सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय पाँच

“तिमी गुणवती छौ”

“तिमी गुणवती छौ”

१, २. (क) रूथ के गरिरहेकी थिइन्‌? (ख) परमेश्‍वरका नियम र उहाँका जनबारे कस्ता राम्रा कुरा रूथले थाह पाइन्‌?

रूथ आफूले दिनभरि जम्मा गरेको जौको बालाको थुप्रोअगाडि घुँडा टेकेर बसिरहेकी छिन्‌। घामको रातो लालीले बेतलेहेमका मैदानहरूलाई बिदा गर्नै लागिसकेको छ। धेरैजसो कामदारहरूले पनि बाटो तताउन थालिसकेका छन्‌। तिनीहरूलाई डाँडामा रहेको सहरको ढोकासम्मै पुग्नु छ। बिहानैदेखि काम थालेका रूथका मेहनती हातहरू पनि अब त फतक्क गलिसकेका छन्‌। तैपनि ती पौरखी हातहरू थामिएका छैनन्‌। बिटा चुट्‌दै अनि लट्ठीले हिर्काउँदै तिनी अन्‍न झारिरहेकी छिन्‌। दिनभरि घोटिएर गरेको मेहनतको फल तिनले पाएकी छिन्‌। सोचेभन्दा कता हो कता धेरै!

अब विधवा रूथको सुखको दिन सुरु भएको पो हो कि? नाओमी जहाँ गए पनि उनीसितै टाँसिइरहने र उनको परमेश्‍वर यहोवालाई नै आफ्नो परमेश्‍वर बनाउने शपथ खाएर रूथले नाओमीसँगै बस्ने निधो गरेकी थिइन्‌। यो कुरा हामीले अघिल्लो अध्यायबाट बुझिसक्यौं। शोकमा डुबेका ती दुई स्त्रीहरू मोआबबाट सँगसँगै बेतलेहेम आएका थिए। इस्राएलमा भएका गरिब तथा परदेशीहरूको समेत यहोवाले ख्याल राख्नुहुन्छ भन्‍ने कुरा उहाँले दिनुभएका नियमहरूबाट मोआबी रूथले थाह पाइन्‌। यहोवाको व्यवस्थालाई प्रेम गर्ने उहाँका जनले पनि उहाँले जस्तै दया देखाउँदा रहेछन्‌ भनेर रूथले महसुस गरिन्‌। यस्तो व्यवहारले तिनको मनै छोयो।

३, ४. (क) बोअजले रूथलाई कसरी प्रोत्साहन दिए? (ख) आर्थिक अवस्था डामाडोल भइरहेको अहिलेको संसारमा रूथबाट हामी के सिक्न सक्छौं?

त्यस्तो राम्रो व्यवहार देखाउने एक जना मानिस बोअज हुन्‌। ती पाको उमेरका अनि धनी मानिसकै खेतमा रूथ सिलाबाला बटुलिरहेकी छिन्‌। बोअजले आज तिनलाई बुबाले जस्तै चासो देखाए। नाओमीको ख्याल राखेकोमा अनि साँचो परमेश्‍वर यहोवाको छत्रछायामा शरण लिएकोमा बोअजले तिनको प्रशंसा पनि गरे। त्यो कुरा सम्झेर रूथ मनमनै फुरुङ्‌ङ परेकी छिन्‌।—रूथ २:११-१४ पढ्‌नुहोस्‌।

तैपनि अब यो जिन्दगीले कहाँ पुऱ्‍याउने होला भनेर तिनलाई चिन्ता लागेको हुन सक्छ। एउटी गरिब विदेशी, साथमा न श्रीमान्‌ छन्‌ न त कुनै सन्तान नै। तिनले बाँकी जिन्दगी कसरी बिताउलिन्‌ र आफ्नी सासूको हेरचाह कसरी गर्लिन्‌? यसरी सिलाबाला बटुलेर कतिन्जेल चल्ला? बुढेसकालमा तिनलाई कसले सहारा देला? हो, यस्तै-यस्तै चिन्ताले तिनलाई पिरोलिरहेको हुन सक्छ। आर्थिक अवस्था डामाडोल भइरहेको अहिलेको संसारमा थुप्रैलाई यस्तै चिन्ताले सताउँछ। रूथको विश्‍वासले तिनलाई चुनौतीहरूको सामना गर्न कसरी मदत गऱ्‍यो, त्यो बुझ्यौं भने तिनको उदाहरणबाट हामी पनि लाभ उठाउन सक्छौं।

