सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विज्ञानले पत्ता लगाउनुअघि नै परमेश्‍वरले सरसफाइसम्बन्धी उत्कृष्ट ज्ञान दिइसक्नुभएको थियो

विज्ञानले पत्ता लगाउनुअघि नै परमेश्‍वरले सरसफाइसम्बन्धी उत्कृष्ट ज्ञान दिइसक्नुभएको थियो

 लगभग तीन हजार पाँच सय वर्षअघि इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा परमेश्‍वरले तिनीहरूलाई मिश्रमा देखेका सबै किसिमका “भयानक रोग”-बाट जोगाउनेछु भनेर बताउनुभयो। (व्यवस्था ७:१५) उहाँले तिनीहरूलाई जोगाउनुभएको एउटा तरिका भनेको रोगहरू रोकथाम गर्ने अनि सरसफाइसम्बन्धी विस्तृत निर्देशनहरू दिनुभएर हो। उदाहरणको लागि:

  •   इस्राएल राष्ट्रलाई दिइएका नियमहरूमा नुहाउने अनि आफ्नो लुगा धुनुपर्ने कुरा समावेश थियो।—लेवी १५:४-२७.

  •   मलमूत्र उचित तरिकामा व्यवस्थापन गर्नेबारे परमेश्‍वरले यस्तो निर्देशन दिनुभयो: “तिमीहरूले दिसा बस्नको लागि छाउनीबाहिर एउटा ठाउँ छुट्ट्याउनू र दिसा गर्न त्यहीँ जाने गर्नू। तिमीहरूले अरू औजारहरूसँगै खन्‍ने औजार पनि राख्नू। दिसा बस्न जाँदा त्यही औजारले खाल्टो खन्‍नू र दिसा बसिसकेपछि पुरिदिनू।”—व्यवस्था २३:१२, १३.

  •   कसैलाई सरुवा रोग लागेमा उसलाई केही समयको लागि अरू मानिसहरूबाट अलग्गै राखिन्थ्यो। रोग निको भएर छाउनीमा फर्कनुअघि उसले आफ्नो लुगा धुनुपर्थ्यो र नुहाउनुपर्थ्यो। यसो गरेपछि मात्र ऊ “शुद्ध” हुने थियो।—लेवी १४:८, ९.

  •   कसैले लास वा सिनु छोएमा ऊ अलग्गै बस्नुपर्थ्यो।—लेवी ५:२, ३; गन्ती १९:१६.

 विज्ञानले पत्ता लगाउनुभन्दा धेरै अघि नै परमेश्‍वरले इस्राएल राष्ट्रलाई चिकित्सा र सरसफाइसम्बन्धी उत्कृष्ट ज्ञान दिइसक्नुभएको थियो।

 तर इस्राएल राष्ट्र वरपरका मानिसहरूको सरसफाइको स्तर भने गएगुज्रेको थियो। उदाहरणको लागि:

  •   सडकमा जताततै फोहोर फ्याँकिन्थ्यो। प्रदूषित पानी, विभिन्‍न किसिमको फोहोरमैला र दूषित खानेकुराले गर्दा वातावरण फोहोर हुन्थ्यो, जसले गर्दा धेरै मानिस बिरामी पर्थे र शिशु मृत्युदर पनि अधिकतम थियो।

  •   प्राचीन समयका डाक्टरहरूलाई कीटाणु र जीवाणुहरूबारे त्यति धेरै ज्ञान थिएन, भनौँ भने त्यसबारे कुनै ज्ञान थिएन। मिश्रीहरूले माउसुलीको रगत, पेलिकनको (एक किसिमको समुद्री चरा) विष्ठा, मरेको मुसा, पिसाब र ढुसी परेको रोटी “उपचार”-को रूपमा प्रयोग गर्थे। मानिस र पशुको मलमूत्र पनि अक्सर उपचारमा प्रयोग गरिन्थ्यो।

  •   प्राचीन समयका मिश्रीहरू नील नदी र सिँचाइको लागि बनाइएका नहरहरूको प्रदूषित पानीमा भएका विभिन्‍न प्रकारका परजीवीले गर्दा बिरामी पर्थे। साथै दूषित खानेकुरा खाएकोले मिश्रका थुप्रै शिशु झाडापखाला र त्यस्तै अन्य रोगबिमारले गर्दा मर्थे।

 अर्कोतर्फ, परमेश्‍वरले दिनुभएका नियमहरू पालन गर्दा इस्राएलीहरूलाई फाइदा हुन्थ्यो र तिनीहरू निकै हदसम्म स्वस्थ रहन्थे।