सीधै सामग्रीमा जाने

के मसीहसम्बन्धी भविष्यवाणीहरूले येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्छ?

के मसीहसम्बन्धी भविष्यवाणीहरूले येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्छ?

बाइबलको जवाफ

 हो, गर्छ। पृथ्वीमा हुनुहुँदा येसुले “मसीह अर्थात्‌ अगुवाइ लिने जन”-बारे गरिएका थुप्रै भविष्यवाणी पूरा गर्नुभयो, जो “यस संसारको उद्धारक” हुनुहुने थियो। (दानिएल ९:२५; १ युहन्‍ना ४:१४) मृत्युपछि पनि येसुले मसीहसम्बन्धी भविष्यवाणीहरू पूरा गर्नुभयो।​—⁠भजन ११०:१; प्रेषित २:​३४-३६.

 “मसीह”-को अर्थ के हो?

 हिब्रू शब्द मशियाक (मसीह) र ग्रीक शब्द ख्रिस्टोस (ख्रिष्ट) दुवैको अर्थ “अभिषिक्‍त जन” हो। त्यसैले येसु ख्रिष्टको अर्थ “येसु अभिषिक्‍त जन” वा “येसु मसीह” हो।

 बाइबलकालीन समयमा कुनै मानिसलाई विशेष ओहदाको लागि नियुक्‍त गरिँदा अक्सर तिनको शिरमा तेल खन्याएर अभिषेक गरिन्थ्यो। (लेवी ८:१२; १ समुएल १६:१३) परमेश्‍वरले नै येसुलाई मसीह नियुक्‍त गर्नुभएर उच्च ओहदामा राख्नुभयो। (प्रेषित २:३६) तर उहाँले येसुलाई तेलले नभई पवित्र शक्‍तिले अभिषेक गर्नुभयो।​—⁠मत्ति ३:⁠१६.

 के मसीहसम्बन्धी भविष्यवाणीहरू धेरै जनाले पूरा गर्न सक्छन्‌?

 अहँ, सक्दैनन्‌। जसरी एक जना व्यक्‍तिको औँलाको छापले धेरै जनालाई नभई उसैलाई मात्र चिनाउँछ, त्यसरी नै बाइबलका भविष्यवाणीहरूको पूर्तिले धेरैलाई नभई एकै जना मसीह अर्थात्‌ ख्रिष्टलाई सङ्‌केत गर्छ। तर बाइबलले “झूटा ख्रिष्टहरू अनि झूटा भविष्यवक्‍ताहरू देखा पर्नेछन्‌ र सम्भव भएसम्म चुनिएका जनहरूलाई समेत बहकाउन आश्‍चर्यजनक कार्यहरू गर्नेछन्‌” भनेर सजग गराउँछ।​—⁠मत्ति २४:⁠२४.

 के मसीह भविष्यमा देखा पर्नेछन्‌?

 अहँ, छैनन्‌। बाइबलमा दाउदको एक जना सन्तान मसीह हुनेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो। (भजन ८९:​३, ४) तर दाउदसम्म पुऱ्‍याउने यहुदीहरूको पुर्ख्यौली विवरण अहिले छैन किनभने इस्वी संवत्‌ ७० मा रोमीहरूले यरुसलेम कब्जा गर्दा त्यो नष्ट भएको हुनुपर्छ। a त्यतिबेलादेखि कसैले पनि आफू दाउदको राजघरानाको सन्तान हुँ भनेर दाबी गर्न सम्भव भएन। अर्कोतर्फ, येसुको समयमा यहुदीहरूको त्यो पुर्ख्यौली विवरण थियो। तैपनि आफू दाउदको सन्तान हुँ भन्‍ने उहाँको दाबीलाई शत्रुहरूले खण्डन गर्न सकेनन्‌।​—⁠मत्ति २२:​४१-४६.

 बाइबलमा मसीहसम्बन्धी कति वटा भविष्यवाणी छन्‌?

 मसीहसम्बन्धी यति वटा भविष्यवाणी छन्‌ भनेर तोकेरै भन्‍न सकिँदैन। उदाहरणको लागि, मसीहसम्बन्धी भविष्यवाणी हो भनेर स्पष्टै देखिने कुनै विवरणमा कति वटा भविष्यवाणी छ भनेर गन्‍ने तरिका फरक-फरक हुन सक्छ। यसैया ५३:​२-७ को विवरणलाई विचार गर्न सक्छौँ, जसमा मसीहबारे विभिन्‍न कुरा बताइएको छ। कसै-कसैले पूरै विवरणलाई एउटा भविष्यवाणीको रूपमा गन्छन्‌ भने अरू कतिपयले चाहिँ त्यसमा भएको विभिन्‍न पक्षलाई छुट्टाछुट्टै भविष्यवाणीको रूपमा गन्छन्‌।