परिवारको अर्थ

५, ६. (क) बोअजको खेतमा रूथले पहिलो दिन कति सिलाबाला बटुलिन्‌? (ख) रूथलाई देखेपछि नाओमीले कस्तो प्रतिक्रिया देखाइन्‌?

अन्‍नको बिटा चुट्‌ने काम पनि सकियो। त्यसपछि रूथ अन्‍न बटुल्नतिर लागिन्‌। तिनले जम्मा गरेको अन्‍न चार पाथी जति भएछ! अहिलेको हिसाबअनुसार यो लगभग १४ किलो हुन आउँछ। सायद तिनले त्यो अन्‍न एउटा कपडामा पोको पारिन्‌ र टाउकोमाथि राखेर बेतलेहेमतिर हिंडिन्‌। घर पुग्दा झमक्क साँझ परिसकेको थियो।—रूथ २:१७.

प्यारी बुहारी घर फर्कंदा नाओमी खुसी भइन्‌। रूथले जौको त्यत्ति ठूलो पोको ल्याएको देखेर सायद उनी छक्क परिन्‌। बोअजले कामदारहरूको लागि भनेर दिएको खाजा पनि तिनले उबारेर ल्याएकी थिइन्‌। अब दुई जना मिलेर त्यो खाजा खान्छन्‌। नाओमी सोध्छिन्‌: “आज तिमीले कहाँ शिला-बाला बटुल्यौ? ती मानिस धन्यका होऊन्‌ जसले कृपागरी तिम्रो हेरचाहा गरे।” (रूथ २:१९) रूथले त्यत्ति धेरै अन्‍न त्यसै ल्याएकी होइनन्‌ तर कसैले तिनको अवस्था याद गरेर तिनलाई दया देखाएको हुनुपर्छ भनेर नाओमीले बुझिहालिन्‌।

७, ८. (क) बोअजले दया देखाउनुको पछाडि कसको हात छ भनेर नाओमीले महसुस गरिन्‌? किन? (ख) रूथले आफ्नी सासूप्रति वफादार प्रेम देखाउन छोडिनन्‌ भनेर हामी कसरी थाह पाउँछौं?

दुई जना कुराकानीमा मस्त हुन्छन्‌। बोअज कत्ति जाति रहेछन्‌ भनेर रूथ नाओमीलाई सुनाउँछिन्‌। खुसी हुँदै नाओमी भन्छिन्‌: “परमप्रभुले तिनलाई आशिष्‌ देऊन्‌, परमप्रभुले जिउँदा र मरेकाहरूमाथि कृपा गर्न छोड्‌नुभएन।” (रूथ २:२०) बोअजले दया देखाउनुको पछाडि यहोवाकै हात छ भनेर नाओमीले महसुस गरिन्‌। किनभने आफ्ना जनहरूलाई उदार हुन सिकाउने यहोवा नै हुनुहुन्छ र त्यसो गरेमा तिनीहरूलाई आशिष्‌ दिने प्रतिज्ञा पनि उहाँले गर्नुभएको छ भनेर नाओमीलाई थाह थियो। *हितोपदेश १९:१७ पढ्‌नुहोस्‌।

