सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अध्याय दस

स्वर्गदूतहरूले हामीलाई कस्तो प्रभाव पार्छन्‌

स्वर्गदूतहरूले हामीलाई कस्तो प्रभाव पार्छन्‌
  • के स्वर्गदूतहरूले मानिसहरूलाई मदत गर्छन्‌?

  • दुष्ट स्वर्गदूतहरूले मानिसहरूलाई कसरी बहकाउँछन्‌?

  • के हामी दुष्ट स्वर्गदूतहरूसँग डराउनुपर्छ?

१. हामीले किन स्वर्गदूतहरूबारे थाह पाउनुपर्छ?

कुनै व्यक्तिलाई चिन्नुको अर्थ उसको परिवारबारे पनि केही कुरा थाह पाइराख्नु हो। त्यसैगरि हामीले यहोवा परमेश्वरलाई चिनेर मात्र पुग्दैन, उहाँको परिवार अर्थात्‌ स्वर्गदूतहरूबारे पनि थाह हुनुपर्छ। बाइबलमा स्वर्गदूतहरूलाई “परमेश्वरका छोराहरू” भनिएको छ। (भजन ८९:६) यहोवा परमेश्वरले किन स्वर्गदूत बनाउनुभयो? बितेका समयमा के तिनीहरूले मानिसहरूलाई मदत गरेका थिए? के स्वर्गदूतहरूले अहिले पनि तपाईंलाई मदत गर्न सक्छन्‌? सक्छन्‌ भने कसरी?

२. स्वर्गदूतहरूलाई कसले सृष्टि गऱ्यो? तिनीहरूको सङ्ख्या कति छ?

बाइबलमा स्वर्गदूतहरूबारे थुप्रै चोटि उल्लेख गरिएको छ। स्वर्गदूतहरूबारे अझ धेरै थाह पाउन केही बाइबल पद हेरौं। स्वर्गदूतहरूलाई कसले सृष्टि गऱ्यो? कलस्सी १:१६ यसो भन्छ: “उहाँद्वारै [अर्थात्‌ येशू ख्रीष्टद्वारै] स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए।” यहोवा परमेश्वरले आफ्नो जेठो छोराद्वारा सबै स्वर्गदूत सृष्टि गर्नुभयो। स्वर्गदूतहरूको सङ्ख्या कति छ? बाइबलअनुसार लाखौं-लाख स्वर्गदूत छन्‌ र तिनीहरू शक्तिशाली छन्‌।—भजन १०३:२०; प्रकाश ५:११.

३. अय्यूब ३८:४-७ बाट स्वर्गदूतहरूबारे के थाह पाउँछौं?

पृथ्वीको जग बसालिंदा “स्वर्गीय-जनहरू रमाहटले कराए” भनी  बाइबल बताउँछ। (अय्यूब ३८:४-७) मानिस सृष्टि हुनुभन्दा धेरै पहिला, भनौं भने पृथ्वी सृष्टि हुनुभन्दा अघि नै स्वर्गदूतहरू थिए। तिनीहरू “रमाहटले कराए” भन्ने शब्दबाट तिनीहरूको पनि भावना हुँदो रहेछ भनी थाह पाउँछौं। त्यतिबेला सबै स्वर्गदूत एकसाथ मिलेर यहोवा परमेश्वरको सेवा गर्थे।

स्वर्गदूतले दिने मदत अनि रक्षा

४. वफादार स्वर्गदूतहरू मानिसहरूको गतिविधिमा चासो लिन्छन्‌ भनी बाइबलले कसरी देखाउँछ?

