सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

सेक्सटिङबारे मैले के कुरा थाह पाउनुपर्छ?

सेक्सटिङबारे मैले के कुरा थाह पाउनुपर्छ?

 सेक्सटिङ के हो?

 “सेक्सटिङ” भनेको मोबाइलमार्फत अश्‍लील सन्देश, फोटो अथवा भिडियो पठाउनु हो। यसबारे एक जना व्यक्‍ति यस्तो टिप्पणी गर्छन्‌: “यो अहिले सामान्य भइसकेको छ। तपाईंले केही सन्देश साटासाट गर्नुहुन्छ अनि केही समय नबित्दै उत्तेजना जगाउने किसिमका फोटोहरू पठाउन वा पाउन थाल्नुहुन्छ।”

 मानिसहरू किन त्यसो गर्छन्‌? केही किशोरकिशोरीले “साथीको अश्‍लील फोटो आफ्नो मोबाइलमा हुनुलाई आफ्नो यौन सक्रियताको विज्ञापनको रूपमा हेर्छन्‌,” द न्यु योर्क टाइम्स-मा एक जना उच्च ओहदाको सरकारी वकिलले भने। एक जना किशोरीले यसलाई एक प्रकारको “सुरक्षित यौनसम्बन्ध” हो भन्छिन्‌। उनी अझ यसो भन्छिन्‌, “गर्भवती हुने अनि यौनजन्य रोगहरू सर्ने खतरा पनि हुँदैन।”

 किशोरकिशोरीहरूले सेक्सटिङ गर्नुका अन्य कारणहरू यी हुन्‌:

  •   आफूले मन पराएको व्यक्‍तिलाई आफूतिर आकर्षित गर्न।

  •   कसैले तिनीहरूलाई अश्‍लील फोटो पठाएकोले तिनीहरूले पनि त्यस्तै गर्नुपर्ने बाध्यता महसुस गरेको हुनाले।

 सेक्सटिङको परिणाम कस्तो हुन्छ?

 मोबाइलमार्फत एक चोटि फोटो पठाएपछि त्यसमा तपाईंको कुनै अधिकार हुँदैन अनि त्यो कसरी प्रयोग गरिन्छ भन्‍ने कुरा पनि तपाईंको हातमा हुँदैन। त्यसले गर्दा तपाईंको बदनाम पनि हुन सक्छ। उच्च ओहदाको अनुसन्धान विशेषज्ञ र प्यु रिसर्च सेन्टरकी अमान्डा लेनहार्ट सेक्सटिङबारे यस्तो रिपोर्ट गर्छिन्‌, “गल्ती र अपराध सजिलै फैलाउन अनि त्यसलाई सङ्‌गालेर राख्न अहिले जस्तो सजिलो पहिला कहिल्यै भएको थिएन।”

 कुनै-कुनै अवस्थामा

  •    कसै-कसैले आफूलाई पठाइएका अश्‍लील फोटोहरू साथीहरूसित रमाइलो गर्न उनीहरूलाई पठाउँछन्‌।

  •    सम्बन्ध टुटिसकेको केटा साथीले बदला लिन त्यस्ता फोटोहरू अरूलाई पठाइदिन्छन्‌।

 के तपाईंलाई थाह थियो? प्रायजसो अवस्थामा अश्‍लील फोटो सेक्सटिङ गर्नुलाई बाल यौनशोषण गर्नु अथवा बाल अश्‍लीलतामा मुछिनुसरह ठानिन्छ। अश्‍लील फोटोहरू पठाउने नाबालिगमाथि यौन अपराधीको अभियोग लगाइएको छ।

 बाइबल के भन्छ?

