सीधै सामग्रीमा जाने

बाइबलले महामारीबारे के भन्छ?

बाइबलले महामारीबारे के भन्छ?

बाइबलको जवाफ

 अन्तको दिनमा महामारी हुनेछ भनेर बाइबलमा पहिल्यै नै भविष्यवाणी गरिएको थियो। (लुका २१:११) यस्ता महामारीहरू परमेश्‍वरले मानिसहरूलाई दिनुभएको सजाय होइन। वास्तवमा, परमेश्‍वरले आफ्नो राज्यमार्फत चाँडै नै महामारीलगायत सबै स्वास्थ्य समस्याको अन्त गर्नुहुनेछ।

 के महामारीबारे बाइबलमा भविष्यवाणी गरिएको थियो?

 बाइबलमा कोभिड-१९, एड्‌स वा स्पेनिश फ्लूजस्ता महामारी वा अरू रोगबारे तोकेरै भविष्यवाणी गरिएको त छैन। बरु “घातक महामारी”-हरू हुनेछन्‌ भनेर चाहिँ भविष्यवाणी गरिएको छ। (लुका २१:११; प्रकाश ६:८) यी घटनाहरू “अन्तको दिन” अर्थात्‌ “यस युगको आखिरी समयको” चिन्ह हुन्‌।—२ तिमोथि ३:१; मत्ति २४:३.

 के परमेश्‍वरले रोगबिमार ल्याएर कहिल्यै मानिसहरूलाई सजाय दिनुभएको छ?

 बाइबलमा परमेश्‍वरले सजाय दिन मानिसहरूमाथि रोगबिमार ल्याउनुभएको केही घटना पाउछौँ। उदाहरणको लागि, परमेश्‍वरले केही व्यक्‍तिलाई कुष्ठरोगले प्रहार गर्नुभएको थियो। (गन्ती १२:१-१६; २ राजा ५:२०-२७; २ इतिहास २६:१६-२१) तर यी सजायहरू निर्दोष मानिसहरूले भोग्नुपरेको थिएन। बरू जानाजानी परमेश्‍वरको विरूद्ध जाने खास व्यक्‍तिहरूले मात्र ती सजाय भोगे।

 आज संसारमा फैलिने महामारीहरू के परमेश्‍वरले दिनुभएको सजाय हो?

 होइन। केही मानिसहरू परमेश्‍वरले महामारी अनि अरू रोगबिमार ल्याएर मानिसहरूलाई सजाय दिनुहुन्छ भन्‍ने गर्छन्‌। तर बाइबलले यस्तो कुरा सिकाउँदैन। किन?

 अहिले अनि विगतका परमेश्‍वरको सेवकहरू विभिन्‍न रोगको सिकार भएका थिए। उदाहरणको लागि, वफादार पुरुष तिमोथि “घरीघरी बिरामी” परेका थिए। (१ तिमोथि ५:२३) तर परमेश्‍वरले सजाय दिनुभएकोले तिनी बिरामी परेका थिए भनेर बाइबलमा बताइएको छैन। त्यसैगरी आज पनि परमेश्‍वरका वफादार सेवकहरू बिरामी पर्छन्‌। प्रायजसो अवस्थामा तिनीहरू गलत समयमा गलत ठाउँमा हुन पुगेकोले अप्रिय घटनाहरूको सिकार हुन्छन्‌।—उपदेशक ९:११.

 साथै, बाइबलमा दुष्ट मानिसहरूलाई सजाय दिने परमेश्‍वरको समय अझै आएको छैन भनेर बताइएको छ। हामी अहिले “उद्धारको समय”-मा बाँचिरहेका छौँ। भन्‍नुको मतलब परमेश्‍वरले सबै मानिसलाई उहाँको नजिक हुने अनि आफ्नो जीवन बचाउने निम्तो दिइरहनुभएको छ। (२ कोरिन्थी ६:२) परमेश्‍वरले यस्तो निम्तो दिनुहुने एउटा तरिका अहिले विश्‍वव्यापी तवरमा भइरहेको राज्यको सुसमाचार प्रचार गर्ने काममार्फत हो।—मत्ति २४:१४.

 के महामारीको अन्त हुनेछ?

 अवश्‍य हुनेछ। भविष्यमा कोही पनि बिरामी नहुने समय आउनेछ भनेर बाइबलमा बताइएको छ। परमेश्‍वरको राज्यले शासन गर्ने समयमा उहाँले सबै रोगबिमार अन्त गर्नुहुनेछ। (यसैया ३३:२४; ३५:५, ६) उहाँले शोक, पीडा अनि मृत्यु हटाउनुहुनेछ। (प्रकाश २१:४) साथै मरेकाहरूलाई उहाँले फेरि जीवित पार्नुहुनेछ अनि उनीहरूले पनि सुन्दर बगैँचाजस्तो पृथ्वीमा कुनै स्वास्थ्य समस्याविना जीवन बिताउन सक्नेछन्‌।—भजन ३७:२९; प्रेषित २४:१५.

 रोगबिमारबारे उल्लेख गरिएका केही बाइबल पद

 मत्ति ४:२३: “सारा गालिल घुम्दै [येसुले] तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूका हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।”

 अर्थ: येसुले गर्नुभएका चमत्कारहरूले चाँडै परमेश्‍वरको राज्यले सम्पूर्ण मानिसजातिको लागि के गर्नेछ भनेर बुझ्न मदत गर्छ।

 लुका २१:११: “महामारी हुनेछ।”

 अर्थ: व्यापक रूपमा फैलिने स्वास्थ्य समस्याहरू अन्तिम दिनका चिन्ह हुन्‌।

 प्रकाश ६:८: ‘हेर, मैले रङ्‌ग फुङ्‌ग उडेको एउटा घोडा देखेँ। त्यसमाथि सवार हुनेको नाम मृत्यु थियो अनि चिहान ठ्‌याक्कै तिनको पछिपछि आइरहेको थियो। घातक महामारीले मानिसहरूलाई मारून्‌ भनेर तिनीहरूलाई अख्तियार दिइयो।’

 अर्थ: चार घोडसवारबारे गरिएको भविष्यवाणीले अहिलेको समयमा महामारीहरू फैलिनेछन्‌ भन्‍ने कुरा बुझ्न मदत गर्छ।