सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म आफ्नो अन्तस्करणलाई कसरी तालिम दिन सक्छु?

म आफ्नो अन्तस्करणलाई कसरी तालिम दिन सक्छु?

 तपाईँको अन्तस्करणलाई यीमध्ये कुन कुरासँग तुलना गर्न सकिन्छ?

  •   नक्सा

  •   ऐना

  •   साथी

  •   न्यायाधीश

 यी चार वटै कुरासँग तुलना गर्न सकिन्छ। किन? यस लेखमा हामी छलफल गर्नेछौँ।

 अन्तस्करण भनेको के हो?

 अन्तस्करण भनेको सही र गलत छुट्ट्याउने भित्री क्षमता हो। बाइबलअनुसार यो ‘हृदयमा लेखिएको व्यवस्था’ हो। (रोमी २:१५) असल अन्तस्करणले तपाईँले चाल्न लाग्नुभएको वा चालिसक्नुभएको कदम सही हो वा गलत भनेर जाँच्न मदत गर्छ।

  •   तपाईँको अन्तस्करण नक्साजस्तै हो। यसले तपाईँलाई सही बाटो देखाएर समस्यामा पर्नदेखि जोगाउँछ।

  •   तपाईँको अन्तस्करण ऐनाजस्तै हो। यसले तपाईँको नैतिक अवस्था र तपाईँको भित्री व्यक्‍तित्व प्रकट गर्छ।

  •   तपाईँको अन्तस्करण असल साथीजस्तै हो। यसले तपाईँलाई असल सल्लाह दिन्छ अनि त्यो सल्लाह सुन्‍नुभयो भने तपाईँ सफल हुन सक्नुहुन्छ।

  •   तपाईँको अन्तस्करण न्यायाधीशजस्तै हो। तपाईँले गलत काम गर्नुहुँदा यसले तपाईँलाई दोषी ठहराउँछ।

असल अन्तस्करणले तपाईँलाई बुद्धिमानी निर्णयहरू गर्न मदत गर्न सक्छ।

 निष्कर्ष: तपाईँको अन्तस्करण एउटा उपयोगी साधन हो, जसले तपाईँलाई (१) बुद्धिमानी निर्णयहरू गर्न र (२) आफ्नो गल्तीहरूको पश्‍चात्ताप गर्दै त्यसलाई सच्याउन मदत गर्छ।

 अन्तस्करणलाई किन तालिम दिनुपर्छ?

 बाइबल भन्छ: “आफ्नो अन्तस्करण सफा बनाइराख।” (१ पत्रुस ३:१६) तर तपाईँले आफ्नो अन्तस्करणलाई तालिम दिनुभएको छैन भने त्यसो गर्न गाह्रो हुन्छ।

 “ड्याडीममीले कहाँ थियौ भनेर सोध्दा म झूट बोल्थेँ र त्यस कुरालाई गोप्य राख्ने गर्थे। सुरु-सुरुमा त मेरो अन्तस्करणले मलाई सतायो। तर समय बित्दै जाँदा मलाई यसरी झूट बोल्नु सामान्य लाग्न थाल्यो।”—जेनिफर।

 पछि जेनिफरको अन्तस्करणले आफ्नो बुबाआमालाई सबै कुरा बताउन र तिनीहरूलाई धोका नदिन तिनलाई घचघच्यायो।

 यसबारे सोच्नुहोस्‌: जेनिफरको अन्तस्करणले तिनलाई कुन बेलादेखि नै चेतावनी दिन थालिसकेको थियो?

 “दोहोरो जीवन बिताउनु कठिन र तनावपूर्ण हुन्छ। आफ्नो अन्तस्करणको आवाज बेवास्ता गरेर तपाईँले एउटा गलत निर्णय गर्नुभयो भने पछि अर्को गलत निर्णय गर्न तपाईँलाई गाह्रो लाग्नेछैन।”—म्याथ्यु।

 केही मानिसहरू आफ्नो अन्तस्करणको आवाज पटक्कै सुन्दैनन्‌। बाइबलअनुसार तिनीहरूले “सबै नैतिक चेतना गुमाइसकेका” छन्‌। (एफिसी ४:१९) नेपाली भाषाको पढ्‌न सजिलो संस्करण-मा यस पदलाई यसरी अनुवाद गरिएको छ: “लज्जा अनुभव गर्ने क्षमता तिनीहरूले गुमाएका छन्‌।”

 यसबारे सोच्नुहोस्‌: आफ्नो गलत कामहरूको लागि दोषी महसुस नगर्ने मानिसहरू के साँच्चै खुसी हुन्छन्‌? तिनीहरू कस्ता समस्याहरूमा फस्न सक्छन्‌?

 निष्कर्ष: अन्तस्करणलाई सफा बनाइराख्न तपाईँले आफ्नो ‘सोच्ने-बुझ्ने क्षमतालाई सही र गलत छुट्ट्याउन तालिम’ दिनुपर्छ।—हिब्रू ५:१४.

 तपाईँ आफ्नो अन्तस्करणलाई कसरी तालिम दिन सक्नुहुन्छ?