 येसुले पूरा गर्नुभएका मसीहसम्बन्धी केही भविष्यवाणी

भविष्यवाणी

पाइने ठाउँ

पूर्ति

अब्राहामको सन्तान

उत्पत्ति २२:​१७, १८

मत्ति १:१

अब्राहामको छोरा इसहाकको सन्तान

उत्पत्ति १७:⁠१९

मत्ति १:२

यहुदाको कुलमा जन्म

उत्पत्ति ४९:⁠१०

मत्ति १:​१, ३

राजा दाउदको घरानाबाट

यसैया ९:७

मत्ति १:१

एउटी कन्याबाट जन्म

यसैया ७:⁠१४

मत्ति १:​१८, २२, २३

बेतलेहेममा जन्म

मिका ५:२

मत्ति २:​१, ५, ६

इम्मानुएल नाम राखिनेछ b

यसैया ७:⁠१४

मत्ति १:​२१-२३

साधारण परिवारमा जन्म

यसैया ५३:२

लुका २:७

उहाँको जन्मपछि बालकहरू मारिए

यर्मिया ३१:⁠१५

मत्ति २:​१६-१८

मिश्रबाट बोलाइयो

होसे ११:१

मत्ति २:​१३-१५

नासरी c कहलाइनुभयो

यसैया ११:१

मत्ति २:⁠२३

दूतले बाटो तयार पाऱ्‍यो

मलाकि ३:१

मत्ति ११:​७-१०

इस्वी संवत्‌ २९ मा मसीह अभिषेक हुनुभयो d

दानिएल ९:⁠२५

मत्ति ३:​१३-१७

परमेश्‍वरले उहाँलाई आफ्नो छोरा भन्‍नुभयो

भजन २:७

प्रेषित १३:​३३, ३४

परमेश्‍वरको घरको लागि जोस देखाउनुभयो

भजन ६९:९

युहन्‍ना २:​१३-१७

सुसमाचार घोषणा गर्नुभयो

यसैया ६१:१

लुका ४:​१६-२१

गालिलमा गर्नुभएको सेवाको काम चहकिलो ज्योतिजस्तै भयो

यसैया ९:​१, २

मत्ति ४:​१३-१६

मोसाले जस्तै चमत्कारहरू गर्नुभयो

व्यवस्था १८:⁠१५

प्रेषित २:⁠२२

मोसाले जस्तै परमेश्‍वरको विचार बताउनुभयो

व्यवस्था १८:​१८, १९

युहन्‍ना १२:⁠४९

धेरैको रोगबिमार निको पार्नुभयो

यसैया ५३:४

मत्ति ८:​१६, १७

आफूतर्फ ध्यान खिच्नुभएन

यसैया ४२:२

मत्ति १२:​१७, १९

दीनदुःखीलाई करुणा देखाउनुभयो

यसैया ४२:३

मत्ति १२:​९-२०; मर्कुस ६:⁠३४

परमेश्‍वरको न्याय प्रकट गर्नुभयो

यसैया ४२:​१, ४

मत्ति १२:​१७-२०

बुद्धिमान्‌ सल्लाहकार

यसैया ९:​६, ७

युहन्‍ना ६:⁠६८

यहोवाको नाम घोषणा गर्नुभयो

भजन २२:⁠२२

युहन्‍ना १७:६

उदाहरणहरू चलाएर सिकाउनुभयो

भजन ७८:२

मत्ति १३:​३४, ३५

एक जना नेता

दानिएल ९:⁠२५

मत्ति २३:⁠१०

धेरैले उहाँमाथि विश्‍वास गरेनन्‌

यसैया ५३:१

युहन्‍ना १२:​३७, ३८

ठक्कर दिने ढुङ्‌गा

यसैया ८:​१४, १५

मत्ति २१:​४२-४४

मानिसहरूले काम नलाग्ने ठाने

भजन ११८:​२२, २३

प्रेषित ४:​१०, ११

विनाकारण घृणा गरियो

भजन ६९:४

युहन्‍ना १५:​२४, २५

गधाको बछेडोमाथि सवार भएर जयजयकारका साथ यरुसलेम प्रवेश गर्नुभयो

जकरिया ९:९

मत्ति २१:​४-९

केटाकेटीले प्रशंसा गरे

भजन ८:२

मत्ति २१:​१५, १६

यहोवाको नाममा आउनुभयो

भजन ११८:⁠२६

युहन्‍ना १२:​१२, १३

घनिष्ठ साथीबाट विश्‍वासघात

भजन ४१:९

युहन्‍ना १३:⁠१८

तीस टुक्रा चाँदीको लागि धोका दिइयो e

जकरिया ११:​१२, १३

मत्ति २६:​१४-१६; २७:​३-१०

साथीहरूबाट त्यागिनुभयो

जकरिया १३:७

मत्ति २६:​३१, ५६

झूटा साक्षीहरूले उहाँविरुद्ध गवाही दिए

भजन ३५:⁠११

मत्ति २६:​५९-६१

आरोप लगाइँदा चुपचाप बस्नुभयो

यसैया ५३:७

मत्ति २७:​१२-१४

