सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिवार आनन्दमय बनाउने तरिकाहरू

आफ्नो जोडीसित आदरपूर्वक व्यवहार गर्नुहोस्‌

आफ्नो जोडीसित आदरपूर्वक व्यवहार गर्नुहोस्‌

एड्रिन a भन्छन्‌: “सारालाई कुनै कुराको टेन्सन भयो भने घण्टौंसम्म रोइरहन्छिन्‌। कुरा गर्न बस्यौं भने पनि उनी चिढचिढ हुन्छिन्‌ वा मुखबाट एक शब्द ननिकाली चुपो लागेर बस्छिन्‌। जे गरे पनि हुँदैन। त्यसैले उनलाई फकाउने कोसिस गर्नु नै बेकारजस्तो लाग्छ।”

सारा भन्छिन्‌: “एड्रिन घर फर्कंदा म रोइरहेकी थिएँ। मलाई किन टेन्सन भयो भनेर बताउन खोज्दा उहाँले मलाई बोल्नै दिनुभएन। यस्तो जाबो कुरामा पनि किन टेन्सन लिने भन्‍नुभयो। यो सुनेपछि त मलाई झनै चित्त दुख्यो।”

के तपाईं पनि कहिलेकाहीं एड्रिन वा साराजस्तो महसुस गर्नुहुन्छ? दुवै जना कुराकानी गर्न चाहन्छन्‌ तर अक्सर बीचैमा दिक्क मानिहाल्छन्‌। किन?

लोग्नेमान्छे र स्वास्नीमान्छेको कुराकानी गर्ने तरिका फरक हुन्छ अनि तिनीहरूको आवश्‍यकता पनि बेग्लाबेग्लै हुन्छ। केटी मान्छे अक्सर आफ्नो मनको कुरा सबै पोख्न चाहन्छे। प्रायजसो लोग्नेमान्छे भने पछि झमेला नहोस्‌ भनेर तुरुन्तै समस्याको समाधान गर्न खोज्छन्‌। अनि जटिल प्रकारका समस्या आइपऱ्‍यो भने अक्सर पन्छाउने गर्छन्‌। यस्तो फरक सोचाइ हुँदा पनि खुलस्त कुराकानी गरेर तपाईं कसरी आफ्नो जोडीसितको सम्बन्ध कायमै राख्न सक्नुहुन्छ? आफ्नो जोडीसित आदरपूर्वक व्यवहार गरेर।

आदर देखाउने मानिसले अरूको कदर गर्छ अनि अरूको भावना बुझ्न खोज्छ। तपाईंले सानैदेखि आफूभन्दा ठूलो र अनुभवी व्यक्‍तिको आदर गर्न सिक्नुभएको हुन सक्छ। तर विवाह गरिसकेपछि भने आफ्नो दौंतरी जस्तो लाग्ने व्यक्‍ति अर्थात्‌ आफ्नो पति वा पत्नीलाई आदर देखाउनु चुनौतीपूर्ण हुन सक्छ। आठ वर्षअघि विवाह गरेकी आकृति भन्छिन्‌: “प्रवेशसित कुरा गर्न आउने जो कोहीको कुरा उहाँले धैर्य गरेर सुनिदिनुहुन्छ भनेर मलाई थाह थियो। उहाँले मेरो कुरा पनि त्यसरी नै सुनिदिए हुने जस्तो लाग्थ्यो।” सायद तपाईं साथीहरूको र नचिनेका मानिसहरूको कुरा समेत ध्यान दिएर अनि आदरपूर्वक सुन्‍नुहुन्छ होला। के तपाईं आफ्नो पति वा पत्नीलाई पनि यसरी नै चासो देखाउनुहुन्छ?

अनादरपूर्ण व्यवहारले गर्दा घरमा तनाव हुन्छ अनि नमीठो मतभेद हुन्छ। एक बुद्धिमान्‌ शासकले यसो भने: “भोज र झगडाले भरिएको घरभन्दा मेलसित खाएको निस्तो गाँस असल हो।” (हितोपदेश १७:१) बाइबलले पतिहरूलाई आफ्नी पत्नीको आदर गर्नू भन्छ। (१ पत्रुस ३:७) “पत्नीले पनि आफ्नो पतिको गहिरो आदर” गर्नुपर्छ।—एफिसी ५:३३.

