सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विज्ञान र उत्पत्तिको विवरण

विज्ञान र उत्पत्तिको विवरण

धेरै मानिसहरू बाइबलमा उल्लिखित सृष्टिको विवरण विज्ञानसित मेल खाँदैन भनेर दाबी गर्छन्‌। तर वास्तवमा विज्ञान र बाइबल बाझिएको छैन। बरु विज्ञान र चर्चका कट्टरपन्थीबीचको कुरा भने बाझिएको छ। बाइबलअनुसार सबै थोक लगभग १० हजार वर्षअघि छ दिनमै (एक दिन बराबर २४ घण्टा) सृष्टि भएको थियो भनेर चर्चका कट्टरपन्थीहरू झूटो दाबी गर्छन्‌।

तर बाइबलले यो कुरालाई समर्थन गर्दैन। यदि यस्तै भएको हो भने वैज्ञानिकहरूले विगत सय वर्षको दौडान पत्ता लगाएका कुराहरूले बाइबलको सत्यतामाथि प्रश्‍न खडा गर्छ। तर बाइबल राम्ररी अध्ययन गर्ने हो भने बाइबल र विज्ञान एकआपसमा बाझिएको छैन भनेर स्पष्ट हुन्छ। त्यसैले चर्चका कट्टरपन्थीहरूको शिक्षासित यहोवाका साक्षीहरू सहमत छैनन्‌। बाइबलले वास्तवमा सिकाउने कुराहरू तल बताइएका छन्‌।

उत्पत्तिको विवरणले केही हजार वर्षअघि पृथ्वी अनि यस ब्रह्‍माण्ड छ दिनमा मात्र सृष्टि भएको थियो भनेर सिकाउँदैन

‘सुरु’ कहिले भयो?

उत्पत्तिको विवरण यस सरल तर सशक्‍त शब्दहरूबाट सुरु हुन्छ: “सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) थुप्रै बाइबलविद्‌हरू यो भनाइ र पद ३ देखि उल्लेख गरिएको सृष्टिका दिनहरूको विवरण फरक-फरक हो भनेर स्विकार्छन्‌। बाइबलका सुरुका शब्दहरूअनुसार पृथ्वी अनि ब्रह्‍माण्ड सृष्टिका दिनहरू सुरु हुनुभन्दा धेरै अघि देखि नै अस्तित्वमा थिए।

भूगर्भविद्‌हरूले अनुमान लगाए अनुसार पृथ्वी ४ अरब वर्षअघि र खगोलविद्‌अनुसार यस ब्रह्‍माण्ड १५ अरब वर्षअघि उत्पत्ति भएको थियो। पृथ्वी र ब्रह्‍माण्डको उत्पत्तिको विषयमा अहिलेसम्म पत्ता लागेको र पछि पत्ता लाग्न सक्ने कुराहरूसित के उत्पत्ति १:१ को विवरण बाझिन्छ? बाझिँदैन। “आकाश र पृथ्वी” कति वर्षअघि बनेको थियो भनेर बाइबलमा तोकेर बताइएको छैन। बाइबलको यस विवरणलाई विज्ञानले खण्डन गर्दैन।

सृष्टिका दिनहरू कति लामो थियो?

सृष्टिका दिनहरू कति लामो थियो? के त्यो दिन २४ घण्टाको मात्र थियो? परमेश्‍वरले छ दिनमा सबै थोक सृष्टि गर्नुभयो र सातौँ दिनमा विश्राम गर्न थाल्नुभयो। यही नमुना पछ्याउँदै उत्पत्तिको लेखक मोसाले हप्ताको सातौँ दिनमा विश्राम दिन मान्‍ने आज्ञा दिए। यसलाई आधार मान्दै सृष्टिका दिनहरू पनि २४ घण्टा लामो हुनुपर्छ भनेर कोही-कोही दाबी गर्छन्‌। (प्रस्थान २०:११) तर के उत्पत्तिको विवरण यस तर्कसित मेल खान्छ?