बोअजले उनकै खेतमा सिलाबाला बटुल्नू र अरू खेतालाहरूले नहेपून्‌ भनेर उनकै घरका स्त्रीहरूमाझ रहनू भनेर रूथलाई भनेका थिए। बोअजको त्यो सल्लाह मान्‍नू भनेर नाओमीले रूथलाई भनिन्‌ र रूथले त्यो कुरा मानिन्‌। रूथ सधैं “आफ्नी सासूकै साथमा रहन्थिन्‌।” (रूथ २:२२, २३) बाइबलका यी शब्दहरूमा रूथको त्यही उत्कृष्ट गुण देखिन्छ। त्यो हो, वफादार प्रेम। रूथको उत्कृष्ट उदाहरण विचार गर्दा हामी आफैलाई यस्ता प्रश्‍न सोध्न उत्प्रेरित हुन्छौं: “के म पनि पारिवारिक बन्धनको कदर गर्छु? गर्छु भने के म परिवारका सदस्यहरूको आवश्‍यकता पूरा गर्न तयार छु? अनि तिनीहरू खाँचोमा परेको बेला म कत्तिको मदत गर्छु?” हामीले देखाएको वफादार प्रेम यहोवा सधैं याद गर्नुहुन्छ।

परिवार सानो होस्‌ या ठूलो, त्यसको कदर गर्नुपर्छ भनेर रूथ र नाओमीको उदाहरणले हामीलाई सम्झाउँछ

९. परिवारको अर्थबारे रूथ र नाओमीको उदाहरणबाट हामी के सिक्न सक्छौं?

के रूथ र नाओमीलाई परिवार भन्‍न मिल्छ? कसै-कसैको भनाइअनुसार परिवार हुनको लागि श्रीमान्‌, श्रीमती, छोरा, छोरी, बाजे, बज्यै अनि अरू सदस्यहरू हुनुपर्छ, त्यस्तोलाई मात्र साँचो अर्थमा परिवार भन्‍न सकिन्छ। तर रूथ र नाओमीको उदाहरणले यो कुरालाई गलत साबित गर्छ। परिवारमा थोरै सदस्य मात्र किन नहोऊन्‌, यहोवाका सेवकहरूले आफ्नो मनको दैलो खोलेमा परिवारको वातावरण न्यानो, दयालु र मायालु बनाउन सक्छन्‌। तपाईंको परिवार सानो होस्‌ या ठूलो, के तपाईं त्यसको कदर गर्नुहुन्छ? आफ्नो भन्‍ने कोही नभएकाहरूको लागि समेत ख्रीष्टियन मण्डली परिवार साबित हुन सक्छ भनेर येशूले चेलाहरूलाई सम्झाउनुभयो।—मर्कू. १०:२९, ३०.

रूथ र नाओमीले एकअर्कालाई मदत गरे र प्रोत्साहन दिए

“मोल तिरी छुटाउने”

१०. नाओमी आफ्नी बुहारीको लागि के गर्न चाहन्थिन्‌?

१० अप्रिल महिनाको जौ कटनीको समयदेखि जून महिनाको गहुँ कटनीको समयसम्म रूथले बोअजको खेतमा सिलाबाला बटुलिन्‌। समय बित्दै जाँदा नाओमीले आफ्नी प्यारी बुहारी रूथको लागि केही गर्न सक्छु कि भनेर सोचेकी हुनुपर्छ। मोआबमा छँदा रूथको लागि श्रीमान्‌ खोजिदिन सक्दिनँ भन्‍ने नाओमीलाई लागेको थियो। (रूथ १:११-१३) तर अहिले उनमा आशा पलाएको छ। उनले रूथलाई यसो भनिन्‌: “हे मेरी छोरी, तिम्रो आफ्नै घरबार गरेर बसेकी म हेर्न चाहन्छु।” (रूथ ३:१) त्यतिबेला छोराछोरीको लागि आमाबाबुले जोडी खोजिदिने चलन थियो। रूथ पनि एक अर्थमा नाओमीकी छोरी भइसकेकी थिइन्‌। नाओमी आफ्नी बुहारीले “घरबार” बसाएको हेर्न चाहन्थिन्‌। रूथको पनि ओत लाग्ने एउटा घर होस्‌ र आवश्‍यक कुरा जुटाइदिने मायालु श्रीमान्‌ होस्‌ भन्‍ने नाओमीको इच्छा थियो। तर यसको लागि नाओमी के गर्न सक्थिन्‌?