आदम र हव्वा सृष्टि भएको समयदेखि नै वफादार स्वर्गदूतहरूले मानिसहरूबारे अनि पृथ्वीमा परमेश्वरको उद्देश्य कसरी पूरा हुनेछ भन्नेबारे गहिरो चासो लिंदै आएका छन्‌। (हितोपदेश ८:३०, ३१; १ पत्रुस १:११, १२) समय बित्दै जाँदा थुप्रै मानिसले मायालु सृष्टिकर्ताको सेवा गर्न छोडेको स्वर्गदूतहरूले देखे। यो देखेर वफादार स्वर्गदूतहरूलाई पक्कै दुःख लागेको हुनुपर्छ। त्यसैले त यहोवाकहाँ एक जना मात्र मानिस फर्क्यो भने पनि ‘दूतहरूमाझ रमाहट हुन्छ।’ (लूका १५:१०) स्वर्गदूतहरू परमेश्वरका सेवकहरूको गतिविधिमा गहिरो चासो लिन्छन्‌। त्यसैले आफ्ना वफादार सेवकहरूलाई बलियो बनाउन अनि तिनीहरूको रक्षा गर्न यहोवाले बारम्बार स्वर्गदूतहरूलाई चलाउनुभएको छ। (हिब्रू १:७, १४) केही उदाहरण विचार गरौं।

“सिंहहरूका मुख थुनिदिनलाई मेरा परमेश्वरले आफ्ना दूत पठाउनुभयो।”—दानियल ६:२२

५. स्वर्गदूतहरूले मदत गरेको कस्ता उदाहरणहरू बाइबलमा पाइन्छ?

दुष्ट मानिसहरूले भरिएको सदोम र गमोरा भन्ने सहर नाश हुँदा दुई जना स्वर्गदूतले असल मानिस लूत र तिनका छोरीहरूलाई बचाए। (उत्पत्ति १९:१५, १६) धेरै वर्षपछि त्यस्तै अर्को घटना भयो। शत्रुहरूले भविष्यवक्ता दानियललाई सिंहको खोरमा फाले तर सिंहहरूले तिनलाई केही हानि गरेनन्‌। तिनले यसो भने: “सिंहहरूका मुख थुनिदिनलाई मेरा परमेश्वरले आफ्ना दूत पठाउनुभयो।” (दानियल ६:२२) त्यसैगरि प्रथम शताब्दीमा स्वर्गदूतले प्रेषित पत्रुसलाई झ्यालखानाबाट छुटाए। (प्रेषित १२:६-११) साथै येशूले भर्खर पृथ्वीमा सेवा गर्न थाल्दा स्वर्गदूतहरूले उहाँको  सेवा-सुसार गरे। (मर्कूस १:१३) अनि येशूको मृत्यु हुनुभन्दा केही समयअघि एउटा स्वर्गदूत देखा परेर “उहाँलाई हौसला दिए।” (लूका २२:४३) स्वर्गदूतहरूको यस्तो मदतले गर्दा येशूले आफ्नो जीवनका महत्त्वपूर्ण घडीमा कति धेरै बल पाउनुभएको हुनुपर्छ!

६. (क) स्वर्गदूतहरूले आज कसरी परमेश्वरका जनको रक्षा गर्छन्‌? (ख) हामी कस्ता प्रश्नहरू विचार गर्नेछौं?

आज स्वर्गदूतहरू परमेश्वरका जनसामु साक्षात्‌ देखा पर्दैनन्‌। तर अहिले पनि शक्तिशाली स्वर्गदूतहरूले विभिन्न तरिकामा मदत गर्छन्‌। अझ विशेषगरि, परमेश्वरसितको सम्बन्धलाई हानि पुऱ्याउन सक्ने कुराहरूदेखि जोगाउन स्वर्गदूत सधैं सजग रहन्छन्‌। बाइबल यसो भन्छ: “उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्‌, र तिनीहरूलाई छुटकारा दिन्छन्‌।” (भजन ३४:७) यसले हामीलाई ठूलो सान्त्वना दिन्छ। किन? किनभने हामीलाई खतम पार्न चाहने खतरनाक दुष्ट स्वर्गदूतहरू पनि छन्‌! तिनीहरू को हुन्‌? तिनीहरूलाई कसले दुष्ट बनायो? अनि तिनीहरूले हामीलाई कसरी हानि गर्न खोज्छन्‌? आउनुहोस्, यी प्रश्नको जवाफ पाउन मानव इतिहासको सुरुमा भएको एउटा घटनाबारे छोटकरीमा विचार गरौं।

दुष्ट स्वर्गदूतहरू हाम्रा शत्रु हुन्‌

७. मानिसहरूलाई परमेश्वरबाट अलग पार्न सैतान कुन हदसम्म सफल भयो?

