सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

डेटिङ—भाग १: म पनि डेटिङ गरूँ कि?

डेटिङ—भाग १: म पनि डेटिङ गरूँ कि?

यस लेखमा यी विषयहरूबारे चर्चा गरिनेछ:

 डेटिङ भनेको के हो?

 कतिपय मानिसलाई डेटिङ गर्नु भनेको रमाइलोको लागि गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड बनाउनु जस्तो मात्र लाग्छ। तर वास्तवमा डेटिङ गर्नुको खास उद्देश्‍य हुन्छ। डेटिङको समय भनेको कुनै व्यक्‍ति आफ्नो विवाहित जोडी हुन उपयुक्‍त छ कि छैन भनेर विचार गर्ने समय हो। त्यसैले डेटिङलाई विपरीत लिङ्‌गको व्यक्‍तिबाट चासो पाउनको लागि गरिने रमाइलो कुरा मात्र ठान्‍नु हुँदैन।

 डेटिङ गरेको केही समयपछि तपाईँले एउटा निर्णय गर्नुपर्ने हुन्छ। त्यो हो, विवाह गर्ने या तपाईँहरूबीचको रोमान्टिक सम्बन्ध अन्त्य गर्ने। डेटिङ सुरु गर्दा नै यीमध्ये जुनसुकै निर्णय लिन तपाईँले आफूलाई तयार बनाएको हुनुपर्छ।

 निष्कर्ष: यदि तपाईँलाई आफू विवाह गर्न तयार भइसकेँ जस्तो लाग्छ भने मात्र डेटिङ गर्नुपर्छ।

विवाह गर्ने उद्देश्‍यविना डेटिङ गर्नु भनेको जागिर खाने उद्देश्‍यविना अन्तरवार्ता दिन जानुजस्तै हो

 के तपाईँ डेटिङ गर्न तयार हुनुहुन्छ?

 साधारणतया डेटिङ गरिरहेका जोडीले विवाह पनि गर्छन्‌। त्यसैले वैवाहिक सम्बन्ध राम्ररी निभाउन आवश्‍यक गुणहरू आफूमा छन्‌ कि छैनन्‌ भनेर विचार गर्नुहोस्‌। उदाहरणको लागि:

  •   परिवारसित तपाईँको सम्बन्ध कस्तो छ? तपाईँ आफ्नो आमाबुबा, दाजुभाइ वा दिदीबहिनीसित कस्तो व्यवहार गर्नुहुन्छ? खासगरि तनावमा हुँदा? तपाईँ उहाँहरूसित जस्तो व्यवहार गर्नुहुन्छ, पछि आफ्नो जोडीसित पनि त्यस्तै व्यवहार गर्ने सम्भावना धेरै हुन्छ।

     बाइबलको सिद्धान्त: “हरकिसिमको कटुता, रिस, क्रोध, चिच्याउने बानी र दुर्वचनका साथै हानि गर्ने सबै कुरा त्याग।”—एफिसी ४:३१.

     आफैलाई सोध्नुहोस्‌: ‘के मेरा आमाबुबा, दाजुभाइ वा दिदीबहिनीलाई मैले गर्ने व्यवहार आदरपूर्ण छ जस्तो लाग्छ? उहाँहरूमध्ये कसैसित खटपट पर्दा के म शान्त भएर कुरा गर्छु या रिसाउने गर्छु?’

    यदि आमाबुबासित राम्ररी समस्या सुल्झाउन सक्नुहुन्‍न भने के आफ्नो जोडीसित त्यसो गर्न सक्नुहुनेछ?

  •   के तपाईँ आत्मत्यागी हुनुहुन्छ? विवाह गरेपछि तपाईँले आफ्नो जोडीको कुरामा ध्यान दिनुपर्ने र आफ्नो भन्दा तिनको इच्छालाई प्राथमिकता दिनुपर्ने हुन्छ।

     बाइबलको सिद्धान्त: “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।”—१ कोरिन्थी १०:२४.

     आफैलाई सोध्नुहोस्‌: ‘के म सबै कुरा आफ्नै इच्छाअनुसार मात्र भएको चाहन्छु? के अरूले मलाई व्यावहारिक व्यक्‍ति ठान्छन्‌? मैले आफ्नो भन्दा अरूको आवश्‍यकतालाई ध्यान दिएको के-कस्तो तरिकामा देखाएको छु?’

  •   के तपाईँ नम्र हुनुहुन्छ? एक असल जीवनसाथीले आफ्नो गल्ती स्विकार्छ र माफी माग्छ।

     बाइबलको सिद्धान्त: “हामी सबै जना धेरै चोटि गल्ती गर्छौँ।”—याकुब ३:२, फुटनोट।

     आफैलाई सोध्नुहोस्‌: के म आफ्नो गल्ती स्विकारिहाल्छु वा बहाना बनाउँछु? कसैले कुनै सल्लाह दिँदा के म चित्त दुखाइहाल्ने गर्छु?

  •   के तपाईँ खर्चालु हुनुहुन्छ? अक्सर पैसाको कारण पति-पत्नीबीच झगडा हुने गर्छ। यदि तपाईँ सुझबुझ चलाउँदै पैसा खर्च गर्ने गर्नुहुन्छ भने त्यस्तो झगडा कम हुनेछ।

     बाइबलको सिद्धान्त: “तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि त्यो बनाइसिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन?”—लुका १४:२८.

     आफैलाई सोध्नुहोस्‌: ‘के म अचाक्ली खर्च गर्नदेखि आफैलाई रोक्न सक्छु वा बारम्बार ऋण लिने गर्छु? मैले सही तरिकामा पैसाको प्रयोग गरेको कसरी देखाएको छु?’

  •   तपाईँको आध्यात्मिक स्वास्थ्य कस्तो छ? यदि तपाईँ एक जना यहोवाको साक्षी हुनुहुन्छ भने तपाईँले नियमित बाइबल अध्ययन गर्ने र सभाहरूमा उपस्थित हुने राम्रो बानी बसालेको हुनुपर्छ।

     बाइबलको सिद्धान्त: “आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌।”—मत्ति ५:३.

     आफैलाई सोध्नुहोस्‌: ‘के म आध्यात्मिक रूपमा बलियो हुन मेहनत गर्छु? के म आध्यात्मिक कुरालाई पहिलो स्थानमा राख्छु वा अरू कुराहरूमा अलमलिएर बस्छु?’

 निष्कर्ष: सबै जना आफ्नो जीवनसाथी असल नै भएको चाहन्छन्‌। त्यसैले आफूमा राम्रा गुणहरू विकास गर्ने प्रयास गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँले पनि त्यस्तै प्रयास गरिरहेको कोही व्यक्‍ति भेट्‌न सक्नुहुनेछ।