११, १२. (क) नाओमीले बोअज “मोल तिरी छुटाउने” व्यक्‍ति हुन्‌ भन्दा उनले यहोवाको कुन मायालु प्रबन्धबारे बताइरहेकी थिइन्‌? (ख) आफ्नी सासूको सल्लाहप्रति रूथले कस्तो प्रतिक्रिया देखाइन्‌?

११ रूथले बोअजबारे पहिलो चोटि बताउँदा नाओमीले यसो भनेकी थिइन्‌: “ती मानिस त हाम्रा नजिकका कुटुम्ब, मोल तिरी छुटाउने हुन्‌।” (रूथ २:२०, NRV) यसको अर्थ के थियो? यहोवाले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा गरिबीले अथवा परिवारका सदस्यको मृत्युले गर्दा दुःख पाइरहेकाहरूको लागि मायालु प्रबन्ध मिलाइएको थियो। यदि कुनै स्त्री छोराछोरी नहुँदै विधवा भइन्‌ भने त्यो जस्तो दुःखको कुरा अरू केही हुँदैनथ्यो। किनभने श्रीमान्‌को मृत्युसँगसँगै तिनको नाम, तिनको वंश सबै नै मेटिएर जाने थियो। तर यहोवाको व्यवस्थाअनुसार मृतकको दाजु वा भाइले ती विधवासित विवाह गर्न सक्थ्यो। यसले गर्दा ती विधवाबाट जन्मेको सन्तानले मृतकको नामलाई जोगाउने थियो र तिनको सम्पत्तिको रेखदेख गर्ने थियो। *व्यव. २५:५-७.

१२ नाओमी आफ्नो योजना रूथलाई बेलीबिस्तार लगाउन थाल्छिन्‌। आफ्नी सासूले बोल्दै गर्दा रूथले पक्कै पनि वाल्ल पर्दै उनको अनुहार एकटकले हेरिरहेकी हुनुपर्छ। इस्राएलको नियम रूथको लागि अझै पनि नौलो थियो। त्यहाँका कतिपय प्रचलनहरूसित तिनी अझै पनि भिज्न सकेकी थिइनन्‌। आफ्नी सासूलाई अति आदर गर्ने भएकोले रूथ उनको कुरा ध्यान दिएर सुन्छिन्‌। नाओमीले दिएको सल्लाह तिनको लागि अप्ठेरो अनि लाजमर्दो किसिमको थियो। उनको कुराले रूथलाई होच्याएको महसुस पनि हुन सक्थ्यो। तैपनि तिनी नाओमीको कुरा मान्छिन्‌। नम्र हुँदै तिनी यसो भन्छिन्‌: “तपाईं जे भन्‍नुहुन्छ म गर्नेछु।”—रूथ ३:५.

१३. वृद्धहरूको सल्लाह सुन्‍ने सन्दर्भमा हामी रूथको उदाहरणबाट के पाठ सिक्न सक्छौं? (अय्यूब १२:१२ पनि हेर्नुहोस्‌)

१३ जवानहरूलाई आफूभन्दा ठूला अनि अनुभवीहरूको सल्लाह स्वीकार्न कहिलेकाहीं गाह्रो हुन्छ। ‘बूढा/बूढीहरूले हाम्रो कुरा कहाँ बुझ्छन्‌ र!’ जस्तो तिनीहरूलाई लाग्न सक्छ। तर हामीलाई माया गर्ने अनि चासो देखाउने अनुभवी वृद्धहरूको कुरा सुन्‍नु त आशिष्‌ नै हो भनेर नम्र रूथको उदाहरणबाट हामी सिक्न सक्छौं। (भजन ७१:१७, १८ पढ्‌नुहोस्‌) नाओमीले रूथलाई कस्तो सल्लाह दिइन्‌? अनि रूथले नाओमीको सल्लाह स्वीकार्दा आशिष्‌ पाइन्‌ त?