एउटा स्वर्गदूतको मनमा अरूमाथि शासन गर्ने इच्छा जाग्यो र त्यसले परमेश्वरको विरोध गऱ्यो भनेर हामीले अध्याय ३ मा सिकिसक्यौं। त्यो स्वर्गदूत सैतान अनि दियाबल भयो। (प्रकाश १२:९) हव्वालाई बहकाएपछि त्यसले लगभग १,६०० वर्षको दौडान प्रायजसो सबै मानिसलाई बहकाएर परमेश्वरबाट अलग पाऱ्यो। तर हाबिल, हनोक र नूहजस्ता व्यक्तिहरू भने परमेश्वरप्रति वफादार रहे।—हिब्रू ११:४, ५, ७.

८. (क) केही स्वर्गदूत कसरी दुष्ट बने? (ख) जलप्रलयबाट बच्न दुष्ट स्वर्गदूतहरूले के गरे?

नूहको पालामा अरू स्वर्गदूतले पनि यहोवाको विरोध गरे। स्वर्गमा  आफूले पाएको स्थान त्यागेर तिनीहरू पृथ्वीमा आए र मानव शरीर धारण गरे। किन? उत्पत्ति ६:२ मा यस्तो जवाफ पाउँछौं: “परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे। औ आफ्नो आफ्नो रुचिका पत्नीहरू ल्याए।” तर यहोवा परमेश्वरले लामो समयसम्म ती स्वर्गदूतलाई आफूखुसी गर्न अनि मानिसहरूलाई भ्रष्ट बनाउन दिनुभएन। उहाँले पृथ्वीमा जलप्रलय ल्याउनुभयो। उहाँका वफादार सेवकहरूबाहेक सबै दुष्ट मानिस जलप्रलयमा नाश भए। (उत्पत्ति ७:१७, २३) विद्रोही स्वर्गदूतहरू आफ्नो मानव शरीर त्यागेर स्वर्ग फर्कन बाध्य भए। यी दुष्ट स्वर्गदूतहरूले सैतानको पक्ष लिए। यसरी सैतान “दुष्ट स्वर्गदूतहरूको शासक” बन्यो।—मत्ती ९:३४.

९. (क) स्वर्ग फर्केपछि दुष्ट स्वर्गदूतहरूलाई के भयो? (ख) दुष्ट स्वर्गदूतहरूले मानिसहरूलाई के गरिरहेका छन्‌?

 परमेश्वरको आज्ञा पालन नगर्ने यी स्वर्गदूतहरू स्वर्ग फर्केपछि सैतानलाई जस्तै तिनीहरूलाई पनि परमेश्वरको परिवारबाट निकालियो। (२ पत्रुस २:४) तिनीहरूले फेरि मानव शरीर धारण गर्न सकेनन्‌। तैपनि तिनीहरूले मानिसहरूलाई खराब काम गर्न उक्साउन छोडेका छैनन्‌। भनौं भने ती दुष्ट स्वर्गदूतहरूको मदत लिएर सैतानले ‘सारा संसारलाई ठगिरहेको छ।’ (प्रकाश १२:९; १ यूहन्ना ५:१९) ती दुष्ट स्वर्गदूतहरूले विभिन्न तरिका चलाएर मानिसहरूलाई बहकाइरहेका छन्‌। (२ कोरिन्थी २:११) आउनुहोस्, तीमध्ये केही विचार गरौं।

दुष्ट स्वर्गदूतहरूले कसरी बहकाउँछन्‌?

१०. तन्त्रमन्त्र के हो?

१० मानिसहरूलाई बहकाउन दुष्ट स्वर्गदूतहरूले चलाउने एउटा तरिका तन्त्रमन्त्र हो। तन्त्रमन्त्र भनेको दुष्ट स्वर्गदूतहरूसित सीधै वा मानव माध्यमद्वारा सम्पर्क राख्नु हो। बाइबलले तन्त्रमन्त्रमा भाग लिनु गलत हो भन्छ र तन्त्रमन्त्र मुछिएको सबै कुराबाट अलग रहनू भनी चेतावनी दिन्छ। (गलाती ५:१९-२१) मछुवाले विभिन्न प्रकारका माछा समात्न विभिन्न किसिमको चारो हालेर बल्छी थाप्छ। त्यसरी नै दुष्ट स्वर्गदूतहरूले पनि हर प्रकारका मानिसलाई पासोमा पार्न तन्त्रमन्त्रलाई विभिन्न तरिकामा चलाउँछ।

११. ज्योतिषविद्यामा कस्ता कुरा पर्छन्‌ र यसबाट हामी किन अलग रहनुपर्छ?

