सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख

ईश्वर हुनुहुन्छ कि हुनुहुन्न? यो कत्तिको महत्त्वपूर्ण प्रश्न हो?

ईश्वर हुनुहुन्छ कि हुनुहुन्न? यो कत्तिको महत्त्वपूर्ण प्रश्न हो?

धेरैलाई ईश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न महत्त्वपूर्ण होइन वा यस प्रश्नको जवाफै छैन जस्तो लाग्न सक्छ। फ्रान्समा हुर्केका एर्भे यसो भन्छन्‌: “म नास्तिक होइन। तर ईश्वरमा विश्वास पनि गर्दिन। मेरो विचारमा व्यावहारिक भई जिउनु नै सबैभन्दा राम्रो तरिका हो। अनि यसरी जीवन बिताउँदा कुनै ईश्वरमा विश्वास गरिराख्नु आवश्यक छैन।”

कतिपयलाई भने अमेरीकाका जोनलाई जस्तै लाग्न सक्छ। तिनी यसो भन्छन्‌: “मेरो बुबाआमा ईश्वरमा विश्वास गर्नुहुन्नथ्यो। जवान छँदा ईश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने विषयमा मलाई केही थाह थिएन। तैपनि कहिलेकाहीं म यसबारे सोच्ने गर्थें।”

के ईश्वर साँच्चै हुनुहुन्छ? यदि हुनुहुन्छ भने यसले हाम्रो जीवनमा के फरक पार्छ? के यी प्रश्नहरूबारे तपाईंले कहिल्यै सोच्नुभएको छ? प्रकृतिमा भएका कुराहरू सृष्टिकर्ताविना सम्भव छैन भन्ने तथ्य तपाईंले बुझ्नुभएको छ होला। वैज्ञानिकहरूले यस्ता तथ्यहरू पत्ता लगाएका छन्‌, जस्तै: निर्जीव कुराबाट जीवन आउन सक्दैन, पृथ्वीमा जीवन सम्भव तुल्याउन प्रकृतिको बेजोड सन्तुलन।—“ प्रमाण जाँच्नुहोस्” पेटी हेर्नुहोस्।

माथि बताइएका तथ्यहरू किन महत्त्वपूर्ण छन्‌ भनेर विचार गर्नुहोस्। ती तथ्यहरू भनेको गन्तव्यस्थान सम्म पुऱ्याउने सङ्केत चिह्नहरू जस्तै हुन्‌। ईश्वर हुनुहुन्छ भन्ने चित्तबुझ्दो प्रमाणका साथै उहाँबारे भरपर्दो जानकारी पाउनुभयो भने तपाईंले धेरै लाभ उठाउन सक्नुहुनेछ। कस्ता लाभहरू? यहाँ दिइएका चारवटा बुँदा विचार गर्नुहोस्।

१. जीवन अर्थपूर्ण हुन्छ

जीवनको कुनै अर्थ छ भने त्यो हामी जान्न चाहन्छौं र यसले हाम्रो जीवनमा कस्तो असर गर्छ भनेर पनि बुझ्न चाहन्छौं। यदि ईश्वर हुनुहुन्छ अनि यो कुरा हामीलाई थाह छैन भने हामी ब्रह्माण्डको आधारभूत सत्यबारे नै अनजान भइरहेका हुनेछौं।

जीवनको स्रोत ईश्वर हुनुहुन्छ भनेर बाइबलमा लेखिएको छ। (प्रकाश ४:११) ईश्वर हुनुहुन्छ भन्ने सत्यले हाम्रो जीवन कसरी अर्थपूर्ण बनाउँछ? यसबारे बाइबलले के सिकाउँछ विचार गर्नुहोस्।

पृथ्वीका सबै प्राणीहरूमध्ये मानिस सर्वश्रेष्ठ प्राणी हो। बाइबलअनुसार मानिसलाई ईश्वरको स्वरूपमा अर्थात्‌ उहाँको व्यक्तित्व झल्काउन सक्ने गरी सृष्टि गरिएको थियो। (उत्पत्ति १:२७) मानिसहरू ईश्वरको मित्र बन्न सक्छन्‌ भनेर पनि बाइबलले सिकाउँछ। (याकूब २:२३) सृष्टिकर्तासित घनिष्ठ हुँदा मात्र हाम्रो जीवन अर्थपूर्ण हुन्छ।

