिएको छ। ईश्‍वरले कदम चाल्नुहुनेछ भनेर सङ्‌केत गर्ने तीन वटा बाइबल पद विचार गरौँ।

  1.  १. ईश्‍वरले “व्यर्थैमा [पृथ्वी] बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।”—यसैया ४५:१८.

     ईश्‍वरले पृथ्वीको लागि राख्नुभएको उदेश्‍य पूरा गर्नुहुनेछ। (यसैया ५५:११) उहाँले यसलाई विनाश हुन दिनुहुनेछैन र जीवन धान्‍न नसक्ने अवस्था पुग्न दिनुहुनेछैन।

  2.  २. “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌। धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”—भजन ३७:११, २९.

     मानिसहरूले पृथ्वीको शान्त वातावरणमा सधैँभरि जीवनको आनन्द उठाउनेछन्‌ भनेर ईश्‍वरले प्रतिज्ञा गर्नुभएको छ।

  3.  ३. “दुष्टहरूचाहिँ पृथ्वीबाट हटाइनेछन्‌।”—हितोपदेश २:२२.

     ईश्‍वरले पृथ्वीका विनाशकारी लगायत दुष्टहरू सबैलाई नाश गर्ने प्रतिज्ञा गर्नुभएको छ।

हाम्रो भविष्यको लागि ईश्‍वरले के गर्नुहुनेछ?

 ईश्‍वरले पृथ्वीको लागि राख्नुभएको आफ्नो उद्देश्‍य कसरी पूरा गर्नुहुनेछ? उहाँले एउटा सरकारमार्फत आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ, जसलाई बाइबलमा ईश्‍वरको राज्य भनिएको छ। (मत्ति ६:१०) यस राज्यले स्वर्गबाट पृथ्वीमाथि शासन गर्नेछ। यस सरकारले पृथ्वी अनि वातावरणसँग सम्बन्धित मामिलाहरू सम्हाल्दा मानव सरकारहरूसित सम्झौता गर्नुपर्दैन बरु सबै मानव सरकारहरूको सट्टामा यो राज्यले शासन गर्नेछ।—दानिएल २:४४.

 ईश्‍वरको राज्यले पृथ्वी र मानिसहरूको लागि असल कामहरू गर्नेछ। (भजन ९६:१०-१३) यहोवाले आफ्नो राज्यमार्फत के गर्नुहुनेछ भनेर अब विचार गरौँ।

  •   वातावरणलाई पहिलेकै अवस्थामा पुऱ्‍याउनुहुनेछ

     बाइबल के भन्छ? “उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ। मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।”—यसैया ३५:१.

     यसले हाम्रो भविष्यको लागि कस्तो अर्थ राख्छ? मानिसहरूले असाध्यै क्षति पुऱ्‍याएका ठाउँहरू लगायत पूरै पृथ्वीलाई यहोवाले सुन्दर बनाउनुहुनेछ।

  •   मौसमलाई नियन्त्रण गर्नुहुनेछ

     बाइबल के भन्छ? “[यहोवाले] आँधीलाई थाम्नुहुन्छ; समुद्रका छालहरूलाई शान्त पार्नुहुन्छ।”—भजन १०७:२९.

     यसले हाम्रो भविष्यको लागि कस्तो अर्थ राख्छ? यहोवासित सम्पूर्ण तत्त्वहरूलाई नियन्त्रणमा राख्ने शक्‍ति छ। मानिसहरूले अत्यधिक मौसम परिवर्तनको कारण कुनै दुःख भोग्नुपर्नेछैन।

  •   मानिसहरूलाई पृथ्वीको ख्याल राख्न सिकाउनुहुनेछ

     बाइबल के भन्छ? “म तिमीलाई समझ दिनेछु र तिमी हिँड्‌नुपर्ने बाटोमा तिमीलाई डोऱ्‍याउनेछु।”—भजन ३२:८.

     यसले हाम्रो भविष्यको लागि कस्तो अर्थ राख्छ? यहोवाले मानिसहरूलाई पृथ्वीको ख्याल राख्ने जिम्मेवारी सुम्पनुभएको थियो। (उत्पत्ति १:२८; २:१५) उहाँले सृष्टि गर्नुभएका कुराहरूको कसरी ख्याल राख्न सकिन्छ अनि वातावरणमा हानि नपुग्नेगरि कसरी जीवन बिताउन सकिन्छ भनेर ईश्‍वरले हामीलाई सिकाउनुहुनेछ।

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।