तपाईं आदरपूर्वक कसरी कुराकानी गर्न सक्नुहुन्छ? बाइबलमा पाइने केही व्यावहारिक सल्लाह विचार गर्नुहोस्‌।

आफ्नो जोडीले केही कुरा बताउन लाग्दा

चुनौती:

धेरैजसो मानिस सुन्‍नभन्दा बोल्न रुचाउँछन्‌। तपाईं पनि त्यस्तै हुनुहुन्छ कि? बाइबलले “राम्ररी सुन्‍नुअघिनै प्रश्‍नको जवाफ” दिने मानिसलाई मूर्ख भन्छ। (हितोपदेश १८:१३) त्यसैले कुरा थाल्नुअघि सुन्‍नुहोस्‌। किन? विवाह गरेको २६ वर्ष भइसकेको ललिता भन्छिन्‌: “मेरो श्रीमान्‌ले समस्याको समाधान तुरुन्तै निकाल्न नखोजेर मेरो कुरा सुनिदिएको म चाहन्छु। उहाँ मेरो कुरामा सहमत हुनु पनि पर्दैन। अनि समस्या किन उत्पन्‍न भयो भनेर उहाँले कारण पत्ता लगाइहाल्नुपर्छ भन्‍ने म चाहन्‍नँ। केवल मेरो कुरा सुनिदिएको अनि मेरो भावना बुझिदिएको चाहन्छु।”

अर्कोतर्फ, केही पुरुष तथा स्त्री आफ्नो भावना व्यक्‍त गर्न हिचकिचाउँछन्‌ अनि आफ्नो जोडीले भावना व्यक्‍त गर्न कर गर्दा अप्ठ्यारो मान्छन्‌। हालै विवाह गरेकी सुनिधीले श्रीमान्‌लाई तिनको भावना व्यक्‍त गर्न निकै समय लाग्ने कुरा थाह पाइन्‌। उनी भन्छिन्‌: “मैले निकै धैर्य गर्नुपर्छ अनि उहाँले आफ्नो कुरा बताउन नथालुन्जेल धेरै पर्खनुपर्छ।”

समाधान:

तपाईंहरू दुई जनाबीच कुरा नमिल्ने सम्भावना भएको कुनै विषयमा कुरा गर्नुपर्ने छ भने दुवै जना शान्त अनि तनावमुक्‍त भएको बेलामा कुरा निकाल्नुहोस्‌। तपाईंको जोडी कुरा गर्न चाहँदैनन्‌ भने नि? नबिर्सनुहोस्‌, “अर्काको मनको विचार गहिरो पानीझैं हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।” (हितोपदेश २०:५) तपाईंले इनारमा बाल्टिन खसालेर त्यसलाई तुरुन्तै माथि तान्‍नुभयो भने धेरै पानी पोखिन्छ। त्यसरी नै तपाईंले आफ्नो जोडीलाई असाध्यै जबरजस्ती गर्नुभयो भने तिनी झन्‌ चुप लागेर बस्न सक्छन्‌ र तिनको मनको कुरा बुझ्ने सम्भावना त्यतिकैमा बन्द भइहाल्छ। बरु मायालु ढङ्‌गमा अनि आदरपूर्वक प्रश्‍न सोध्नुहोस्‌ अनि तपाईंले आशा गरेजस्तो तिनले आफ्ना भावना तुरुन्तै व्यक्‍त गरेनन्‌ भने पनि धैर्य गर्नुहोस्‌।

तपाईंको पति वा पत्नीले बोल्दा “चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन अनि झट्टै रिसाइहाल्नुहुँदैन।” (याकूब १:१९) राम्ररी सुन्‍ने व्यक्‍तिले कानले मात्र होइन मनले पनि सुन्छ। तपाईंको जोडीले बोल्दा तिनको भावना बुझ्ने प्रयास गर्नुहोस्‌। तपाईं कसरी सुन्‍नुहुन्छ, त्यसबाट तपाईंको जोडीले तपाईं तिनलाई कत्तिको आदर वा अनादर गर्नुहुन्छ भनी चाल पाउनेछन्‌।

येशूले हामीलाई कसरी सुन्‍नुपर्छ, सो सिकाउनुभयो। उदाहरणको लागि, एक जना बिरामी मानिस मदत माग्न आउँदा येशूले तुरुन्तै समस्या समाधान गर्नुभएन। सुरुमा उहाँले त्यस मानिसको बिन्ती सुन्‍नुभयो। त्यो सुनेपछि आफ्नो मनमा पनि दया जाग्न दिनुभयो। अनि बल्ल उसलाई निको पार्नुभयो। (मर्कूस १:४०-४२) आफ्नो जोडीले बोल्दा तपाईं पनि यसै गर्नुहोस्‌। नबिर्सनुहोस्‌, तिनले तुरुन्तै कुनै समाधान खोजेको नभई तपाईंले मायालुपूर्वक कुरा सुनिदेओस्‌ भन्‍ने चाहेका हुन सक्छन्‌। त्यसैले ध्यान दिएर सुन्‍नुहोस्‌। आफूमा पनि त्यस्तै भावना जाग्न दिनुहोस्‌। तब मात्र के भन्‍ने वा के गर्ने, सो गर्नुहोस्‌। यसो गर्दा तपाईंले आफ्नो जोडीप्रति आदर देखाउनुहुनेछ।