अनुहारमा थुकियो

यसैया ५०:६

मत्ति २६:६७; २७:​२७, ३०

शिरमा हिर्काइयो

मिका ५:१

मर्कुस १५:⁠१९

कोर्रा लगाइयो

यसैया ५०:६

युहन्‍ना १९:१

कोर्रा लगाइँदा पिठिउँ थाप्नुभयो

यसैया ५०:६

युहन्‍ना १८:​२२, २३

शासकहरूले उहाँविरुद्ध षड्यन्त्र रचे

भजन २:२

लुका २३:​१०-१२

हातखुट्टामा किल्ला ठोकेर खम्बामा टाँगियो

भजन २२:⁠१६

मत्ति २७:३५; युहन्‍ना २०:⁠२५

उहाँको लुगाको लागि गोला हालियो

भजन २२:⁠१८

युहन्‍ना १९:​२३, २४

उहाँलाई पापीहरूसँगै गनियो

यसैया ५३:⁠१२

मत्ति २७:⁠३८

धज्जी उडाइयो अनि खिसी गरियो

भजन २२:​७, ८

मत्ति २७:​३९-४३

पापीहरूका लागि दुःख भोग्नुभयो

यसैया ५३:​५, ६

१ पत्रुस २:​२३-२५

परमेश्‍वरले त्याग्नुभएको जस्तो देखियो

भजन २२:१

मर्कुस १५:⁠३४

अमिलो मद्य र तीतो मिसाइएको दाखमद्य पिउन दिइयो

भजन ६९:⁠२१

मत्ति २७:⁠३४

मृत्यु हुनुअघि तिर्खाउनुभयो

भजन २२:⁠१५

युहन्‍ना १९:​२८, २९

आफ्नो जीवन परमेश्‍वरलाई सुम्पिनुभयो

भजन ३१:५

लुका २३:⁠४६

आफ्नो जीवन अर्पण गर्नुभयो

यसैया ५३:⁠१२

मर्कुस १५:⁠३७

पापबाट छुटकारा दिन फिरौतीस्वरूप आफ्नो ज्यान दिनुभयो

यसैया ५३:⁠१२

मत्ति २०:⁠२८

उहाँको एउटै हड्डी भाँचिएन

भजन ३४:⁠२०

युहन्‍ना १९:​३१-३३, ३६

उहाँलाई घोपियो

जकरिया १२:⁠१०

युहन्‍ना १९:​३३-३५, ३७

धनी मानिसको चिहानमा राखियो

यसैया ५३:९

मत्ति २७:​५७-६०

फेरि जीवित पारिनुभयो

भजन १६:⁠१०

प्रेषित २:​२९-३१

धोका दिने व्यक्‍तिको कार्यभार अरू कसैलाई दिइयो

भजन १०९:८

प्रेषित १:​१५-२०

परमेश्‍वरको दाहिने हाततिर बस्नुभयो

भजन ११०:१

प्रेषित २:​३४-३६

a म्याकक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया भन्छ: “यहुदी कुलहरूको र परिवारहरूको वंशावली विवरण यरुसलेम विनाश भएको बेला नष्ट भयो, त्यसअघि होइन भन्‍ने कुरामा कुनै शङ्‌का छैन।”

b हिब्रू नाम इम्मानुएलको अर्थ हो, “परमेश्‍वर हामीसित हुनुहुन्छ।” यसले मसीहको रूपमा येसुको भूमिकालाई जनाउँछ। पृथ्वीमा उहाँको उपस्थिति र उहाँको कामले परमेश्‍वर आफ्ना उपासकहरूसित हुनुहुन्छ भनेर प्रमाणित गर्छ।​—⁠लुका २:​२७-३२; ७:​१२-१६.

c “नासरी” शब्द हिब्रू शब्द नेत्सर-बाट आएको हुनुपर्छ, जसको अर्थ हो, “टुसा।”

d इस्वी संवत्‌ २९ मा मसीह देखा पर्नुहुनेछ भनेर सङ्‌केत गर्ने बाइबलको कालक्रमबारे थप जानकारी पाउन “मसीह देखा पर्ने समयबारे दानियलको भविष्यवाणी” भन्‍ने लेख हेर्नुहोस्‌।

e यो भविष्यवाणी जकरियाको किताबमा पाइन्छ तर बाइबल लेखक मत्तिले यसलाई “भविष्यवक्‍ता यर्मियाद्वारा भनिएको वचन” भनेका छन्‌। (मत्ति २७:⁠९) धर्मशास्त्रको “भविष्यवक्‍ताहरूको लेखोट” भनिने खण्डमा यर्मियाको किताबलाई कहिलेकाहीँ सुरुमै राखिन्थ्यो जस्तो देखिन्छ। (लुका २४:४४) मत्तिले पूरै खण्डलाई सङ्‌केत गर्न “यर्मिया” भनेको हुनुपर्छ, जसमा जकरियाको किताब पनि समावेश छ।