ईश्वरको मित्र हुँदा हामीले कस्ता लाभ उठाउन सक्छौं? ईश्वरसित घनिष्ठ हुँदा हामी आफ्नो मनको सबै कुरा उहाँलाई पोखाउन सक्छौं। उहाँले तिनीहरूको कुरा सुन्ने अनि मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। (भजन ९१:१५) ईश्वरको साथीको हैसियतमा हामी विभिन्न विषयमा उहाँको विचार बुझ्न सक्छौं। यसले जीवनसम्बन्धी गहिरा प्रश्नहरूको जवाफ बुझ्न मदत गर्छ।

यदि ईश्वर हुनुहुन्छ अनि यो कुरा हामीलाई थाह छैन भने हामी ब्रह्माण्डको आधारभूत सत्यबारे नै अनजान भइरहेका हुनेछौं।

२. मनोशान्ति दिन्छ

संसारमा भइरहेको दुःखकष्ट देखेर कसै-कसैलाई ईश्वरमा विश्वास गर्न गाह्रो लाग्छ। तिनीहरू यस्तो प्रश्न गर्छन्‌: “सर्वशक्तिमान्‌ सृष्टिकर्ता हुनुहुन्छ भने उहाँले किन दुःखकष्ट र दुष्टता रहिरहन दिनुहुन्थ्यो र?”

मानिसहरूले दुःख पाऊन्‌ भन्ने उद्देश्य ईश्वरको थिएन भनेर बाइबलमा बताइएको छ। उहाँले मानिसलाई सृष्टि गर्नुहुँदा दुःखकष्ट केही थिएन; तिनीहरूलाई मर्न पनि बनाइएको थिएन। (उत्पत्ति २:७-९, १५-१७) यो कुरा विश्वास गर्न गाह्रो लाग्छ? काल्पनिक कथा जस्तै लाग्छ कि? यदि सृष्टिकर्ता सर्वशक्तिमान्‌ हुनुहुन्छ अनि उहाँको मुख्य गुण प्रेम हो भने मानिसहरू सधैंभरि बाँचून्‌ भन्ने इच्छा उहाँको छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं।

त्यसोभए मानवजातिको अवस्था कुन कारणले बिग्रियो त? परमेश्वरले मानिसलाई स्वतन्त्र इच्छासहित सृष्टि गर्नुभयो भनेर बाइबलमा लेखिएको छ। हामीले जबरजस्ती परमेश्वरको आज्ञा मान्नैपर्छ भन्ने छैन। पहिलो मानव जोडीले परमेश्वरको निर्देशनअनुसार चल्न इन्कार गरे। तिनीहरूले आफ्नै स्वार्थी इच्छा पूरा गरे। (उत्पत्ति ३:१-६, २२-२४) अहिले हामी त्यसैको दुःखदायी नतिजा भोग्दै छौं।

मानिसहरूले दुःख पाऊन्‌ भनेर ईश्वरले सृष्टि गर्नुभएको थिएन भन्ने कुराले हामीलाई मनोशान्ति दिन्छ। त्यसका साथसाथै हामी दुःखकष्टबाट मुक्त हुन चाहन्छौं अनि हामीलाई भविष्यको लागि आशा पनि चाहिन्छ।

३. आशा दिन्छ

मानिसले विद्रोह गरे लगत्तै ईश्वरले पृथ्वीको लागि राखेको उद्देश्य पूरा गर्ने प्रतिज्ञा गर्नुभयो। उहाँ सर्वशक्तिमान्‌ हुनुभएकोले उहाँलाई आफ्नो उद्देश्य पूरा गर्नदेखि कसैले पनि रोक्न सक्दैन। (यशैया ५५:११) उहाँको विरोध गरेर मानिसले निम्त्याएका खराब नतिजाहरूलाई अब चाँडै ईश्वरले हटाउनुहुनेछ। पृथ्वी र मानवजातिको लागि आफ्नो सुरुको उद्देश्य पूरा गर्नुहुनेछ।

यसले तपाईंलाई कस्तो लाभ पुऱ्याउन सक्छ? ईश्वरले गर्नुभएका थुप्रै प्रतिज्ञाहरू हामी बाइबलमा पाउँछौं। त्यसमध्ये दुईवटा विचार गरौं।

  • पृथ्वीभरि शान्ति हुनेछ र दुष्टता हटाइनेछ। “किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।”—भजन ३७:१०, ११.