११ मानिसहरूलाई पासोमा पार्न दुष्ट स्वर्गदूतहरूले चलाउने एउटा तरिका ज्योतिषविद्या हो। ज्योतिषविद्यामा चिना हेर्ने, हात हेर्ने, राशिफल हेर्ने, सपनाको अर्थ खुलाउने अनि तासको पत्ता हेरेर भविष्य बताउनेजस्ता कुराहरू पर्छन्‌। धेरैलाई ज्योतिषविद्याले कुनै हानि गर्दैन जस्तो लाग्छ। तर ज्योतिषीहरूले दुष्ट स्वर्गदूतहरूसित मिलेर काम गरिरहेका हुन्छन्‌ भनेर बाइबल बताउँछ। उदाहरणको लागि, प्रेषित १६:१६-१८ मा “दुष्ट स्वर्गदूत बास गरेको” एउटी केटीबारे चर्चा गरिएको छ, जसले “भावी बताउने”  काम गर्थी। तर त्यस दुष्ट स्वर्गदूतलाई निकालेपछि उसले त्यो काम गर्न सकिन।

दुष्ट स्वर्गदूतहरूले विभिन्न तरिका चलाएर मानिसहरूलाई पासोमा पार्छन्‌

१२. मरिसकेको मान्छेसित कुरा गर्न खोज्नु किन खतरनाक हो?

१२ मरिसकेको मान्छेसित सम्पर्क राख्न अथवा तिनीहरूको विषयमा बुझ्न उक्साएर पनि दुष्ट स्वर्गदूतहरूले मानिसहरूलाई बहकाउँछ। मरिसकेको मानिसबारे फैलिएको विभिन्न गलत धारणाले गर्दा मानिसहरू अक्सर भ्रमको सिकार हुन्छन्‌। मरेको मान्छेले तर्साउन आयो भनेर कोही-कोही भन्ने गर्छन्‌। मरिसकेको मान्छेलाई देखें अथवा उनीहरूले बोलेको सुनें भन्ने गर्छन्‌। यस्तो बेला मानिसहरू झाँक्रीकहाँ मदत माग्न जान्छन्‌। झाँक्रीले मरेको मान्छेसित कुरा गरेको अथवा मदत मागेको देखेर मरिसकेको मान्छे त जिउँदै हुँदा रहेछन्‌ भनेर तिनीहरू पत्याउन थाल्छन्‌। मरिसकेको मान्छेले हामीलाई मदत गर्न सक्छ अथवा दुःख दिन सक्छ भनेर तिनीहरू विश्वास गर्छन्‌। तर यस्तो कुराको बहकाउमा परेर मरिसकेको मान्छेसित सम्पर्क राख्नु हानिकारक कुरा हो। किन? किनभने मरेको मान्छेको आवाज निकाल्ने अथवा धामी-झाँक्रीलाई मरेको मान्छेबारे  जानकारी दिने अरू कोही नभई वास्तवमा दुष्ट स्वर्गदूतहरू नै हुन्‌। (१ शमूएल २८:३-१९) मरिसकेको मानिसले केही पनि गर्न सक्दैन अनि तिनीहरूको अस्तित्व हुँदैन भनेर हामीले अध्याय ६ मा सिकिसक्यौं। (भजन ११५:१७) “मसान जगाउन खोज्ने” व्यक्ति दुष्ट स्वर्गदूतको इसारामा नाचिरहेको हुन्छ। त्यसैले तिनीहरूको मदत लिनु यहोवा परमेश्वरको इच्छाविपरीत काम गर्नु हो। (व्यवस्था १८:१०, ११; यशैया ८:१९) दुष्ट स्वर्गदूतहरूको यो खतरनाक पासोदेखि होसियार हुनुहोस्।

१३. दुष्ट स्वर्गदूतहरूसित डराउँदै जीवन बिताउने मानिसहरूले के गर्न सकेका छन्‌?