रूथ खलामा जान्छिन्‌

१४. खलाको बारेमा केही बताउनुहोस्‌।

१४ त्यो साँझ रूथ खलामा गइन्‌। त्यहाँ किसानहरू अन्‍न झार्ने र बत्ताउने गर्थे। त्यो ठाउँ विशेषगरि पहाडको छेउतिर वा टुप्पोतिर बनाइएको हुन्थ्यो। किनभने त्यस्तो ठाउँमा दिन ढल्केपछि मजाले हावा चल्ने गर्थ्यो। अन्‍न बत्ताउँदा किसानहरू ठूलो काँटा वा बेल्चा प्रयोग गर्थे। तिनीहरू भुस मिसिएको अन्‍नलाई हावामा बत्ताउँथे। यसो गर्दा हलुका भुसजति हावाले उडाउँथ्यो अनि गह्रौं अन्‍नजति एकातिर रास लाग्थ्यो।

१५, १६. (क) बोअजले साँझको काम सकाएपछिको दृश्‍य बताउनुहोस्‌। (ख) बोअजले रूथ आफ्नो खुट्टानिर ढल्किरहेको कुरा कसरी चाल पाए?

१५ खेतालाहरूले कतिखेर काम सिध्याउलान्‌ भनेर रूथ हेर्दैछिन्‌। तिनी यतिखेर निकै चनाखो छिन्‌। बत्ताइसकेको अन्‍नको रासतिर बोअज आफ्नो नजर लगाउँछन्‌। उनी निकै खुसी हुन्छन्‌। केही खाइसकेपछि उनी त्यही रासको छेउतिर ढल्किन्छन्‌। चोर-डाँकुहरूले अन्‍न नलगून्‌ भनेर त्यतिबेला यसरी नै खला रुँग्ने चलन थियो। बोअजले सुत्ने तरखर गर्दै गरेको रूथ देख्छिन्‌। अब नाओमीले भनेअनुसारै गर्ने समय पनि आयो।

१६ रूथ बिस्तारै आफ्नो पाइला अघि सार्छिन्‌। तिनी जति-जति पाइला अघि सार्छिन्‌, त्यति-त्यति नै तिनको मुटुको ढुकढुकी बढ्‌दै जान्छ। बोअज मस्त निद्रामा परेको कुरा तिनी चाल पाउँछिन्‌। त्यसैले नाओमीले भनेजस्तै तिनी बोअजको खुट्टानिर जान्छिन्‌। उनको खुट्टातिर भएको ओड्‌ने उठाएर रूथ त्यहीं ढल्किन्छिन्‌। त्यसपछि तिनी बोअज कहिले ब्यूँझेलान्‌ भनेर पर्खिन्छिन्‌। रात पनि छिप्पिंदै जान्छ। त्यो रात तिनलाई निकै लामो लागेको हुनुपर्छ। अन्ततः मध्यराततिर बोअज चलमलाउन थाल्छन्‌। खुट्टामा चिसो लागेकोले अलि तन्केर उनी ओढ्‌नेले आफ्नो खुट्टा ढाक्न खोज्छन्‌। तर त्यहाँ कोही छ जस्तो उनलाई लाग्छ। विवरण यसो भन्छ: “एउटी स्त्रीलाई आफ्नो खुट्टामा ढल्किरहेकी तिनले देखे।”—रूथ ३:८.

१७. रूथलाई आरोप लगाउनेहरूले कुन दुई सरल तथ्यलाई बेवास्ता गरेका छन्‌?

१७ बोअजले सोधे, “तिमी को हो?” रूथले सायद थरथर काम्दै यसो भनिन्‌, “म तपाईंकी दासी रूथ हुँ। अब तपाईंको लुगा आफ्नी दासीलाई ओडाइदिनुहोस्‌, किनभने तपाईं मेरा नजिकका नातेदार हुनुहुन्छ।” (रूथ ३:९) आधुनिक समयका केही अनुवादकहरू रूथको हावभाव अनि शब्दहरूमा यौन इच्छाको भाव झल्किन्छ भन्‍ने तर्क गर्छन्‌। तर तिनीहरूले दुइटा सरल तथ्यलाई बेवास्ता गरेका छन्‌। पहिलो: रूथ त्यतिबेलाको प्रचलनअनुसार चल्न खोज्दै थिइन्‌। त्यतिबेलाका कतिपय चलनहरू अहिले हराइसकेकोले हामी त्यसबारे बुझ्नै सक्दैनौं। त्यसैले तिनको कामलाई अहिलेको पतित नैतिक स्तरसित तुलना गर्नु मूर्खता हुनेछ। दोस्रो: रूथले चालेको कदम नैतिक रूपमा स्वच्छ र अत्यन्तै प्रशंसनीय थियो भन्‍ने कुरा बोअजको प्रतिक्रियाबाट स्पष्ट हुन्छ।

