सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म व्यायाम गर्न कसरी उत्प्रेरणा पाउन सक्छु?

म व्यायाम गर्न कसरी उत्प्रेरणा पाउन सक्छु?

 मैले व्यायाम किन गर्नुपर्छ?

 कुनै-कुनै देशका युवाहरूले व्यायाम गर्न खासै समय दिइरहेका छैनन्‌ र यसले गर्दा तिनीहरूले आफ्नो स्वास्थ्यलाई खतरामा पारिरहेका छन्‌। बाइबलले ‘शारीरिक तालिमबाट फाइदा हुन्छ’ भन्‍नु साँच्चै सही हो। (१ तिमोथि ४:८) निम्न कुराहरू विचार गरौँ:

  •   व्यायामले तपाईँलाई सकारात्मक मनोवृत्ति राख्न मदत दिन्छ। शारीरिक गतिविधिले दिमागबाट इन्डोर्फिन भन्‍ने एक किसिमको रासायनिक तत्त्व निकाल्छ, जसले हामीलाई शान्त र खुसी रहन मदत गर्छ। कसै-कसैको विचारमा डिप्रेसन भएकाहरूको लागि व्यायाम एउटा राम्रो औषधी हो।

     “बिहान उठ्‌नेबित्तिकै दौडिन जाँदा मेरो पूरै दिन रमाइलो हुन्छ र धेरै काम पनि भ्याउन सक्छु। साथै मेरो मुड पनि राम्रो हुन्छ।”—रेजिना।

  •   व्यायाम गर्दा तपाईँ फुर्तिलो र राम्रो देखिनुहुन्छ। सन्तुलित किसिमको व्यायामले तपाईँ बलियो र स्वस्थ हुनुका साथै तपाईँको आत्मविश्‍वास पनि बढ्‌नेछ।

     एक वर्षअगाडि एक चोटि पुस-अप गर्न पनि गाह्रो लाग्थ्यो तर अहिले दस चोटि गर्न सक्दा धेरै खुसी लाग्छ। तर त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा, म आफ्नो शरीरको ख्याल राख्दै छु।”—ओलिभिया।

  •   व्यायाम गर्दा तपाईँको आयु लामो हुन सक्छ। शारीरिक रूपमा सक्रिय रहँदा तपाईँको मुटु र त्यसका रक्‍तनलीहरू अनि श्‍वासप्रश्‍वास प्रणाली राम्रो हुन्छ। एरोबिक व्यायामले धेरै मानिसको मृत्यु हुने मुख्य कारण मुटुसम्बन्धी रोगहरू हुनबाट पनि जोगाउँछ।

     “यदि हामीले आफ्नो स्वास्थ्यलाई फाइदा पुग्ने राम्रो तालिका बनाएर व्यायाम गर्छौँ भने हामीलाई जीवन दिनुभएकोमा सृष्टिकर्ताप्रति कृतज्ञता देखाइरहेका हुन्छौँ।”—जेसिका।

 महत्त्वपूर्ण कुरा: व्यायामले पछि धेरै फाइदा गर्नुका साथै अहिल्यै पनि स्वास्थ्य राम्रो बनाउन मदत गर्छ। तान्या नाम गरेकी युवती भन्छिन्‌, “हाइकिङ गइसकेपछि वा एकचोटि दौडेपछि ‘ओहो! म नगएको भए नि हुन्थ्यो!’ भनेर तपाईँ कहिल्यै भन्‍नुहुन्‍न। मैले पनि बहाना बनाउन छोडेर व्यायाम गर्न सुरु गरेदेखि कहिल्यै पछुताएकी छैनँ।”

मर्मत सम्भार नगरिएको गाडीले पछि काम गर्न छोडेजस्तै व्यायाम नगर्दा शरीरले पनि काम गर्न छोड्‌छ

 मलाई केले रोकिरहेको छ?

 यस्ता केही बाधाहरू हुन सक्छन्‌:

  •   उत्प्रेरणा नभएकोले। “मेरो विचारमा धेरै जसो युवाहरू आफू जवान हुँदा त कुनै पनि रोगले छुँदैन भनेर सोच्ने गर्छन्‌। कुनै दिन आफूले पनि स्वास्थ्य समस्याहरू भोग्नुपर्ला भनेर कल्पनासमेत गर्न सकिँदैन। रोग भनेको त बूढाबूढीको कुराजस्तो लाग्छ।”—सोफिया।

  •   समय नभएकोले। “मेरो तालिका एकदम व्यस्त हुने भएकोले राम्रोसँग खाना खान र सुत्न त समय निकाल्न गाह्रो छ। झन्‌ व्यायाम गर्नको लागि समय निकाल्ने कुरा त परै जाओस्‌।”—क्लारिसा।