 बाइबलले वैवाहिक बन्धनमा बाँधिएका पति-पत्नीबीच यौनसम्बन्धको आनन्द उठाउने कुरामा कुनै रोक लगाएको छैन। (हितोपदेश ५:१८) तर अविवाहित व्यक्‍तिहरूबीचको यौन क्रियाकलापलाई यसले कुनै समर्थन गर्दैन। निम्न शास्त्रपदहरू विचार गर्नुहोस्‌:

  •   “तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्‌; निर्लज्ज आचरण, मूर्खताले भरिएको कुराकानी, अश्‍लील ठट्टा पनि तिमीहरूमाझ नहोस्‌।”—एफिसी ५:३, ४.

  •   “पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध, अशुद्धपन, कामवासना, खराब इच्छा अनि लालच।”—कलस्सी ३:५.

 यी पदहरूमा “अवैध यौनसम्बन्ध”-बाट (पति वा पत्नीबाहेक अरूसित राखिने यौनसम्बन्ध) मात्र अलग हुन होइन तर “अशुद्धपन” (यस शब्दले सबै किसिमको नैतिक अशुद्धपनाको क्षेत्रलाई ढाक्छ) र “कामवासना”-बाट (यो सामान्य रोमान्टिक भावना मात्र होइन, जुन वैवाहिक जीवनभित्र सन्तुष्ट पार्न सकिन्छ तर यसले छाडा आचरणमा संलग्न हुने हदसम्म पुऱ्‍याउने अभिलाषालाई बुझाउँछ) पनि टाढै बस्न चेतावनी दिइएको छ।

 आफैलाई सोध्नुहोस्‌:

  •   अश्‍लील फोटो सेक्सटिङ गर्नु किन “अशुद्धपन” हो?

  •   यसले कसरी अनुचित “कामवासना”-लाई बढवा दिन्छ?

  •   अश्‍लील फोटो हेर्नु वा पठाउनु किन “खराब” चाहना हो?

 निम्न शास्त्रपदहरूमा सेक्सटिङबाट टाढै बस्नुपर्ने जोडदार कारणहरू पाइन्छ:

  •   “आफूलाई परमेश्‍वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्‍नु नपर्ने कामदार . . . साबित गर्न तिमीले भरसक कोसिस गर।”—२ तिमोथी २:१५.

  •    “तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच! तिमीहरू पवित्र आचरण भएका र परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू गर्ने मानिस हुनुपर्छ।”—२ पत्रुस ३:११.

 यी पदहरूमा नैतिक रूपमा स्वच्छ रहँदा हासिल हुने असल परिणामबारे बताइएको छ। तपाईंको आचरण प्रशंसनीय छ भने आफूले गरेको काममा पछुतो मान्‍नुपर्ला भनेर तपाईंले चिन्ता गर्नुपर्ने छैन।—गलाती ६:७.

 आफैलाई सोध्नुहोस्‌:

  •    म कस्तो व्यक्‍ति हुँ?

  •    के म अरूको इज्जतको ख्याल राख्छु?

  •    के मैले गर्ने मनोरञ्जनले अरूलाई चोट पुऱ्‍याउँछ?

  •    सेक्सिटङले कसरी मेरो इज्जतमा आँच पुऱ्‍याउँछ?

  •    सेक्सटिङले गर्दा ममाथिको आमाबुबाको भरोसा कसरी गुम्न सक्छ?

 सत्य कथा: “मेरो एक जना साथीले ब्वाइफ्रेन्ड बनाएको कुरा कसैलाई बताएकी थिइन। एक पटक उसले आफ्नो नाङ्‌गो फोटो ब्वाइफ्रेन्डलाई पठाई अनि उसको ब्वाइफ्रेन्डले पनि उसलाई त्यस्तै फोटो पठायो। उसले फोटो पठाएको ४८ घण्टा पनि बितेको थिएन, बुबाले उसको फोन हेर्ने विचार गर्नुभयो। उहाँले त्यो मेसेज देख्नुभयो र तीनछक पर्नुभयो। उहाँ असाध्यै दुःखी हुनुभयो। त्यसपछि उसलाई त्यसबारे सोध्दा उसले सबै कुरा बताइदिई। आफूले गरेको काममा उसलाई पछुतो त थियो तर उसको आमाबुबालाई भने ठूलो झट्‌का लागेको थियो। उहाँहरूको साह्रै चित्त दुख्यो। यस घटनाले उहाँहरूलाई ऊमाथि फेरि भरोसा गर्न निकै गाह्रो बनायो।”