रूथले चोखो मनले र निस्स्वार्थ भावले बोअजलाई नातेदारको कर्तव्य पूरा गर्न आग्रह गरिन्‌

१८. रूथलाई सान्त्वना दिन बोअजले के भने? रूथले गरेका कुन दुइटा काम उनले उल्लेख गरे?

१८ बोअजको दयालु वचनले रूथलाई सान्त्वना दियो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। उनले भने: “हे मेरी छोरी, परमप्रभुले तिमीलाई आशिष्‌ दिनुभएको छ। तिमीले देखाएको यो आखिरी भक्‍ति पहिलेको भन्दा प्रगाढ छ। धनी कि गरिब कुनै जवान मानिसको पछि तिमी लागेनौ।” (रूथ ३:१०) ‘पहिलो भक्‍ति’ भन्‍ने पदावलीले नाओमी इस्राएल फर्कंदा रूथले उनलाई साथ दिएर अनि उनको ख्याल राखेर देखाएको वफादार प्रेमलाई सङ्‌केत गर्छ। “आखिरी भक्‍ति” भन्‍ने पदावलीले चाहिं तिनले अहिले चालेको कदमलाई बुझाउँछ। जवान र सुन्दर रूथले चाहेको खण्डमा धनी होस्‌ वा गरिब आफूले चाहेजस्तो जवान केटा भेट्टाउन सक्थिन्‌ भन्‍ने कुरा बोअजलाई थाह थियो। रूथ नाओमीको लागि मात्र होइन तर आफ्नो मरिसकेको श्रीमान्‌को लागि पनि केही गर्न चाहन्थिन्‌। रूथ इस्राएलमा आफ्नो श्रीमान्‌को नाम जोगाउन चाहन्थिन्‌। यी निस्स्वार्थी स्त्रीलाई देखेर बोअज किन प्रभावित भए, त्यो बुझ्न गाह्रो छैन।

१९, २०. (क) बोअजले किन रूथसित विवाह गरिहालेनन्‌? (ख) बोअजले रूथलाई दया देखाएको अनि तिनको इज्जतको ख्याल राखेको कुरा कसरी देखाए?

१९ बोअज अझै भन्छन्‌: “अब हे मेरी छोरी, ढुक्क भएर बस। तिमी जे चाहन्छौ म गर्नेछु, किनभने तिमी गुणवती छौ भन्‍ने कुरा यस नगरका सबै मानिसलाई थाह भइसकेको छ।” (रूथ ३:११) रूथसित विवाह गर्न उनी तयार थिए। रूथले आफूलाई मोल तिरेर छुटाउन आग्रह गर्दा बोअज सायद त्यति छक्क परेनन्‌। बोअज परमेश्‍वरको स्तरबमोजिम चल्ने मानिस भएकोले उनी मनमानी गर्न चाहँदैन थिए। रूथको ससुरासित अझै नजिकको नाता पर्ने अर्का व्यक्‍ति पनि छन्‌ भनेर उनी रूथलाई बताउँछन्‌। अब बोअज सबैभन्दा पहिला ती व्यक्‍तिकहाँ जाने थिए र तिनलाई रूथको श्रीमान्‌ बन्‍ने मौका दिने थिए।

