सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म कसरी नकारात्मक सोचाइ हटाउन सक्छु?

म कसरी नकारात्मक सोचाइ हटाउन सक्छु?

 तपाईँलाई आफू कस्तो व्यक्‍ति हुँ जस्तो लाग्छ?

  •   सकारात्मक

     “म हरेक दिन सकेसम्म खुसी रहने र टेन्सन नलिने प्रयास गर्छु। म बेकारमा किन ठुस्स परेर बस्ने?”—भ्यालरी।

  •   नकारात्मक

     “कुनै राम्रो कुरा भयो भने पनि मेरो दिमागमा अर्कै सोचाइ आउँछ—यो कुरा सत्य हुनै सक्दैन वा कतै गल्ती भयो कि जस्तो लाग्छ।”—रिबेका।

  •   व्यावहारिक

     “सकारात्मक हुनु भनेको पछि निराशा भोग्नु हो, नकारात्मक हुनु भनेको दुःखी जीवन बिताउनु हो। तर व्यावहारिक हुँदा म परिस्थितिअनुसार कदम चाल्न तयार हुन्छु।”—आना।

 यो कुरा बुझ्नु किन महत्त्वपूर्ण छ?

 बाइबल यसो भन्छ: “हृदयमा आनन्द हुनेहरूको लागि हरेक दिन भोजजस्तै हुन्छ।” (हितोपदेश १५:१५) स्पष्ट छ, अचाक्ली नकारात्मक सोचाइ राख्नुको साटो सकारात्मक सोचाइ राख्ने मानिसहरू खुसी हुन्छन्‌। अनि तिनीहरूले धेरै साथी पनि बनाउन सक्छन्‌। जहिले ठुस्स परिरहने मान्छेसित कसलाई बस्न मन पर्छ र?

 एकदम सकारात्मक व्यक्‍तिले पनि जीवनमा थुप्रै कुरा सामना गर्नुपर्ने हुन्छ। जस्तै:

  •   युद्ध, आतङ्‌क वा हिंसाको खबर दिनदिनै सुन्‍नुपर्ने हुन सक्छ।

  •   पारिवारिक समस्याहरू भोग्नुपर्ने हुन सक्छ।

  •   आफ्नै कमीकमजोरीविरुद्ध सङ्‌घर्ष गर्नुपर्ने हुन सक्छ।

  •   साथीले तपाईँको चित्त दुखाउन सक्छ।

 त्यसैले जीवनमा आइपर्ने यस्तै किसिमका परिस्थितिहरूलाई बेवास्ता गर्नु वा त्यसैको चिन्तामा डुबिरहनुको साटो सन्तुलित दृष्टिकोण राख्ने कोसिस गर्नुहोस्‌। व्यावहारिक हुन सिक्दा तपाईँ अचाक्ली नकारात्मक सोचाइ र निराशामा डुब्नुहुनेछैन अनि जीवनमा आइपर्ने समस्याहरूसित जुझ्दै अघि बढ्‌न सक्नुहुनेछ।

पानी परेपछि आकाश खुल्ला भएझैँ तपाईँ पनि जीवनका आँधीबेहरीरूपी समस्याहरूसँग जुझ्न सक्नुहुन्छ

 तपाईँ के गर्न सक्नुहुन्छ?

  •   आफ्ना गल्तीहरूप्रति उचित दृष्टिकोण राख्नुहोस्‌।

     बाइबल यसो भन्छ: “वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।” (उपदेशक ७:२०, पढ्‌न सजिलो संस्करण, ERV) तपाईँका कमीकमजोरी र गल्तीहरूले तपाईँ पनि अरूजस्तै मान्छे नै हो, बेकामको हुनुहुन्‍न भनेर देखाउँछ।

     व्यावहारिक कसरी हुन सकिन्छ? आफूबाट कहिल्यै गल्ती हुँदैन भनेर नसोच्नुहोस्‌ तर आफ्ना कमीकमजोरी सुधार्ने प्रयासचाहिँ गर्नुहोस्‌। कालेब नाम गरेका युवा भन्छन्‌, “म आफ्नो गल्तीमा मात्रै घोरिएर बस्दिनँ। बरु त्यसबाट पाठ सिकेर अघि बढ्‌ने कोसिस गर्छु।”

  •   तुलना नगर्नुहोस्‌।

     बाइबल यसो भन्छ: “हामी फोस्रो घमन्ड नगरौँ, प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ अनि एकअर्काको ईर्ष्या नगरौँ।” (गलाती ५:२६) आफूलाई नबोलाइएको जमघटका फोटोहरू सामाजिक सञ्जालमा देख्दा तपाईँलाई एकदमै रिस उठ्‌न सक्छ। अनि आफ्नै मिल्ने साथी पनि सबैभन्दा ठूलो दुस्मनजस्तो लाग्न सक्छ।