 तथ्य: सेक्सटिङले मेसेज पठाउने र हेर्ने दुवैलाई लाजमा पार्छ। केटा साथीको दबाबमा परेर सेक्सटिङ गरेकी एउटी किशोरी यसो भन्छिन्‌: “मैले यस्तो काम गरें भनेर सोच्दा पनि आफैदेखि घृणा जागेर आउँछ, आफैदेखि दिक्क लाग्छ।”

 नैतिक मूल्यमान्यता र सम्भावित कानुनी समस्यालाई विचार गर्दा तपाईंले बाइबलका यी निर्देशनहरू पालन गर्नु बेस हुनेछ:

  •   “युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग।”—२ तिमोथी २:२२.

  •   “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।”—भजन ११९:३७.

 तपाईं के गर्नुहुने थियो?

 बाइबलका सिद्धान्तहरू आफ्नो जीवनमा लागू गर्नुहोस्‌। ज्यानेटले भनेको कुरा पढ्‌नुहोस्‌। त्यसपछि सबैभन्दा राम्रो विकल्प कुन हो, रोज्नुहोस्‌।

 “एक पटक मेरो भेट एउटा केटासित भयो। अनि हामीले एकअर्काको फोन नम्बर लियौं। एक हप्ता नबित्दै उसले मलाई स्विमिङ कस्ट्युम लगाएको फोटो पठाउन भन्यो।”—ज्यानेट।

 तपाईंको विचारमा ज्यानेटले के गर्नुपर्थ्यो? तपाईं के गर्नुहुने थियो?

  •  पहिलो विकल्प तपाईं यस्तो तर्क गर्नुहुन्छ: ‘यसो गर्दा केही फरक पर्दैन। हामी स्विमिङ गर्न गएको भए उसले मलाई स्विमिङ कस्ट्युममा देखिहाल्थ्यो क्यारे।’

  •  दोस्रो विकल्प तपाईं यस्तो तर्क गर्नुहुन्छ: ‘उसले किन त्यसो भनेको मलाई थाह छैन। पहिला अलि खुलेको लुगा लगाएर खिचेको फोटो पठाउँछु अनि हेरौं, के हुँदो रहेछ।’

  •  तेस्रो विकल्प तपाईं यस्तो तर्क गर्नुहुन्छ: ‘यो केटाको नियत ठीक छैन। उसको मेसेज डिलिट गरिदिन्छु।’

 तेस्रो विकल्प सबैभन्दा राम्रो विकल्प हो, होइन र? बाइबलले पनि यसो भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २२:३.

 यस अभ्यासले सेक्टिङ्‌ र अन्य अनुचित काम गर्ने हदसम्म पुऱ्‍याउने मूल कारण के हो भनेर बुझ्न मदत गर्छ। के तपाईं सोचविचार गरेर मात्र साथी रोज्नुहुन्छ? (हितोपदेश १३:२०) सारा नामकी एउटी युवती यसो भन्छिन्‌: “अनुचित व्यवहार गरेको नसहने साथीहरूसित सङ्‌गत गर्नुहोस्‌।” डेलिया नाम गरेकी अर्की युवती यस कुरामा सहमत छिन्‌। तिनी भन्छिन्‌: “कुनै-कुनै ‘साथीहरू’ तपाईंलाई नैतिकवान्‌ हुन होइन तर तपाईंलाई आफ्नो नैतिकतामा सम्झौता गर्न लगाउँछन्‌। यदि तिनीहरूको आचरण परमेश्‍वरको नियमसित मेल खाँदैन भने तिनीहरूले तपाईंलाई गलत काम गर्ने दबाब पक्कै दिन्छन्‌। के तपाईं त्यसो भएको चाहनुहुन्छ?”