अहँ, मेल खाँदैन। “दिन” भनेर अनुवाद गरिएको हिब्रू शब्दले २४ घण्टाको अवधिलाई मात्र होइन विभिन्‍न समयावधिलाई बुझाउन सक्छ। उदाहरणको लागि, परमेश्‍वरले गर्नुभएका सृष्टिका विवरण सारांशमा बताउँदा सृष्टिका छ दिनलाई नै एक दिन भनेर मोसाले उल्लेख गरे। (उत्पत्ति २:४) साथै सृष्टिको पहिलो दिन “परमेश्‍वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्‍नुभयो।” (उत्पत्ति १:५) यहाँ २४ घण्टाको केही अवधिलाई मात्र “दिन” भनेर बताइएको छ। त्यसकारण सृष्टिका दिनहरू २४ घण्टै लामो हुनुपर्छ भनेर मान्‍न सक्ने आधार बाइबलमा पाइँदैन।

त्यसोभए सृष्टिका दिनहरू कति लामो थियो त? बाइबलले यसको जवाफ दिएको छैन। तर उत्पत्ति अध्याय १ र को विवरण हेर्ने हो भने सृष्टिको दिनले लामो समयावधि ढाकेको जस्तो देखिन्छ।

सृष्टिका छ अवधि

मोसाले उत्पत्तिको विवरण हिब्रू भाषामा लेखेका थिए। तिनले ती घटनाहरू आफैले देखेजस्तो गरी लेखे। यी दुई तथ्य र सृष्टिका अवधिहरू अर्थात्‌ दिनहरू सुरु हुनुअघि नै ब्रह्‍माण्ड सृष्टि भइसकेको थियो भन्‍ने कुराले उत्पत्तिको विवरणबारे उठेका विवादहरूको समाधान गर्न मदत गर्छ। कसरी?

सृष्टिको पहिलो ‘दिनमा’ भएका घटनाहरू त्यसपछिको दिन वा त्योभन्दा धेरै दिनसम्म चलिरहेको थियो

उत्पत्तिको विवरण राम्ररी अध्ययन गऱ्‍यौँ भने सृष्टिको पहिलो ‘दिनमा’ भएका घटनाहरू त्यसपछिको दिन वा त्योभन्दा धेरै दिनसम्म चलिरहेको थियो भनेर बुझ्न सक्छौँ। उदाहरणको लागि, सृष्टिको पहिलो “दिन” सुरु हुनु अघि नै सूर्य सृष्टि भइसकेको थियो। तर सायद बाक्लो बादलले गर्दा सूर्यको प्रकाश पृथ्वीसम्म आउन सकिरहेको थिएन। (अय्युब ३८:९) पहिलो “दिन” यो अवरोधलाई हटाइयो अनि सूर्यको प्रकाश वायुमण्डललाई छेडेर पृथ्वीसम्म आउन सम्भव भयो। *

दोस्रो “दिन” बादल हट्‌दै गएर वायुमण्डल बिस्तारै सफा हुँदै गयो अनि माथिको बादल र तलको समुद्र छुट्टियो। चौथो “दिन” बाक्लो बादल निकै हटिसकेको हुँदा “आकाशको अन्तरमा” सूर्य र चन्द्रमा प्रस्टै देखियो। (उत्पत्ति १:१४-१६) अर्को शब्दमा भन्‍ने हो भने, पृथ्वीमा भएको मान्छेले सूर्य र चन्द्रमा प्रस्टै देख्न सक्ने भयो। यी घटनाहरू एकपछि अर्को गर्दै भएका थिए।

उत्पत्तिको विवरणले बताएअनुसार आकाश खुल्दै गएपछि चराचुरुङ्‌गी अनि कीरा-फट्याङ्‌ग्राजस्ता उड्‌ने जीव पाँचौँ “दिन” देखा पर्न थाले।

त्यसैले कुरा स्पष्ट छ, बाइबलमा प्रयोग भएको भाषालाई केलाउने हो भने सृष्टिको समयावधि अर्थात्‌ एक ‘दिनमा’ भएका केही ठूलठूला घटनाहरू एकै क्षणमा नभई एकपछि अर्को गर्दै बिस्तारै भएका हुन्‌ र कुनै-कुनै घटना त सृष्टिको अरू दिनसम्म पनि चलिरहेको हुन सक्छ। *