  • रोगबिमार र मृत्यु हटाइनेछ। “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्‌, ‘म बिरामी परें।’” (यशैया ३३:२४) “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।”—यशैया २५:८.

बाइबलमा उल्लिखित ईश्वरका प्रतिज्ञाहरूमा हामी किन विश्वास गर्न सक्छौं? किनकि बाइबलमा लेखिएका थुप्रै प्रतिज्ञाहरू पूरा भइसकेका छन्‌। भविष्यमा दुःखकष्टबाट मुक्त हुने आशाले अहिलेको समस्यालाई त हटाउँदैन। त्यसोभए ईश्वरले अझै के-कस्ता मदतको प्रबन्ध गर्नुभएको छ?

४. समस्यासित लड्न र निर्णय गर्न मदत गर्छ

समस्याको सामना गर्न र सही निर्णय गर्न ईश्वरले हामीलाई डोऱ्याइ दिनुहुन्छ। कुनै-कुनै निर्णय सानातिना हुन सक्छन्‌ भने कतिपय चाहिं दीर्घकालीन असर गर्ने खालका हुन्छन्‌। यस्तो बेला सृष्टिकर्ताबाट पाइने बुद्धि वा निर्देशन सबैभन्दा उत्तम हुन्छ। यस्ता निर्देशन कुनै पनि मानिसले दिन सक्दैन। किनभने सृष्टिकर्तालाई पहिले भइसकेका कुराहरू अनि पछि हुने कुराहरू सबै थाह छ। साथै मानव जीवनको स्रोत पनि उहाँ नै हुनुहुन्छ। त्यसैले हामीलाई केले लाभ पुऱ्याउँछ, त्यो उहाँलाई थाह छ।

यहोवा परमेश्वरले विभिन्न मानिसहरूलाई बाइबल लेख्न उत्प्रेरित गर्नुभयो। त्यसैले यस किताबमा यहोवा परमेश्वरका विचारहरू छन्‌। बाइबलमा यसो लेखिएको छ: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फाइदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ।”—यशैया ४८:१७, १८.

यहोवा परमेश्वरसित असीमित शक्ति छ र उहाँ हाम्रो लागि आफ्नो शक्ति प्रयोग गर्न इच्छुक हुनुहुन्छ। उहाँ हामीलाई मदत गर्न चाहनुहुने मायालु बुबा जस्तै हुनुहुन्छ। बाइबलमा यस्तो लेखिएको छ: “स्वर्गमा बस्नुहुने बुबाले उहाँसित माग्नेहरूलाई झन्‌ कत्ति धेरै पवित्र शक्ति दिनुहुनेछ!” (लूका ११:१३) ईश्वरले दिनुहुने यस शक्तिले हामीलाई डोऱ्याइ र बल दिन्छ।

तर ईश्वरले दिनुहुने मदत तपाईं कसरी पाउन सक्नुहुन्छ? बाइबलमा यस्तो लेखिएको पाउँछौं: “जो परमेश्वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।” (हिब्रू ११:६) हो, ईश्वर साँच्चै हुनुहुन्छ भनेर विश्वस्त हुनुपर्छ र त्यसको लागि तपाईं आफैले प्रमाणहरू जाँच्नुपर्छ।

के तपाईं प्रमाण जाँच्न चाहनुहुन्छ?

ईश्वरबारे सत्य कुरा भेट्टाउन समय लाग्न सक्छ तर प्रमाण खोज्ने प्रयास गर्नुभयो भने तपाईंले पक्कै लाभ उठाउनुहुनेछ। चीनमा जन्मेका तर हाल अमेरिकामा बसोबास गर्दै आएका स्यूजिन सियाऊ यसो भन्छन्‌: “म क्रमविकासमा विश्वास गर्ने भए तापनि बाइबलबारे जान्न इच्छुक थिएँ। त्यसैले मैले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गरें। कलेजको अन्तिम वर्षमा धेरै व्यस्त भएकोले बाइबल अध्ययन गर्ने समय पाइनँ। त्यतिबेला मैले आफ्नो खुसी गुमेको महसुस गरे। तर फेरि बाइबल अध्ययन गर्न थालेपछि म निकै खुसी भएँ।”

सृष्टिकर्ता परमेश्वर यहोवाबारे के तपाईं अझै सिक्न चाहनुहुन्छ? समय निकालेर आफैले प्रमाणहरू जाँचे कसो होला? (g15-E 03)