  •   जिमको सदस्यता नभएकोले। “शरीर चिटिक्क बनाउन टन्‍न खर्च गर्नुपर्छ। जिममा गएर व्यायाम गर्न कहाँ सस्तो हुन्छ र!”—जिना।

 विचार गर्नुहोस्‌:

 व्यायाम गर्न तपाईँलाई रोकिरहेको मुख्य कुरा के हो? त्यो बाधा हटाउन मेहनत त गर्नुपर्छ तर त्यस्तो प्रयास खेर जानेछैन।

 व्यायाम गर्न थाल्न म के गर्न सक्छु?

 केही सुझाव:

  •   तपाईँको स्वास्थ्यको ख्याल गर्ने जिम्मेवारी तपाईँकै हो।—गलाती ६:५.

  •   बहाना बनाउन छोड्‌नुहोस्‌। (उपदेशक ११:४) उदाहरणको लागि, व्यायाम सुरु गर्न जिम नै जानुपर्छ भन्‍ने छैन। आफूलाई कस्तो खालको व्यायाम मन पर्छ, त्यो पत्ता लगाउनुहोस्‌ र त्यसलाई निरन्तरता दिनुहोस्‌।

  •   अरूले कस्तो-कस्तो खालको व्यायाम गरिरहेका छन्‌ भनेर बुझ्नुहोस्‌।—हितोपदेश २०:१८.

  •   पक्का तालिका बनाउनुहोस्‌। लक्ष्य राख्नुहोस्‌ र आफ्नो जोस कायमै राख्न आफूले हासिल गरेको प्रगतिको रेकर्ड राख्नुहोस्‌।—हितोपदेश २१:५.

  •   आफूसँगै व्यायाम गर्न सक्ने साथी खोज्नुहोस्‌। सधैँ तपाईँसँगै व्यायाम गर्ने साथीले हौसला दिनेछ र तालिकाअनुसार चल्न मदत गर्नेछ।—उपदेशक ४:९, १०.

  •   आफ्नो प्रगतिमा बाधा पुऱ्‍याउने कुराहरू आउनेछ भनेर नबिर्सनुहोस्‌ र ती आइपर्दा हरेस नखानुहोस्‌।—हितोपदेश २४:१०.

 सन्तुलित हुनुहोस्‌।

 पुरुष र स्त्रीको ‘आनीबानी सन्तुलित हुनुपर्छ’ भनी बाइबल बताउँछ। (१ तिमोथि ३:२, ११) त्यसैले व्यायामप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌। व्यायामप्रति अचाक्ली लग्गू हुने व्यक्‍तिलाई मानिसहरूले अक्सर राम्रो ठान्दैनन्‌। जुलिया नाम गरेकी युवती भन्छिन्‌, “पाखुराको धाकचाहिँ लगाउने तर बुद्‌घिचाहिँ नचलाउने केटा मलाई मन पर्दैन।”

 “जति थाकेर चुर हुन्छ, झन्‌ बढी गर्ने सुर गर” भन्‍ने जस्ता नारा भएको ‘व्यायाम गर्न जुरमुऱ्‍याउने’ विज्ञापनहरूदेखि पनि सचेत रहनुपर्छ। किनभने त्यस्तो विज्ञापनले भनेअनुसारै व्यायाम गर्दा तपाईँको स्वास्थ्य बिग्रन सक्छ र जीवनमा “अझ महत्त्वपूर्ण कुराहरू”-मा ध्यान दिनुको साटो तपाईँ अरू नै कुरामा अलमलिन सक्नुहुन्छ।—फिलिप्पी १:१०.

 साथै व्यायाम गर्न जुरमुऱ्‍याउने उद्देश्‍यले गरिएका यस्ता विज्ञापनले वास्तवमा उल्टै निरुत्साहित बनाउन सक्छ। भिरा नाम गरेकी युवती यसो भन्छिन्‌: “धेरैजसो केटीहरू आफू जुन व्यक्‍तिजस्तो बन्‍न चाहन्छन्‌, उसको फोटोहरू जम्मा गर्छन्‌ अनि आफूलाई व्यायाम गर्ने जोस-जाँगर नहुँदा ती फोटोहरू हेर्छन्‌। तर त्यसरी हेर्दा आफूलाई उनीहरूसित दाँज्न थाल्छन्‌ र उल्टै निरास हुन पुग्छन्‌। त्यसैले आफ्नो बाहिरी रूपलाई मात्र नभई स्वास्थ्यलाई सुधार्ने लक्ष्य राख्नुचाहिँ राम्रो हो।”