सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | पवित्र शास्त्रबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ?

पढाइलाई केले रोचक बनाउँछ?

पढाइलाई केले रोचक बनाउँछ?

बाइबल पढ्‌न तपाईंलाई कस्तो लाग्छ? पट्‌याइँलाग्दो वा रमाइलो? यो कुरा धेरै हदसम्म तपाईं कसरी पढ्‌नुहुन्छ, त्यसमा भर पर्छ। बाइबल पढाइलाई रोचक र रमाइलो बनाउन के गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्।

आधुनिक भाषाको भरपर्दो अनुवाद छान्नुहोस्। नबुझिने शब्दहरू वा पुरानो जमानाका शब्दहरू प्रयोग गरिएको बाइबल पढ्‌नुभयो भने पढाइबाट आनन्द उठाउन सक्नुहुन्न। त्यसैले बुझ्न सजिलो र मन छुने शब्दहरू प्रयोग गरिएको बाइबल छान्नुहोस्। अनि अनुवाद सही हुनुपर्छ भन्ने कुरा नबिर्सनुहोस्। *

आधुनिक प्रविधि प्रयोग गर्नुहोस्। अहिले बाइबल छापिएको किताबको रूपमा मात्र नभई डिजिटल फर्म्याटमा पनि उपलब्ध छ। कुनै-कुनै बाइबल अनलाइन पढ्‌न सकिन्छ वा कम्प्युटर, ट्‌याबलेट, मोबाइल फोन आदिमा डाउनलोड गरेर पनि पढ्‌न सकिन्छ। कुनै-कुनै संस्करणमा थप विशेषताहरू पनि हुन्छन्‌। यसको प्रयोग गरेर तपाईंले त्यसै विषयसित सम्बन्धित अन्य बाइबल पदहरू खोज्न सक्नुहुन्छ वा विभिन्न बाइबल अनुवाद तुलना गरेर हेर्न सक्नुहुन्छ। तपाईंलाई पढ्‌नभन्दा सुन्न मन पर्छ भने कुनै-कुनै भाषामा बाइबलको अडियो रेकर्डिङ पनि उपलब्ध छ। धेरैलाई सार्वजनिक यातायातमा यात्रा गर्दा, लुगा धुँदा वा अन्य कुनै क्रियाकलापमा लागेको बेला सुन्न मन पर्छ। तपाईं पनि आफूलाई उपयुक्त हुने माध्यम प्रयोग गर्न सक्नुहुन्छ कि?

बाइबल अध्ययन सामग्रीहरू प्रयोग गर्नुहोस्। बाइबल अध्ययन सामग्रीहरू प्रयोग गर्दा पढाइबाट अझ धेरै लाभ उठाउन सक्नुहुन्छ। बाइबलमा उल्लेख गरिएका ठाउँहरूको नक्सा प्रयोग गरेर आफूले बाइबलमा पढेको ठाउँ कहाँ पर्दो रहेछ भनेर थाह पाउन सक्नुहुन्छ। यसले गर्दा मनमा चित्र उतार्न सजिलो हुन्छ। यसै पत्रिकामा भएका लेखहरू वा jw.org वेबसाइटको “बाइबलको शिक्षा” भन्ने भागमा गएर तपाईंले बाइबलले सिकाउने शिक्षा बुझ्न सक्नुहुन्छ।

विभिन्न तरिका अपनाउनुहोस्। सुरुदेखि अन्तसम्म पढ्‌न झिजो लाग्छ भने तपाईंलाई मन पर्ने भागबाट बाइबल पढ्‌न सुरु गरे कसो होला? यसो गर्दा पढाइप्रति तपाईंको रुचि बढ्‌न सक्छ। बाइबलमा उल्लेख गरिएका प्रख्यात व्यक्तिहरूबारे थाह पाउन चाहनुहुन्छ भने ती पात्रहरूबारे बताइएको विवरण छानेर पढ्‌न सक्नुहुन्छ। यसको एउटा उदाहरण “ बाइबलमा उल्लिखित पात्रहरूलाई चिन्ने उद्देश्यसहित बाइबल पढ्‌नुहोस्” भन्ने पेटीमा दिइएको छ। अथवा तपाईं विषयवस्तुअनुसार वा घटना घटेको क्रमअनुसार पनि बाइबल पढ्‌न सक्नुहुन्छ। यीमध्ये कुनै तरिका अपनाउनुभए कसो होला

^ अनु. 4 धेरै मानिसलाई पवित्र बाइबल—नयाँ संसार अनुवाद सही, भरपर्दो र पढ्‌न सजिलो लागेको छ। यहोवाका साक्षीहरूद्वारा प्रकाशित यो बाइबल १३० भन्दा धेरै भाषामा उपलब्ध छ। तपाईंले jw.org वेबसाइट वा JW लाइब्रेरी एपबाट यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। अथवा तपाईं चाहनुहुन्छ भने यहोवाका साक्षीहरूले यो बाइबल तपाईंको घरमै ल्याइदिन सक्छन्‌।