यसो गरे कसो होला? अर्को चोटि तपाईंको जोडीले कुरा गर्न थाल्दा तुरुन्तै प्रतिक्रिया देखाइहालुँ जस्तो लाग्दा आफूलाई रोक्नुहोस्‌। तपाईंको जोडीको कुरा नसिद्धिउन्जेल अनि कुरा नबुझुन्जेल पर्खनुहोस्‌। पछि यस्तो सोध्न सक्नुहुन्छ: “तपाईंले/तिमीले भनेको कुरा मैले बुझेंजस्तो लाग्छ, बरु मैले अझै नबुझेको कुनै कुरा छ कि?”

आफूले केही कुरा बताउन लाग्दा

चुनौती:

“हाँस्य टेलिसिरियलहरूले आफ्नो जोडीको कुरा काट्‌नु, उनको अपमान गर्नु अनि व्यङ्‌ग्यात्मक शैलीले बोल्नु सामान्य जस्तो देखाउँछ” भनी माथि उल्लिखित आकृति बताउँछिन्‌। कोही-कोही हुर्केको घरपरिवारमा अनादरपूर्ण बोलीलाई सामान्य ठानिन्थ्यो होला। त्यसैले पछि विवाह गरेपछि पनि आफ्नो परिवारमा यस्तो बानी त्याग्न गाह्रो हुन्छ। क्यानाडामा बसोबास गर्ने आइभी भन्छिन्‌: “म हुर्केको वातावरणमा व्यङ्‌ग्य गर्नु, ठूलठूलो सोरले कराउनु अनि जथाभावी नामले हेपेर बोलाउनु सामान्य थियो।”

समाधान:

आफ्नो जोडीबारे अरूसित कुरा गर्दा “आवश्‍यकताअनुसार अरूको उत्थान गर्ने असल वचन निस्कोस्‌, ताकि सुन्‍नेहरूलाई त्यसबाट फाइदा होस्‌।” (एफिसी ४:२९) आफ्नो जोडीबारे अरूसित जसरी कुरा गर्नुहुन्छ, त्यसले अरूको मनमा राम्रो छाप पारोस्‌।

आफ्नो जोडी मात्रै हुँदा पनि व्यङ्‌ग्यात्मक शैलीमा बोल्न अनि जथाभावी नामले हेपेर बोलाउन सकसक लाग्दा आफूलाई रोक्नुहोस्‌। प्राचीन इस्राएलमा मीकल आफ्नो श्रीमान्‌ राजा दाऊदसित रिसाइन्‌। तिनले व्यङ्‌ग्यात्मक ढङ्‌गमा बोलिन्‌ र आफ्नो पतिले “आफैलाई ढटुवारेजस्तै बनाए” भनिन्‌। तिनको यस्तो वचनले दाऊदको मन भाँचियो। तर त्यति मात्र होइन, यहोवालाई पनि त्यो मन परेन। (२ शमूएल ६:२०-२३) यसबाट कस्तो पाठ सिक्छौं? आफ्नो जोडीसित कुरा गर्दा सही शब्दहरू छान्‍न चनाखो हुनुहोस्‌। (कलस्सी ४:६) विवाह गरेको आठ वर्ष भइसकेका प्रवेश आफ्नी पत्नीसित अहिले पनि मतभेद हुने स्वीकार्छन्‌। कहिलेकाहीं आफूले भन्‍ने कुराले अवस्था झनै बिगार्छ भनी तिनले याद गरेका छन्‌। तिनी भन्छन्‌: “जसरी भए पनि कुरा ‘जित्न’ खोज्नु वास्तवमा हार हो भनेर मैले बुझेको छु। बरु हामीबीचको सम्बन्धलाई बलियो बनाउन खोज्नु अझ सन्तोषजनक र इनामदायी हुँदो रहेछ।”

प्राचीन समयकी एउटी विधवा वृद्धाले आफ्नी बुहारीहरूलाई “आफ्ना-आफ्ना पतिका घरमा सुरक्षित” रहन प्रोत्साहन दिइन्‌। (रूथ १:९) पति-पत्नी दुवैले एक-अर्काको मर्यादा कायम राख्दा तिनीहरूको घर “सुरक्षित” ठाउँ बन्छ।