१३ दुष्ट स्वर्गदूतहरूले मानिसहरूलाई बहकाउने मात्र होइन, डर अनि सन्त्रासको सिकार पनि बनाउने गर्छन्‌। चाँडै, सैतान र त्यसका दूतहरूले केही गर्न सक्नेछैनन्‌। त्यसैले “आफ्नो समय थोरै मात्र बाँकी” भएकोले तिनीहरू पहिलाभन्दा झनै क्रूर भएका छन्‌। (प्रकाश १२:१२, १७) ती दुष्ट स्वर्गदूतहरूसित डराएर जीवन बिताइरहेका हजारौं मानिस अहिले त्यस्तो डरबाट मुक्त भएका छन्‌। कसरी? तन्त्रमन्त्रमा लागेको मानिस कसरी त्यसको मुठीबाट मुक्त हुन सक्छ?

दुष्ट स्वर्गदूतहरूको विरोध कसरी गर्ने?

१४. एफिससका ख्रीष्टियनहरूजस्तै हामी कसरी दुष्ट स्वर्गदूतहरूबाट मुक्त हुन सक्छौं?

१४ दुष्ट स्वर्गदूतहरूको विरोध कसरी गर्ने र तिनीहरूबाट कसरी मुक्त हुने भनेर बाइबलमा बताइएको छ। प्रथम शताब्दीको एफिसस भन्ने सहरका ख्रीष्टियनहरूलाई विचार गर्नुहोस्। तिनीहरूमध्ये कोही-कोही ख्रीष्टियन हुनुअघि तन्त्रमन्त्रमा भाग लिन्थे। त्यसबाट मुक्त हुन तिनीहरूले के गरे? बाइबल यस्तो जवाफ दिन्छ: “पहिले-पहिले जादुगरी गर्ने थुप्रै मानिसले आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए।” (प्रेषित १९:१९) जादुगरीसम्बन्धी पुस्तकहरू जलाएर ती ख्रीष्टियनहरूले राम्रो उदाहरण बसाले। अहिले यहोवाको सेवा गर्न चाहनेहरूले पनि त्यसैगरि तन्त्रमन्त्रसित सम्बन्धित सबै कुरा हटाउनुपर्छ। जस्तै: तन्त्रमन्त्रमा भाग लिन प्रोत्साहन दिने अथवा तन्त्रमन्त्रलाई आकर्षक अनि रोमाञ्चकारी बनाउने किताब, पत्रिका, भिडियो, पोस्टर, गीत तथा सङ्गीत। आफ्नो रक्षाको लागि बाँधिने  जन्तर र त्यस्तै अरू चिजबीज पनि हटाउनुपर्छ।—१ कोरिन्थी १०:२१.

१५. दुष्ट स्वर्गदूतहरूको विरोध गर्न हामीले के गर्नुपर्छ?

१५ एफिससका ख्रीष्टियनहरूले जादुगरीसम्बन्धी पुस्तकहरू नष्ट गरेको केही वर्षपछि प्रेषित पावलले तिनीहरूलाई यस्तो लेखे: “हाम्रो यो लडन्त . . . स्वर्गका दुष्ट दूतहरूका दलसित हो।” (एफिसी ६:१२) दुष्ट स्वर्गदूतहरूले हार मानेका थिएनन्‌। तिनीहरूले मानिसहरूलाई आफ्नो वशमा पार्न अझै पनि कोसिस गरिरहेका थिए। ती ख्रीष्टियनहरूले अरू के गर्नुपर्थ्यो? पावलले यसो भने: “सबैभन्दा मुख्य कुरा, विश्वासको ठूलो ढाल लेओ, जसद्वारा तिमीहरूले त्यस दुष्टका [अर्थात्‌ सैतानका] सबै अग्निबाणहरू निभाउन सक्नेछौ।” (एफिसी ६:१६) हामीले आफ्नो विश्वासलाई ढालजस्तै बलियो बनायौं भने दुष्ट स्वर्गदूतहरूको विरोध गर्न सक्नेछौं।—मत्ती १७:२०.

१६. हामी आफ्नो विश्वासलाई कसरी बलियो बनाउन सक्छौं?