रूथले दया र आदर देखाउँदै अरूलाई व्यवहार गरेकोले अत्यन्तै राम्रो नाम कमाइन्‌

२० बिहानसम्म फेरि त्यहीं ढल्किन बोअज रूथलाई आग्रह गर्छन्‌। अनि बिहान सखारै सुटुक्क जानू भन्छन्‌। मानिसहरूले नानाथरी कुरा नकाटून्‌; रूथको र आफ्नो इज्जतमा पनि दाग नलगोस्‌ भन्‍ने बोअज चाहन्थे। रूथ फेरि बोअजको खुट्टानिर ढल्किन्छिन्‌। बोअजको मायालु व्यवहारको कारण रूथको मन अलि हल्का भएको हुनुपर्छ। त्यसपछि तिनी झिसमिसे उज्यालोमै उठ्‌छिन्‌। बोअज तिनलाई खास्टोभरि जौ दिन्छन्‌। त्यसपछि रूथ बेतलेहेमतिर लाग्छिन्‌।—रूथ ३:१३-१५ पढ्‌नुहोस्‌।

२१. रूथलाई “गुणवती” हुन कुन कुराले मदत गरेको हुनुपर्छ? हामी तिनको उदाहरण कसरी अनुकरण गर्न सक्छौं?

२१ “तिमी गुणवती छौ” भनेर बोअजले भनेको कुरा रूथको कानमा गुन्जिरहेको छ! ती शब्दहरू सुन्दा तिनी कत्ति खुसी भइन्‌ होली! यहोवा परमेश्‍वरलाई चिन्‍न अनि उहाँको सेवा गर्न उत्सुक भएकोले नै रूथको यस्तो नाम चलेको हुनुपर्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। आफूलाई कहिल्यै थाह नभएको प्रचलन तथा तौरतरिका अपनाउन तयार भएर पनि रूथले नाओमी अनि उनका मानिसहरूप्रति दया देखाएकी थिइन्‌। रूथको विश्‍वासको अनुकरण गर्न चाहन्छौं भने हामीले पनि अरू मानिसलाई र तिनीहरूको तौरतरिका तथा प्रचलनहरूलाई आदर गर्नुपर्छ। तब पो हामी पनि राम्रो नाम कमाउन सक्छौं।

रूथको घरबार

२२, २३. नाओमीले रूथलाई के गर्न भनिन्‌?

२२ रूथ घर फर्केपछि नाओमी तिनलाई सोध्छिन्‌: “हे मेरी छोरी, के भयो?” सायद यो प्रश्‍न सोधेर उनले रूथको विवाहको छिनोफानो भयो कि भएन भनेर बुझ्न खोजेकी हुनुपर्छ। बोअज र तिनीबीच के-कस्तो कुरा भयो त्यो सबै रूथले नाओमीलाई सुनाइन्‌। अनि बोअजले नाओमीलाई दिनू भनेर पठाएको जौको पोको पनि तिनले नाओमीलाई देखाइन्‌।—रूथ ३:१६, १७.

२३ त्यो दिन सिलाबाला बटुल्न नगई घरमै शान्तसित बस्नू भनेर नाओमीले रूथलाई भनिन्‌। उनले रूथलाई यसरी आश्‍वासन दिइन्‌: “आजै यस कुराको फैसला नगरूञ्जेल [बोअजलाई] चैन हुनेछैन।”—रूथ ३:१८.

२४, २५. (क) आफू असल अनि निस्स्वार्थी भएको कुरा बोअजले कसरी देखाए? (ख) रूथले के-कस्ता आशिष्‌ पाइन्‌?

२४ नाओमीले बोअजको विषयमा ठीकै भनेकी थिइन्‌। उनी बूढा-प्रधानहरू अक्सर भेला हुने सहरको मूल-ढोकामा गएर बस्छन्‌। अनि नजिकका नातेदार त्यहींबाट भएर नआएसम्म कुर्छन्‌। सबै साक्षीहरूको अगाडि उनले ती नजिकका नातेदारलाई आफ्नो कर्तव्य पूरा गर्न अनि रूथसित विवाह गर्न आग्रह गर्छन्‌। तर ती नातेदार इन्कार गर्छन्‌। रूथसित विवाह गऱ्‍यो भने उल्टै आफ्नो वंश नाश हुन्छ भनेर तिनी भन्छन्‌। त्यसपछि मूल-ढोकामा सबै साक्षीहरूको अगाडि बोअजले नाओमीको श्रीमान्‌ एलीमेलेकको सम्पूर्ण जायजेथा किनेर र महलोनकी श्रीमती विधवा रूथसित विवाह गरेर नजिकको नातेदारको कर्तव्य पूरा गर्ने घोषणा गर्छन्‌। त्यसो गऱ्‍यो भने “ती मरिसकेका मानिसको नाउँ कायम राख्न” सकिनेछ भनेर बोअज बताउँछन्‌। (रूथ ४:१-१०) बोअज कत्ति असल र निस्स्वार्थी!