आफ्ना-आफ्नै किसिमका

यसरी एकपछि अर्को गर्दै बोटबिरुवा र जनावरहरू देखा पर्न थाले। त्यसोभए के परमेश्‍वरले यी विभिन्‍न प्रकारका जीवजन्तुहरू बनाउन क्रमविकासको सहारा लिनुभयो भन्‍न मिल्छ? अहँ, मिल्दैन। परमेश्‍वरले सबै मुख्य-मुख्य ‘किसिमका’ बोटबिरुवा र “जातजातका” जनावरहरू सृष्टि गर्नुभयो भनेर बाइबलमा स्पष्टसित बताइएको छ। (उत्पत्ति १:११, १२, २०-२५) तर प्रश्‍न उठ्‌छ, के उहाँले यी बोटबिरुवा तथा जनावरहरूको मुख्य-मुख्य ‘किसिमलाई’ पछि वातावरण सँगसँगै परिवर्तन हुने गरी बनाउनुभएको थियो कि? एउटा ‘किसिमको’ बोटबिरुवा वा जनावरमा कतिसम्म परिवर्तन हुन सक्छ? यस प्रश्‍नको जवाफ बाइबलमा दिइएको छैन। तर परमेश्‍वरले “जातजातका जीवहरू सृष्टि गर्नुभयो” भनेर चाहिँ लेखिएको छ। (उत्पत्ति १:२१) यसबाट एउटै ‘किसिम’ वा ‘जातमा’ कतिसम्म परिवर्तन आउन सक्छ, त्यसको सीमा छ भनेर बुझ्न सक्छौँ। बितेको अनगन्ती समयको दौडान बोटबिरुवा र जनावरहरूको मुख्य-मुख्य किसिममा खासै परिवर्तन आएको छैन भनेर जीवावशेषको रेकर्ड र वर्तमान अनुसन्धानले देखाउँछ।

हालका अनुसन्धानले देखाएअनुसार सबै जीवजन्तुले आफ्नै किसिमका मात्र सन्तान जन्माउँछन्‌

कोही-कोही कट्टरपन्थीहरूले दाबी गरेझैँ पृथ्वी र यसमा भएका सबै जीवहरू लगायत ब्रह्‍माण्ड केही हजार वर्षअघि मात्र बनेको हुनुपर्छ भनेर उत्पत्तिको विवरणले सिकाउँदैन। ब्रह्‍माण्डको सृष्टि र पृथ्वीमा जीवनको सुरुवातबारे उत्पत्तिको विवरण हालै पत्ता लागेका थुप्रै वैज्ञानिक तथ्यहरूसित मेल खान्छ।

थुप्रै वैज्ञानिकहरू परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो भनेर बाइबलमा लेखिएको तथ्यलाई स्विकार्दैनन्‌ किनकि तिनीहरूको आ-आफ्नै विचारधारा छ। तर रोचक कुरा के छ भने, बाइबलको पुरानो किताब उत्पत्तिमा मोसाले ब्रह्‍माण्डको सुरुवात थियो र समयको दौडान एकपछि अर्को गर्दै पृथ्वीमा जीवहरू सृष्टि भयो भनी लेखे। मोसाले यो वैज्ञानिक तवरमा सही जानकारी लगभग ३ हजार ५ सय वर्षअघि नै कसरी थाह पाए? यसको चित्तबुझ्दो जवाफ एउटै मात्र छ। आकाश र पृथ्वी सृष्टि गर्ने बुद्धिमान्‌ र शक्‍तिशाली व्यक्‍तिबाट नै मोसाले सही जानकारी पाए। यसबाट बाइबल “परमेश्‍वरको प्रेरणाद्वारा” लेखिएको थियो भनेर प्रस्ट हुन्छ। *२ तिमोथी ३:१६.

तर तपाईँलाई लाग्ला, सृष्टिसम्बन्धी बाइबलको विवरणमा विश्‍वास गरे नि नगरे नि केही फरक पर्छ र? यसको जवाफ पाउनु किन महत्त्वपूर्ण छ, आउनुहोस्‌ केही प्रमाणहरू विचार गरौँ।

^ अनु. 13 पहिलो “दिन” के-कस्ता घटनाहरू भएका थिए भनेर बुझाउन प्रयोग गरिएको उज्यालो भन्‍ने शब्द हिब्रू भाषाको ओर भन्‍ने शब्दबाट लिइएको हो। यसले साधारणतया प्रकाशलाई बुझाउँछ। तर चौथो ‘दिनको’ विवरणमा भने माओर शब्द प्रयोग गरिएको छ र यसले प्रकाशको स्रोतलाई बुझाउँछ।

^ अनु. 16 उदाहरणको लागि, सृष्टिको छैटौँ दिनमा परमेश्‍वरले मानिसहरूलाई “वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ” भनेर आज्ञा दिनुभयो। (उत्पत्ति १:२८, ३१) तर यो आज्ञा अर्को दिनदेखि मात्र पूरा हुन थाल्यो।—उत्पत्ति २:२.

^ अनु. 20 थप जानकारीको लागि के बाइबल भरपर्दो किताब हो? भन्‍ने भिडियो हेर्नुहोस्‌। यो भिडियो jw.org/ne मा उपलब्ध छ।