यसो गरे कसो होला? आफ्नो जोडीसित यस उपशीर्षकमुनि दिइएका सुझावहरू छलफल गर्न समय निकाल्नुहोस्‌। आफ्नो जोडीलाई सोध्नुहोस्‌: “अरूको अगाडि तपाईंको/तिम्रो विषयमा कुरा गर्दा कस्तो लाग्छ? सम्मान गरेजस्तो वा होच्याएजस्तो? मेरो बानी सुधार्न केही गर्न सक्छु कि?” तपाईंको जोडीले आफ्नो भावना पोख्दा ध्यान दिएर सुन्‍नुहोस्‌। आफूले सुनेका सुझावहरू लागू गर्ने प्रयास गर्नुहोस्‌।

आफू र आफ्नो जोडीबीचको भिन्‍नता स्वीकार्नुहोस्‌

चुनौती:

केही नवविवाहित दम्पतीले बाइबलले पति र पत्नी “एउटै शरीर” हुनेछन्‌ भनेको दुवैको एउटै धारणा वा व्यक्‍तित्व हुनुपर्छ भन्‍ने गलत अर्थ बुझेका छन्‌। (मत्ती १९:५) तर यस्तो सोचाइ राख्नु कत्ति अव्यावहारिक छ भनेर बुझ्न धेरै समय लाग्दैन। विवाह भइसकेपछि तिनीहरूबीचको भिन्‍नताले गर्दा भनाभन हुन सक्छ। आकृति भन्छिन्‌: “हामीबीचको एउटा मुख्य भिन्‍नता हो, प्रवेशले मैले जत्तिको चिन्ता गर्नुहुन्‍न। कहिलेकाहीं म असाध्यै चिन्तित भएको बेला पनि उहाँ ढुक्कै बस्न सक्नुहुन्छ। यो देखेपछि उहाँलाई त्यसबारे केही मतलबै छैन जस्तो लागेर रिस उठ्‌छ।”

समाधान:

एक-अर्कालाई तिनी जस्तो छन्‌, त्यही व्यक्‍तिको रूपमा स्वीकार्नुहोस्‌ अनि तपाईंहरूबीचको भिन्‍नतालाई विवादको विषय नबनाउनुहोस्‌। यो उदाहरण विचार गर्नुहोस्‌: तपाईंको आँखा र कानको काम फरक छ; तर बाटो काट्‌दा कुनै दुर्घटना नहोस्‌ भन्‍नाको लागि आँखा र कान दुवैले मिलेर काम गर्छ। विवाह गरेको झन्डै ३० वर्ष भइसकेको रमा यसो भन्छिन्‌: “जबसम्म हाम्रो धारणाले परमेश्‍वरको वचन भङ्‌ग गर्दैन, म र मेरो श्रीमान्‌ हाम्रो फरक धारणाको कदर गर्छौं। हामी विवाहित जोडी हौं, एउटै मानिस त होइनौं नि।”

तपाईंको जोडीको धारणा वा प्रतिक्रिया आफ्नो भन्दा फरक हुँदा आफ्नै कुरामा मात्र ध्यान केन्द्रित नगर्नुहोस्‌। आफ्नो जोडीको भावनालाई विचार गर्नुहोस्‌। (फिलिप्पी २:४) रमाका पति प्रकाश भन्छन्‌: “हो, म कुनै-कुनै विषयमा आफ्नी पत्नीको सोचाइ बुझ्दिनँ वा त्यसमा सहमत हुन सक्दिनँ। त्यतिबेला म आफूलाई कुन कुरा सम्झाउँछु भने, म आफ्नो सोचाइलाई भन्दा उसलाई धेरै माया गर्छु। ऊ खुसी हुँदा म पनि खुसी हुन्छु।”

यसो गरे कसो होला? कुन-कुन क्षेत्रमा तपाईंको जोडीको सोचाइ वा कामकुरा गर्ने तरिका तपाईंको भन्दा उत्कृष्ट छ, त्यसको सूची बनाउनुहोस्‌।—फिलिप्पी २:३.

सुखी र दिगो विवाहको लागि आदर अत्यावश्‍यक छ। आकृति भन्छिन्‌: “विवाहित जोडीबीच आदरले सन्तुष्टि र सुरक्षा दिन्छ। यो सबैले विकास गर्नै पर्ने गुण हो।” (w11-E 08/01)

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

आफैलाई सोध्नुहोस्‌ . . .

  • म र मेरो जोडीबीचको भिन्‍नताले हाम्रो परिवारलाई कसरी अझ राम्रो बनाएको छ?

  • बाइबल सिद्धान्तहरूसित बाझिंदैन भने मेरो जोडीको कुरा मान्‍नु किन बेस हो?