२५ बोअज रूथसित विवाह गर्छन्‌। त्यसपछिको बाइबल विवरण यसो भन्छ: “परमप्रभुको कृपाले [रूथ] गर्भवती भइन्‌, र तिनले एउटा छोरा जन्माइन्‌।” बेतलेहेमका आइमाईहरू नाओमी धन्यकी हुन्‌ भन्छन्‌ र उनको लागि रूथ सातभाइ छोराभन्दा पनि असल छिन्‌ भनेर बताउँछन्‌। बाइबल विवरण हेर्दै जाने हो भने रूथको छोरा पछि गएर महान्‌ राजा दाऊदका पुर्खा बने। (रूथ ४:११-२२) पछि दाऊदचाहिं येशू ख्रीष्टको पुर्खा बने।—मत्ती १:१. *

यहोवाले रूथलाई मसीहको पुर्खा बन्‍ने सुअवसर दिनुभयो

२६. रूथ र नाओमीको उदाहरणले हामीलाई कुन कुरा सम्झाउँछ?

२६ हो, रूथले आशिष्‌ पाइन्‌। अनि नाओमीले पनि! किनभने उनले रूथको सन्तानलाई आफ्नै सन्तानजस्तै गरी हुर्काइन्‌। आफ्नो परिवारको आवश्‍यकता पूरा गर्न नम्र भई मेहनत गर्नेहरू र उहाँका जनहरूसितै वफादार भई उहाँको सेवा गर्नेहरूलाई यहोवाले याद गर्नुहुन्छ भन्‍ने तथ्य यी दुई स्त्रीहरूको विवरणले जीवन्त ढङ्‌गमा प्रस्तुत गरेको छ। बोअज, नाओमी अनि रूथजस्ता वफादार जनहरूलाई इनाम दिन यहोवा कहिल्यै पछि हट्‌नुहुन्‍न।

^ अनु. 7 यहोवा जीवितहरूलाई मात्र होइन तर मरिसकेकाहरूलाई पनि दया देखाउनुहुन्छ भनेर नाओमीले बताइन्‌। नाओमीका श्रीमान्‌ र दुवै छोराहरूको मृत्यु भइसकेको थियो। रूथले पनि आफ्नो श्रीमान्‌ गुमाउनुपरेको थियो। ती तीन जनाको वियोग सहनु यी विधवाहरूको लागि सजिलो कुरा थिएन। नाओमी र रूथलाई दया देखाउनु भनेको ती मरिगएका मानिसहरूलाई नै दया देखाए बराबर थियो। किनकि ती मानिसहरू जीवित भएको भए यी स्त्रीहरूको हेरचाह गर्ने जिम्मा तिनीहरूकै काँधमा हुने थियो।

^ अनु. 11 त्यसरी विधवा भएकी स्त्रीसित विवाह गर्ने अधिकार सर्वप्रथम मृतककै दाजु वा भाइले पाउँथ्यो। त्यसपछि मात्र त्यो अधिकार नजिकको आफन्तले पाउँथ्यो। मृतकको जायजेथाको सन्दर्भमा पनि यही नियम लागू हुन्थ्यो।—गन्ती २७:५-११.

^ अनु. 25 येशूका पुर्खाहरूको इतिहासमा उल्लेख गरिएका पाँच स्त्रीमध्ये रूथ पनि एक हुन्‌। अर्कीचाहिं राहाब हुन्‌, जो बोअजकी आमा थिइन्‌। (मत्ती १:३, ५, ६, १६) रूथ जस्तै तिनी पनि इस्राएली थिइनन्‌।