 अन्तस्करणलाई तालिम दिने हो भने तपाईँले गर्नुभएको काम सही हो वा गलत भनेर छुट्ट्याउन मदत दिने स्तर चाहिन्छ। केही मानिसहरू निम्न व्यक्‍तिहरूले बनाएका स्तरहरू पछ्याउँछन्‌:

  •   परिवार र संस्कृति

  •   साथीहरू

  •   प्रख्यात कलाकारहरू

 तर हाम्रो जीवनको लागि बाइबलमा पाइने स्तर उत्तम छ। यो छक्कलाग्दो कुरा होइन किनकि बाइबल “परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।” (२ तिमोथि ३:१६) उहाँले हाम्रो सृष्टि गर्नुभएको हुनाले के गर्दा हाम्रो जीवन राम्रो हुन्छ, उहाँलाई राम्ररी थाह छ।

 केही उदाहरण विचार गर्नुहोस्‌।

 स्तर: “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।”—हिब्रू १३:१८.

  •   जाँचमा चिट चोर्ने, बुबाआमासित झूट बोल्ने वा चोर्ने प्रलोभनमा पर्दा यो स्तरले तपाईँको अन्तस्करणलाई कस्तो असर गर्न सक्छ?

  •   तपाईँको अन्तस्करणले तपाईँलाई सबै कुरामा इमानदार भई चल्न उत्प्रेरित गर्छ भने यसले तपाईँलाई अहिले र भविष्यमा कस्तो फाइदा पुऱ्‍याउँछ जस्तो लाग्छ?

 स्तर: “अवैध यौनसम्बन्धदेखि भाग!”—१ कोरिन्थी ६:१८.

  •   अश्‍लील सामाग्री हेर्ने वा विवाहअघि यौनसम्बन्ध राख्ने प्रलोभनमा पर्दा यो स्तरले तपाईँको अन्तस्करणलाई कस्तो असर गर्न सक्छ?

  •   तपाईँको अन्तस्करणले तपाईँलाई अवैध यौनसम्बन्धदेखि भाग्न उत्प्रेरित गर्छ भने यसले तपाईँलाई अहिले र भविष्यमा कस्तो फाइदा पुऱ्‍याउन सक्छ?

 स्तर: “एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा देखाओ। . . . एकअर्कालाई खुला मनले क्षमा गर।”—एफिसी ४:३२.

  •   परिवारमा आफ्नै दाइभाइ दिदीबहिनीसित वा साथीसित झगडा पर्दा यो स्तरले तपाईँलाई कस्तो असर गर्न सक्छ?

  •   तपाईँको अन्तस्करणले तपाईँलाई क्षमा दिन र दयालु हुन उत्प्रेरित गर्छ भने यसले तपाईँलाई अहिले र भविष्यमा कस्तो फाइदा पुऱ्‍याउन सक्छ?

 स्तर: “हत्याहिंसा मन पराउनेलाई [यहोवा] घृणा गर्नुहुन्छ।”—भजन ११:५.

  •   चलचित्र, टिभी कार्यक्रम र भिडियो गेमहरू छनौट गर्ने सन्दर्भमा यो स्तरले तपाईँलाई कस्तो असर गर्नुपर्छ?

  •   तपाईँको अन्तस्करणले तपाईँलाई हिंसात्मक मनोरञ्जनमा भाग नलिन उत्प्रेरित गर्छ भने यसले तपाईँलाई अहिले र भविष्यमा कस्तो फाइदा पुऱ्‍याउन सक्छ?

 सत्य कथा: “मेरा साथीहरू हिंसात्मक भिडियो गेमहरू खेल्थे अनि म पनि त्यसै गर्थेँ। पछि मेरो ड्याडीले अबदेखि ती गेमहरू खेल्न पाउँदैनौ भन्‍नुभयो। त्यसैले म साथीहरूकहाँ जाँदा मात्र ती गेमहरू खेल्थेँ। तर घर फर्केपछि भने म यसबारे कसैलाई पनि भन्दिनथेँ। मेरो ड्याडीले मलाई के भयो भनेर सोध्नुहुन्थ्यो तर मचाहिँ केही भा’छैन भनेर जवाफ दिन्थेँ। एकदिन मैले भजन ११:५ पढेँ अनि आफूले गरेको कामबारे सोच्दा साह्रै नराम्रो लाग्न थाल्यो। मैले ती भिडियो गेमहरू खेल्न छोड्‌नुपर्छ भनेर महसुस गरेँ। यसपालि मैले भिडियो गेम खेल्न छोडेँ। यो देखेर मेरो एक जना साथीले पनि हिंसात्मक भिडियो गेम खेल्न छोड्यो।”—जेरेमी।

 यसबारे सोच्नुहोस्‌: जेरेमीको अन्तस्करणले कुन बेलादेखि काम गर्न थाल्यो र तिनले कुन बेलादेखि आफ्नो अन्तस्करणको आवाज सुन्‍न थाले? जेरेमीको कथाबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

 निष्कर्ष: तपाईँको अन्तस्करणले तपाईँ कस्तो व्यक्‍ति हुनुहुन्छ र तपाईँ कुन कुरामा विश्‍वास गर्नुहुन्छ भनेर देखाउँछ। तपाईँको अन्तस्करणले तपाईँबारे के बताउँछ?