सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | हार नमान्नुहोस्!

परिस्थितिमा परिवर्तन आउँछ

परिस्थितिमा परिवर्तन आउँछ

“हामी सबैतिरबाट थिचिएका छौं तर चल्नै नसक्ने गरी चेपिएका छैनौं; हामी अन्योलमा परेका छौं तर उम्कने कुनै बाटो नै नरहने गरी होइन।” —२ कोरिन्थी ४:८.

आत्महत्या गर्नु भनेको औंलामा घाउ भयो भन्दैमा हातै काटेर फालिदिनु जस्तै हो। तपाईंलाई आफ्नो समस्याको समाधान नै छैन जस्तो लाग्ला। तर परिस्थिति सधैं उस्तै रहँदैन। तपाईंले आशै नगरेको तरिकामा परिस्थितिमा राम्रो परिवर्तन आउन सक्छ।—“ तिनीहरूको परिस्थितिमा परिवर्तन आयो” भन्ने शीर्षक भएको पेटी हेर्नुहोस्।

यदि तपाईंको परिस्थितिमा परिवर्तन आएन भने पनि समस्यालाई बिस्तारै सुल्झाउने कोसिस गर्नुहोस्। येशूले यसो भन्नुभयो: “भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट यथेष्ट छ।”—मत्ती ६:३४.

तर तपाईंको समस्या समाधान नै नहुने खालको छ भने नि? जस्तै तपाईंलाई दीर्घकालीन रोग लागेको अथवा तपाईंको वैवाहिक सम्बन्ध टुटेको हुन सक्छ। तपाईंको साथीभाइ, आफन्तको मृत्यु भएको पनि हुन सक्छ।

यस्ता समस्याहरू छन्‌ भने पनि तपाईंले गर्न सक्ने एउटा कुरा छ। तपाईं आफ्नो समस्यालाई कुन नजरले हेर्नुहुन्छ, त्यसमा परिवर्तन ल्याउन सक्नुहुन्छ। आफ्नो नियन्त्रणमा नभएका कुराहरूलाई स्वीकार्न सिक्नुहोस्। यसो गर्नुभयो भने तपाईं परिस्थितिप्रति सकारात्मक हुन सक्नुहुनेछ। (हितोपदेश १५:१५) साथै, आत्महत्या नै समस्याको समाधान होइन भनेर तपाईंले बुझ्नुहुनेछ अनि समस्याको सामना गर्ने तरिकाहरू खोज्नुहुनेछ। परिणाम? समस्या समाधान नभए पनि त्यसको सामना गर्न तपाईं सक्षम हुनुहुनेछ।—अय्यूब २:१०.

यो कुरा मनमा राख्नुहोस्: एकै पाइलामा सिङ्‌गो पहाड चढ्‌न कहिल्यै सकिंदैन। पहाडको टुप्पोमा पुग्न एक-एक पाइला चाल्दै अघि बढ्‌नुपर्छ। त्यसैगरि पहाडरूपी समस्याहरू नै किन नआओस्, त्यसलाई बिस्तारै सुल्झाउने कोसिस गर्नुभयो भने तपाईं पक्कै सफल हुनु हुनेछ।

आज यसो गर्नुहोस्: तपाईंको साथी वा परिवारको कुनै सदस्यलाई आफ्नो समस्या बताउनुहोस्। तिनीहरूले तपाईंलाई परिस्थिति राम्ररी केलाउन मदत गर्न सक्छन्‌।—हितोपदेश ११:१४.