     व्यावहारिक कसरी हुन सकिन्छ? तपाईँले सबै जमघटमा निम्तो पाउनुहुन्छ भनेर नसोच्नुहोस्‌। अनि सामाजिक सञ्जालमा पोस्ट गरिएका फोटोहरू हेर्दा मानिसहरूको सबै कुरा थाह पाउन सकिँदैन। एलेक्सिस नाम गरेका किशोर भन्छन्‌: “सामाजिक सञ्जालमा मानिसहरूले अक्सर जीवनका रमाइला क्षणका फोटोहरू मात्र राख्छन्‌, सामान्य दिनचर्याका कुराहरू भने राख्दैनन्‌।”

  •   शान्ति कायम गर्ने व्यक्‍ति बन्‍नुहोस्‌—विशेषगरि परिवारमा।

     बाइबल यसो भन्छ: “सम्भव भएसम्म शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर।” (रोमी १२:१८) अरूले कस्तो व्यवहार देखाउँछ, त्यो तपाईँको वशमा छैन। तर आफूले देखाउने प्रतिक्रियालाई भने काबूमा राख्न सक्नुहुन्छ। तपाईँ शान्ति कायम गर्ने व्यक्‍ति बन्‍ने कि नबन्‍ने, त्यो तपाईँकै हातमा छ।

     व्यावहारिक कसरी हुन सकिन्छ? अरूसित शान्तिपूर्वक बस्न कोसिस गरेजस्तै परिवारमा पनि शान्तिमय वातावरण बनाउने प्रयास गर्नुहोस्‌, समस्यामाथि समस्या थप्ने काम नगर्नुहोस्‌। मेलिन्डा नाम गरेकी किशोरी भन्छिन्‌: “गल्ती नै नगर्ने को छ र? सँगै सुतेपछि गोडा त लागि हाल्छ नि! त्यसैले शान्ति कायम गर्ने व्यक्‍ति बन्‍ने कि नबन्‍ने, त्यो छनौट आफ्नै हो।”

  •   कृतज्ञ हुन सिक्नुहोस्‌।

     बाइबल यसो भन्छ: “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।” (कलस्सी ३:१५) कृतज्ञ हुन सिक्नुभयो भने आफ्नो जीवनमा भइरहेका नराम्रा कुराहरूमा भन्दा राम्रा कुराहरूमा ध्यान दिन सक्नुहुन्छ।

     व्यावहारिक कसरी हुन सकिन्छ? तपाईँले समस्याहरूको सामना गर्दै हुनुहुन्छ भनेर मानिलिनुहोस्‌ तर आफ्नो जीवनमा भइरहेका राम्रा कुराहरूलाई पनि नबिर्सनुहोस्‌। रिबेका नाम गरेकी युवती यसो भन्छिन्‌: “म हरेक दिन डायरीमा एउटा सकारात्मक कुरा लेख्ने गर्छु किनभने समस्याहरू आए पनि मेरो जीवनमा धेरै सकारात्मक कुराहरू छन्‌ भनेर आफैलाई सम्झाइरहन चाहन्छु।”

  •   आफ्नो साथीसङ्‌गत केलाउनुहोस्‌।

     बाइबल यसो भन्छ: “नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।” (१ कोरिन्थी १५:३३) अरूको आलोचना गर्ने, व्यङ्‌ग्य हान्‍ने वा रुखो बोल्ने बानी भएका साथीहरूसँग धेरै सङ्‌गत गर्नुभयो भने तिनीहरूका नराम्रा गुणहरू तपाईँमा पनि सर्नेछन्‌।

     व्यावहारिक कसरी हुन सकिन्छ? कहिलेकाहीँ साथीहरूले गाह्रो अवस्था सामना गर्नुपरेकोले तिनीहरू केही समयको लागि नकारात्मक हुन सक्छन्‌। त्यतिबेला तिनीहरूको दु:खमा साथ दिनुहोस्‌ तर तिनीहरूकै समस्यामा चुर्लुम्म नडुब्नुहोस्‌। मिशेल नाम गरेकी युवती यसो भन्छिन्‌: “नकारात्मक सोच राख्ने मान्छेहरूलाई मात्र साथी बनाउनु हुँदैन। भनिन्छ, हिसाबमा माइनस-माइनस जोड्यो भने झनै माइनस हुन्छ।”

 यसबारे अझै पढ्‌नुहोस्‌

 बाइबलले भनेअनुसार हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ। (२ तिमोथि ३:१) यति धेरै नराम्रा कुराहरू भइरहेको संसारमा सकारात्मक सोचाइ राख्न तपाईँलाई गाह्रो भइरहेको छ कि? त्यसो हो भने “किन यति धेरै दु:ख अनि पीडा?”भन्‍ने लेख पढ्‌नुहोस्‌।