१६ त्यसोभए हामी कसरी आफ्नो विश्वासलाई बलियो बनाउन सक्छौं? बाइबल अध्ययन गरेर। पर्खाल कत्तिको बलियो छ भन्ने कुरा त्यसको जगमा निर्भर हुन्छ। ठीक त्यसैगरि हाम्रो विश्वास कत्तिको बलियो छ, त्यसको जगमा भर पर्छ। त्यो जग हो, परमेश्वरको वचन बाइबलको सही ज्ञान। हरेक दिन बाइबल पढ्यौं अनि अध्ययन गऱ्यौं भने हाम्रो विश्वास बलियो हुनेछ। बलियो पर्खालले सहरको रक्षा गरेजस्तै बलियो विश्वासले हाम्रो रक्षा गर्नेछ।—१ यूहन्ना ५:५.

१७. दुष्ट स्वर्गदूतहरूको विरोध गर्न कस्तो कदम चाल्नुपर्छ?

१७ एफिससका ख्रीष्टियनहरूले अर्को एउटा कदम पनि चाल्नुपर्थ्यो। तन्त्रमन्त्र व्याप्त भएको सहरमा बसिरहेको हुनाले तिनीहरूले अर्को एउटा काम पनि गर्नुपर्थ्यो। पावलले यसो भने: “हरकिसिमका प्रार्थना अनि उत्कट बिन्ती चढाएर तिमीहरू पवित्र शक्तिद्वारा हरबखत प्रार्थना गरिरहो।” (एफिसी ६:१८) अहिले पनि तन्त्रमन्त्र व्याप्त छ। त्यसैले हामीले पनि जोडतोडले प्रार्थना गरेर यहोवासित मदत मागिरहनुपर्छ। यहोवाको नाम पुकारेर प्रार्थना गर्नुपर्छ। (हितोपदेश १८:१०) “दुष्ट” सैतान र त्यसका  स्वर्गदूतहरूबाट हामीलाई बचाउनुहोस् भनेर हामीले बिन्ती गरिरहनुपर्छ। (मत्ती ६:१३) यहोवाले पक्कै पनि हाम्रो निष्कपट प्रार्थनाको जवाफ दिनुहुन्छ।—भजन १४५:१९.

१८, १९. (क) दुष्ट स्वर्गदूतहरूसितको लडाइँ हामी कसरी जित्न सक्छौं? (ख) अर्को अध्यायमा कुन प्रश्नबारे छलफल गर्नेछौं?

१८ दुष्ट स्वर्गदूतहरू खतरनाक छन्‌ तर तिनीहरूको विरोध गऱ्यौं अनि परमेश्वरलाई मन पर्ने काम गरेर उहाँसित घनिष्ठ भयौं भने तिनीहरूसित डराउनुपर्दैन। (याकूब ४:७, ८) दुष्ट स्वर्गदूतहरूको शक्ति सीमित छ। तिनीहरूले नूहको पालामा सजाय पाइसके अनि भविष्यमा तिनीहरूको विनाश हुनेछ। (यहूदा ६) यहोवाका शक्तिशाली स्वर्गदूतहरूले हाम्रो रक्षा गर्छन्‌ भनेर पनि नबिर्सनुहोस्। (२ राजा ६:१५-१७) हामीले दुष्ट स्वर्गदूतहरूको विरोध गरेको तिनीहरू हेर्न चाहन्छन्‌। तिनीहरू हाम्रो हौसला बढाउन चाहन्छन्‌। त्यसकारण यहोवासित अनि वफादार स्वर्गदूतहरू मिलेर बनेको उहाँको परिवारसित हामी सधैं घनिष्ठ भइरहौं। साथै हर किसिमको तन्त्रमन्त्रबाट टाढा बसौं अनि बाइबलले दिने सल्लाह सधैं लागू गरौं। (१ पत्रुस ५:६, ७; २ पत्रुस २:९) यसो गऱ्यौं भने दुष्ट स्वर्गदूतहरूसितको लडाइँ पक्कै जित्नेछौं!

१९ तर परमेश्वरले किन मानिसहरूको दुःखकष्ट र ती दुष्ट स्वर्गदूतहरूलाई हटाउनुहुन्न? यस प्रश्नको जवाफ अर्को अध्यायमा छलफल गर्नेछौं।